
बिहिवार , श्रावण २२, २०७७
भैरहवा, २२ साउन ।
नमुना एकीकृत विकास परिषद रुपन्देहीको आयोजना, युनिसेफको सहयोग तथा सम्मरीमाई गाउँपालिकाको समन्वयमा कोभिड–१९ बाढीपूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत पालिकामा प्रारम्भिक द्रुत लेखाजोखा (आइआरए) तालिम कार्यक्रम सम्पन्न भएको छ ।
तालिममा विपद् भएमा कसरी २४ घन्टाभित्र पालिका, वडा, प्रहरी र रेडक्रसका प्रतिनिधिहरुले फिल्डमा गइ मानवीय र भौतिक क्षतिको लगत लिने भन्ने सैद्धान्तिक तालिम र कार्यशाला पनि भएको थियो ।
त्यस्तै श्रब्यदृस्यबाट आइआरएको लगत कसरी लिने भन्ने वित्तचित्र पनि देखाइएको थियो ।
नमुना एकीकृत विकास परिषद (नमुना)का सचिव शैलेन्द्र तुलाधरको अध्यक्षता, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पालिकाका सातै वडा अध्यक्षहरु एन सी डी एम सी का राष्ट्रिय अध्यक्ष जगरनाथ प्रसाद कुर्मी, नेपाल रेड्क्रस सोसाइटी मर्चवार उपशाखाका सभापति निरञ्जन पाठक, विपद् शाखा प्रमुख कमल अर्याल, सूचना अधिकृत प्रमोद गौतम लगायत स्वास्थ्य, कृषि, पशु शाखाका प्रमुखहरु, इलाका प्रहरी प्रमुख र स्थानीय विपद् व्यस्थापन समितिबाट महिला, दलित, युवा, अल्पसंख्यक, अपाङ्गका प्रतिनिधिहरु गरी ३७ जनाको उपस्थिति रहेको थियो ।
नमुनाका कार्यक्रम अधिकृत राजेश जि. सी.को सञ्चालनमा सम्पन्न कार्यक्रमकोे सहजीकरण नमुनाका सामाजिक परिचालक रामकेवल यादवले गरेका थिए ।
समापन कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत टेकराज भट्टराईले विपद्को बारेमा अहिलेको अवस्थामा जानकारीहरु संचारमाध्यममा आउने भएकोले समुदायहरुलाई यसका बारेमा जानकारी गराएर सुरक्षित हुन सकिने भन्दै सिकेका कुराहरु व्यवहारमा उतार्नुपर्ने बताए ।
नमुनाका सचिव शैलेन्द्र तुलाधरले समुदायहरुद्धारा आ–आफ्नो समुदाय घरबस्ती, वडा कार्यालय, गाउँपालिकामा संजालमार्फत विपद् पुर्वतयारी र प्रतिकार्य योजनाका बारेमा समय–समयमा सरोकारवाला निकायमा जाने र दिर्घकालिन रुपमा यसको समाधान गर्नुपर्ने धारणा राखेका थिए । तालिममा प्रशिक्षक विजय सिंह ठकुरीले प्रशिक्षण दिएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij