२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

चलचित्र पत्रकार संघको स्थापना दिवस : रुपन्देहीमा दुई पत्रकार सम्मानित

सोमवार , जेठ ७, २०८१

बुटवल, ७ जेठ । 
चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले शाखाले संघको २५ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा रुपन्देहीले शाखाले सोमबार तिलोत्तमामा एक कार्यक्रमकाबीच चलचित्र क्षेत्र तथा रंगकर्मीका क्षेत्रमा कलम चलाउने दुई जना पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । 

संघले नवोदित चलचित्र पत्रकारिता पुरस्कारबाट पत्रकार ईन्द्र खत्रीलाई नगदसहित सम्मान गरेको छ भने एन.बी. कंडेल स्मृति चलचित्र पत्रकारिता पुरस्कारबाट स्वर्गीय कृष्णबाबु पाण्डेलाई मरणोपर्यन्त सम्मानसहित पुरस्कारप्रदान गरेको छ । 

उक्त पुरस्कार तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, संघका अध्यक्ष मोहन न्यौपाने, संस्थापक अध्यक्ष सुमन श्रेष्ठ लगायतले संयुक्त रुपमा प्रदान गरे । नवोदित चलचित्र पत्रकारिता पुरस्कार पत्रकार राशी ५ हजार रुपैयाँ र एन.बी. कंडेल स्मृति चलचित्र पत्रकारिता पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ । 

संघका संस्थापक अध्यक्ष सुमन श्रेष्ठको संयोजकत्वमा डि.बी. सुस्लिङ र सन्त कुमार श्रेष्ठ सदस्य रहने गरी गठित समितिले गरेको सिफारिसका आधारमा सम्मान प्रदान गरिएको हो । 

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले पत्रकारले गर्ने रचनात्मक आलोचनाले रुपान्तरणमा योगदान गर्ने विश्वास व्यक्त गर्दै सहकार्यका लागि सकारात्मक भूमिका निर्वाह गर्ने बताए । 

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले विधागत रुपमा क्षमता विकास गर्न विधागत रुपमा स्थापना गरिएका संघ–संस्थाहरुको भूमिका महत्वपूर्ण हुने बताए । 

त्यसै गरी पत्रकार दिनेश पाण्डेले संस्थालाई आर्थिक रुपमा समेत बलियो बनाएर श्रटा सम्मानलाई निरन्तरता दिन आग्रह गरे । संस्थाको आर्थिक क्षमता बढाउनका लागि आफूले समेत सक्दो सहयोगको प्रतिवद्धता गर्दै उनले सहकार्य गर्न तयार रहेको उल्लेख गरे । संघका अध्यक्ष मोहन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष तथा सल्लाहकार सुमन श्रेष्ठ, सल्लाहकार मनिष पन्थ, प्रेस सेन्टर नेपालकी केन्द्रीय सदस्य सरु राना, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, समाजवादी प्रेस संगठन रुपन्देहीका अध्यक्ष विनोद परियार लगायतले शुभकामना व्यक्त गरेका थिए । 

संघका महासचिव विकास गौतमको सञ्चालनमा आयोजित कार्यक्रममा बोल्दै स्वर्गीय पत्रकार एन.बी. कंडेलकी धर्मपत्नी मनु कंडेलले सधैभरी स्मरणमा राख्नका लागि चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीले पुरस्कार स्थापना गरेकोप्रति धन्यवाद ज्ञापन गरिन् । स्वर्गीय पत्रकार कंडेलले व्यवसायिक जीवनमा निडर र निष्पक्ष भएर कलम चलाउने गरेको स्मरण गरिन् ।

438083214_523498033589223_8250693177616509979_n.jpg