२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुन्छ : राष्ट्रपति पौडेल

शुक्रवार , जेठ ४, २०८१

काठमाडौं, ४ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताएका छन् ।

शुक्रबार काठमाडौंमा अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले देशमा सुशासन कायम हुनुपर्ने भन्दै यसका लागि न्यायिक प्रणालीको भूमिका महत्वपूर्ण हुने बताए ।  संवैधानिक व्यवस्थाले विधिको शासन, लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथकीकरण, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्य तथा मौलिक अधिकारप्रति विशेष चनाखो र सचेत हुन निर्देश गर्ने उनले बताए । न्यायपालिकाप्रतिको जनआस्था र विश्वास नै यसको जीवन भएको भन्दै उहाले न्यायपालिकालाई आधुनिक र प्रविधिमैत्री बनाई चुस्त बनाउने कुरामा ध्यान दिइनुपर्ने धारणा राखे । उनले लोकतान्त्रिक प्रणालीभित्र नै न्यायपालिका सक्षम हुने जिकिर गरे ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ सक्षम बनाउनका निम्ति सरकार प्रतिबद्ध रहेको बताए ।  प्रधानमन्त्री प्रचण्डले न्यायपालिकाको पुनः संरचना, संविधानको कार्यान्वयनमा सरकार क्रियाशील रहँदै आएको स्पष्ट पारे । लोतकन्त्र र कानुनको शासन सभ्य समाजको पहिचान भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले न्यायपालिकाले कानुनी  शासनको रक्षा गर्नैपर्ने धारणा राखे ।

त्यस्तै प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले विधिको शासनको अभावमा लोकतन्त्र सुदृढ हुन नसक्ने भन्दै समृद्धिको आधार समेत रहेको विधिको शासन कायम गर्नुपर्नेमा जोड दिए । न्यायमा सहज पहुँचको अवस्थाले समग्र न्यायप्रणालीप्रतिको दृष्टिकोण कायम गर्ने भएको सहज रुपमा न्याय पाउने अधिकारलाई स्थापीत गर्नुपर्ने उनले बताए ।

जेठ ६ गतेसम्म चल्ने सम्मेलनमा देशभरबाट करिब सात हजार कानुन व्यवसायीको सहभागी भएका छन् । कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता सर्वज्ञरत्न तुलाधरलाई अभिनन्दन गरिएको थियो ।