२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सरकारले आगामी दशकलाई सूचना प्रविधि दशकको रुपमा अगाडि बढाउने

मंगलवार , जेठ १, २०८१

काठमाडौं, १ जेठ । सरकारले आगामी दशकलाई सूचना प्रविधि दशकको रुपमा अगाडि बढाउने भएको छ ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेललेसूचना प्रविधिलाई डिजिटल रूपान्तरणको आधारका रूपमा लिई सामाजिक–आर्थिक रूपान्तरण एवम् समृद्धि हासिल गर्न आगामी दशकलाई ‘सूचना प्रविधि दशक’को रूपमा अगाडि बढाउने बताए । उनले सूचना प्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रको रूपमा विकास गर्न प्रोत्साहन गरी नेपाललाई ग्लोबल सूचना प्रविधि हबका रूपमा विकास गरिने उल्लेख गरे ।

सञ्चार तथा सूचना प्रविधि एवम् प्रणालीको सुरक्षित र प्रभावकारी प्रयोगका लागि कानूनी र संस्थागत व्यवस्था गरिने तथा डिजिटल नेपाल ‘फ्रेमवर्क’लाई परिमार्जन गर्ने सरकारको कार्यक्रममा उल्लेख छ । सबै स्थानीय तहका केन्द्र तथा वडा केन्द्रसम्म द्रूतगतिको इन्टरनेट सेवा उपलब्ध गराउन उच्च क्षमताको अप्टिकल फाइबर बिस्तार गर्ने कार्यलाई तीव्रता दिइने तथा दुर्गम र विकट क्षेत्रमा भू–उपग्रहमा आधारित इन्टरनेट सेवाको प्रारम्भ गरिने राष्ट्रपति पौडेलले बताए । उनले नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने कार्य अघि बढाउने तथा डाटा सेन्टरको निर्माण र सञ्चालनसम्बन्धी मापदण्ड तयार गरिने धारणा राखे ।

त्यस्तै सरकारले नेपाललाई प्राथमिक र आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने जनाएको छ । पर्यटकीय गन्तव्यको प्रोफाइल तयार गरी ती गन्तव्यकोे पहिचान, विकास र प्रवर्द्धन गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । मुलुकको पर्यटन क्षेत्रको प्रभावकारी प्रवर्द्धनका लागि पर्यटन क्षेत्रका कार्यक्रमको पुनःबजारीकरण गरिनुका साथै पर्यटकीय पूर्वाधारलाई प्राथमिकता दिने राष्ट्रपति पौडेलले बताए ।

त्यस्तै नीति तथा कार्यक्रममार्फत मुलुकको हवाई नीति र कानूनमा समय सामयिक सुधार गर्ने भएको सरकारले जनाएको छ । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि विशेष प्रोत्साहन प्याकेजको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।