२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दाबढी विकास भएको छ : प्रधानमन्त्री प्रचण्ड

सोमवार , बैशाख ३१, २०८१

काठमाडौं, ३१ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दा कयौँ गुणाबढी विकास भएको बताएका छन् ।

सोमबार चितवनको नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले तुलनात्मक अध्ययन नै नगरी देशमा केही हुँदैन भन्ने नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको बताए ।  पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालमा सडक सञ्जालको विस्तार चमत्कारिक हिसाबले अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्रीले ९० प्रतिशतभन्दा बढी सडक प्रयोगकर्ताहरू आफ्नो बासस्थानबाट १ घण्टाको पैदल यात्रामा पुग्नसक्ने अवस्था सिर्जना भएको बताए । सडक विभागले नेपाल सरकारको अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजनाका आधारमा सडक पूर्वाधारमा सकारात्मक पहल लिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले चालु आर्थिक वर्षमा मात्र १४९ भन्दा बढी पुलहरू निर्माण गरिसकेको बताए ।

अहिले सडक विभागअन्तर्गत काठमाडौँको ग्वार्कोमा ‘फ्लाइओभर’को निर्माणकार्य भइरहेको र पृथ्वी राजमार्गको मादी, सेती नदी लगायतका नदीहरूमाथि ‘सिग्नेचर’ पुलहरू निर्माण भइरहेका प्रधानमन्त्रीको भनाइ छ । उनले पूर्वपश्चिम राजमार्गको मध्यभागका रहेको भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिका जोड्ने ‘सिग्नेचर ब्रिज’ निर्माण भएपछि राजमार्गको सवारी चाप व्यवस्थित हुने विश्वास व्यक्त गरे ।

त्यस्तै  उपप्रधान तथा भौत्तिक पुर्वाधार तथा यातायात मन्त्री रधुबीर महासेठले नारायणी नदीमा निर्माण हुने सिगनेचर पुलको निर्माण अबधी ४ बर्षको भए पनि २०८४ को निर्वाचन अगाबै निर्माण सम्पन्न गर्ने बताए । उनले चितवनमा निर्माण भईरहेको रिङ्ग रोडको लागि पनि बजेट अभाब हुन नदिने बताउनु हुदै असार भित्र नारायणगढ पथलैया सडकको पनि टेण्डरको काम भईरहेको बताए ।

भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहालले नेपाल सरकारको आफ्नै बजेट वाट सिगनेचर पुलको निर्माण गर्नु सामान्य कुरा नभएको बताउँदै प्रधानमन्त्री र मन्त्रीलाई धन्यबाद दिइन् । उक्त अबसरमा भौत्तिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचीब गोपाल प्रसाद सिग्देलले पुर्व पश्चिम राजमार्गलाई जोड्न मेरुदण्डको रुपमा रहेको पुल ४८ महिनामा सपन्न गर्ने लक्ष्य रहेको बताउनु हुदै १ अरब ६८ करोडको लागतमा पुल निर्माण हुने जानकारी दिइन् ।