२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

काँग्रेसका नेताहरुमाथि लगाइएको आरोपमा छानविन गर्न महामन्त्री विश्वप्रकाश शर्माको चुनौती

शुक्रवार , जेठ ११, २०८१

  • 886
    Shares
  • 886
    Shares
  • काठमाडौं, ११ जेठ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसका नेताहरुमाथि लगाइएको आरोपमाथि छानविन गर्न चुनौती दिउका छन् ।

    शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गिरिबन्धु टि स्टेटको जग्गामा काँग्रेसले कमिसन खाएको आरोप लगाएको भन्दै सो विषयमा छानविन समिति बनाउन चुनौती दिएका छन् ।

    उनले नेपाली काँग्रेसका नेताहरु छानविनको दायरामा आउन तयार रहेको बताए । उनले गृहमन्त्री रवि लामिछानेले पनि काँग्रेसका नेताहरुमाथि संसदमा बोलेरै आरोप लगाएको भन्दै त्यसमा पनि सबैमाथि छानविन गर्न आफूहरु तयार रहेको बताए ।

    उनले काँग्रेस पार्टी सभापतिदेखि महामन्त्रीसम्म र दाजुदेखि भाउजुसम्म छानविन गर्न तया रहेको भन्दै कसलाई छानविन गर्ने हो भनि प्रश्न समेत गरे । उनले प्रत्येक व्यक्तिमाथि नाम, थर, गोत्र, वजन, ठेगाना सबै लेखेर छानविन गरेपनि आपत्ति नभएको बताए । 

    उनले भने – ‘हामीमाथि आरोप लगाउनुभएको होइन पूर्वप्रधानमन्त्री केपी ओलीले कि कांग्रेसले गिरिबन्धुको जग्गा बेचेर कमिशन खायो । छानविन समिति त्यसमा पनि बनाऔँ न । हामी त्यसमा तयार छौँ ।

    गृहमन्त्रीजीले संसदमा बोल्दै गर्दा काँग्रेसका सांसद, मन्त्री, प्रधानमन्त्रीमाथि आरोप लगाउनुभयो । को–को माथि छानविन गर्नुप¥यो ? सब छानविन गर्न हामी तयार छौँ । कांग्रेसको सभापतिमाथि छानविन गर्ने कि महामन्त्री माथि ? दाजुमाथि छानविन गर्ने हो कि भाउजुमाथि ? ममाथि छानविन गर्ने हो कि माइजुमाथि ? प्रत्येकमाथि छानविन गर्नुस् । नाम लेखेर छानविन गर्नुस् । थर, गोत्र, वजन, ठेगाना लेख्नुस् । माइतिपटी लेख्नुस् ।

    ससुरालीपटि लेख्नुस् । गोलाकार शंख र चक्र के–के छन् त्यो पनि लेख्नुस् । लेखिराखेर छानविन गर्नका लागि हामीलाई कुनै आपत्ति छैन ।’

    महामन्त्री शर्माले वर्तमान सत्तारुढ गठबन्धनलाई सहकारीबन्धु गठबन्धन भएको टिप्पणी गरे । एमालेले रास्वपालाई सहकारी प्रकरणमा साथ दिने र रास्वपाले एमालेलाई गिरिबन्धु प्रकरणमा साथ दिने सहमती साथ यो गठबन्धन अगाडी बढिरहेको उनले बताए । उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रक्राउ गरिएकोप्रति पनि विरोध जनाए ।

    सिरोहियाले नागरिकता प्रकरणको छानविनमा सहयोग गर्न तयार रहेको कुरा सार्वजनिक रुपमा भन्दाभन्दै गिरफ्तार गरिएको भन्दै गृहमन्त्रीमाथि असन्तुष्टि व्यक्त गरेका छन् । 

    उनले भने – ‘अहिले यहाँ के देखियो भने सहकारी प्रकरणमा नेकपा(एमाले) ले साथ दिने । गिरिबन्धु प्रकरणमा रास्वपाले साथ दिने । त्यसैले सहकारीबन्धु गठबन्धनको रुपमा उहाँहरु देखिनु भएको छ ।

    एउटा मिडिया हाउसको प्रमुख कैलाश सिरोहियालाई पक्राउ गर्नुहुन्छ । जबकी उहाँ के भन्दै हुनुहुन्छ सार्वजनिक रुपमा भन्दाखेरी भने म माथि जे खालको नागरिकताको सम्बन्धमा प्रश्न उठेको छ, सहयोग गर्न तयार छु । उहाँले भनिरहँदा रातारात भाग्नेजस्तो गरेर गिरफ्तार गरेर लिएर आउने ।

    गिरफ्तार गर्ने निकायमा दुईवटा पासपोर्टको कारण छानविन हुनुपर्ने भनेर आरोपित व्यक्ति गृहमन्त्री हुनुहुन्छ । महान्यायाधिवक्ताको कार्यालयले छानविन नगर्नुपर्ने भनेको छ । महान्यायाधिवक्ताको कार्यालय भनेको पार्टीको भातृ संस्था हो ? रास्वपाको भातृ संस्था हो ? गृह मन्त्रालयको शाखा हो ? कहिले पासपोर्ट प्रकरणमा छानविन गर्नुपर्दैन भनिदिएको छ । कहिले सहकारीको सन्दर्भमा उहाँ संलग्न हुनुहुन्न भनेको छ । संवैधानिक इजालाश हो ? त्यसकारण अहिले सहकारी ठगिको सन्दर्भमा गम्भीरतापूर्वक उठाउनुपर्ने प्रश्न छ ।’ 

    उनले गृहमन्त्री रवि लामिछाने संलग्न सहकारी ठगि प्रकरणको कान्तिपुरले श्रृङ्खलावद्ध रुपमा समाचार प्रकाशित गरेपछि बदला स्वरुप सिरोहियालाई पक्राउ गरिएको बताए । उनले गृहमन्त्रीमाथि पनि दुईवटा पासपोर्ट प्रयोगको अभियोगमा छानविन हुनुपर्ने बताए ।