२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अदालतको अनुमति लिएर अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन : रास्वपा

बुधवार , जेठ ९, २०८१

भैरहवा, ९ जेठ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको बताएको छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि रास्वपा सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेले प्रतिसोध साँधेर पक्राउ गरेको आरोप लगाइएपछि महामन्त्री डा.मुकुल ढकालले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

‘सम्मानित धनुषा जिल्ला अदालतको अनुमति लिएर किर्ते नागरिकताको गम्भीर अभियोगबारे अनुसन्धान गर्न प्रहरीले हिजो व्यवसायी कैलाश सिरोहियालाई पक्राउ गरिएको तथ्य हाम्रो जानकारीमा आएको छ । नागरिकको आत्मसम्मान र खुला लोकतान्त्रिक समाजका सम्पूर्ण हकअधिकारको उपयोगमा आँच नपुग्ने गरी विधिको शासन अनुरूप कदम चाल्न नेपाल सरकार सक्षम छ भन्नेमा हामी विश्वस्त छौं, ’विज्ञप्तीमा भनिएको छ ।

जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नैपर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जीत भएको ढकालले बताए । ‘विधिको शासनको अर्को सौन्दर्य हो : ‘‘कानुन भन्दामाथि कोही हुँदैन’’, कोहीकोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता हो । यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ,’ विज्ञप्तीमा उल्लेख छ ।

विगतमा लोकतन्त्र स्थापनाका लागि लडेकाहरूप्रति पार्टीको उच्च सम्मान भए पनि एक समयको योगदानको बहानामा केही व्यक्ति, दल र संस्था भ्रष्टाचार र गैरकानुनी मिलीभगतमा निरन्तर संलग्न भएको पाइएमा पनि कानुनी उन्मुक्ति हुने अनैतिक अपेक्षा आफूहरुलाई अस्वीकार्य रहेको डा. ढकालले बताए ।

‘नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन् । अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन । यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ, विज्ञप्तीमा भनिएको छ,’ विज्ञप्तीमा भनिएको छ ।

WhatsApp Image 2024-05-22 at 1.52.02 PM (1).jpeg