२०८३, आश्विन ११ गते

Sep 27 2026 | २०८३, आश्विन ११ गते

रविको काँधमा बन्दुक राखेर ओली र प्रचण्डले पड्काएका हुन् : नेता सिवाकोटी

बुधवार , जेठ ९, २०८१

  • 979
    Shares
  • 979
    Shares
  • काठमाडौं, ९ जेठ ।
    नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले गृहमन्त्री रवि लामिछाने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डको गोटी बनेको आरोप लगाएका छन् । बुढा नेतालाई विस्थापित गर्छु भन्दै राजनीतिमा आएका लामिछानेले उनै पुराना तथा बुढा नेताको इसारामा आफैलाई खाडलमा हाल्ने काम गरिरहेको नेता सिवाकोटीको तर्क छ । 

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उनले ओली र प्रचण्डले रविको काँधमा बन्दुक राखेर पड्काएको टिप्पणी गरे ।
    नेपाल प्रेस युनियनका पूर्व महासचिव समेत रहेका नेता सिवाकोटीले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई मिडिया हाउसबाटै पक्राउ गरेर प्रचण्ड सरकारले ज्ञानेन्द्र सरकार भन्दा कडा सर्वसत्तावादी चरित्र देखाएको आरोप लगाए ।

    उनले भने, ‘ज्ञानेन्द्रको दोस्रो वुख्याचाको रुपमा प्रचण्ड देखिएका छन्, उनैको इशारामा लामिछाने नाचिरहेका छन्, अरुप्रति प्रतिशोध साँधिरहेका छन् । अपराधीलाई कारवाही गर्ने कुरामा दुईमत भएन, तर आफै अपराधै अपराधको नायकले अरुलाई कारवाही गर्दा पूर्वाग्रह देखियो ।” 

    ‘नागरिकता प्रकरणले सिरोहियालाई समातिएको हो भने लामिछानेको नागरिकता काण्ड झन ठूलो छ, सबैभन्दा पहिला लामिछानेलाई नै समात्नुपर्छ, तर त्यो त भइरहेको छैन, त्यसैले यहाँ पुर्वाग्रह र प्रतिशोध प्रष्ट झल्किन्छ,’ नेता सिवाकोटीले भने ।

    नागरिकता काण्ड, पार्सपोर्ट, डाईभर हत्या काण्ड, दुरुत्साहन काण्ड, सहकारी काण्ड लगायतका दर्जनौ काण्ड रहेकाले ढिलो चाँडो गृहमन्त्री लामिछानेको बास पनि जेलमा हुने सिवाकोटीले दावी गरे ।

    ‘समय सधैँ ओली, प्रचण्ड र रविको पक्षमा मात्रै घुम्दैन, दोहोरो नागरिकताको विषय अहिले मुल्तवीमा रोकिएको मात्रै हो, कुनै न कुनै बेला यो अगाडि बढेपछि यिनी जेल जाकिने पक्का छ,” सिवाकोटीले भने । 

    प्रतिपक्षी दल काँग्रेसका नेताको बारेमा प्रश्न उठाउदै गर्दा सत्ता पक्षका नेताहरुको काण्डका बारेमा चाहि एक शब्द नबोल्नुले उनी पूर्वाग्रही छन् भन्ने प्रष्टै देखिएको नेता सिवाकोटीको तर्क छ । 

    लामिछानेलाई टिभीको कार्यालयबाट पक्राउ गरेको बेला पनि आफूहरुले प्रतिवाद गरेको स्मरण गर्दै काँग्रेस केन्द्रीय सदस्य सिवाकोटीले आज आफै मिडियाप्रति आक्रमणकारी बन्नु दुर्भाग्य भएको टिप्पणी गरे ।

    तत्कालीन राजा ज्ञानेन्द्रले दललाई प्रतिबन्ध लगाउँदा पनि सुरुमा धेरैले ठिक मानेका थिए, पछि बुझ्दै गएपछि विरोधमा उत्रिएको चर्चा गर्दै उनले पहिले रविलाई ठीक मानेका व्यक्तिहरुले पनि विस्तारै बुझ्दै गएपछि बेठिक नै रहेछ भन्न थालेको उल्लेख गरे ।