
शनिवार , बैशाख २९, २०८१
भैरहवा, २९ वैशाख ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का नेता तथा कार्यकर्ताहरुले रुपन्देहीमा पार्टीलाई अझ मजबुत बनाउने बताएका छन् । उनीहरुले रुपन्देहीमा पार्टी विभाजनको कुनै असर नपरेको र केन्द्रदेखि स्थानीय तहसम्म नेता–कार्यकर्ताहरु उपेन्द्र यादव नेतृत्वकै जसपा नेपालमा रहेको दावी गरेका छन् । जसपा नेपाल रुपन्देही तथा पार्टी अन्तर्गत भातृ संगठनहरुको शनिबार भैरहवामा भएको संयुक्त बैठकमा नेता तथा कार्यकर्ताहरुले यस्तो बताएका हुन् ।
बैठकले सम्पूर्ण पार्टी पंक्ति एकढिक्का भएर अघि बढ्ने निर्णय गरेको जसपा रुपन्देहीका अध्यक्ष सियाराम यादवले बताए । उनले भने, ‘पार्टी विभाजनको कुनै औचित्य नरहेको र रुपन्देही त्यसको कुनै असर नपरेकोले हामी सबै जसपा नेपाललाई रुपन्देहीमा अझ मजबुत बनाउने गरी अघि बढ्ने निर्णयका साथ अघि बढेका छौं । ’
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जसपा, नेपालका केन्द्रीय सदस्य महेन्द्र यादवले जनताको मन जितेको पार्टी विभिन्न अवरोहका साथ यहाँसम्म आइपुगेकोले अझ एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
जसपा नेपालका संघीय परिषद् सदस्य तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले उपेन्द्र यादवको नेतृत्वमा रहेको जसपा नैपालमै आफूहरु एकताबद्ध रहेको बताए ।
पार्टीको लुम्बिनी प्रदेश उपाध्यक्ष राम अवतार यादवले रुपन्देहीमा रहेका जसपा नेपालका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, जिल्ला, क्षेत्र, पालिकालगायत सबै एकताबद्ध भएर अघि बढेको बताए । बैठकमा जसपा केन्द्रीय सदस्य सावित्रा विश्वकर्मा, रुपन्देही जिल्ला उपाध्यक्ष कलामुद्दीन खान, सचिव विष्णु अधिकारीलगायतले भनाइ राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij