
मंगलवार , फाल्गुण ११, २०७७
भैरहवा, ११ फागुन ।
प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको खुशीयालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले मंगलबार सांझ भैरहवाको बुद्धचोकमा दिप प्रज्जवलन गरेको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको थियो ।
दिप प्रज्जवलन कार्यक्रममा बोल्दै नेकपा प्रचण्ड–माधव समूहका केन्द्रीय सदस्य तथा पूर्व भुमिसुधार राज्यमन्त्री हकिकुल्ला खाँले नागरिकको अधिकारप्रति आफुहरु सचेत भएको बताए ।
नेकपा रुपन्देहीका सचिवालय सदस्य तथा सिद्धार्थनगर इञ्चार्ज तीर बहादुर रोकाय (डार्बिन)ले त्याग, तपस्या र बलिदानबाट प्राप्त संविधानको हत्या गर्ने कोशिष प्रधानमन्त्री ओलीले गरेको आरोप लगाए ।
पार्टीका जिल्ला कमिटी सदस्य तथा सिद्धार्थनगर नगरपालिका प्रमुख हरि प्रसाद अधिकारीले नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने बताए । नेकपा सिद्धार्थनगरका सचिव जीवलाल अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।
त्यस्तै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने आदेश दिएपछि जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले भैरहवाको मिलनचोकमा दिप प्रज्जवलन गरेको छ । संसद विघटन गर्ने सरकारको निर्णयलाई बदर गर्ने निर्णयको स्वागतमा दिप प्रज्जवलन गरिएको जसपाका युवा नेता रवि कुमार रौनियारले बताए ।
कार्यक्रममा बोल्दै जसपा लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक सन्तोष कुमार पाण्डेय, जसपाका वरिष्ठ नेता महेन्द्र यादव, पार्टीका केन्द्रीय सदस्य किस्मत वि.क., रुपन्देही जिल्ला प्रवक्ता मोहम्मद इस्लाम लगायतले बोल्दै ओलीको पराजय भएको बताए । उनीहरुले पुस ५ गतेको असंवैधानिक कदमविरुद्ध पुस ८ गतेदेखि जसपा आन्दोलनमा उत्रिएको बताए । मुलुकमा लोकतन्त्र र संविधानको रक्षा भएको नेताहरुको भनाइ छ । जसपा सिद्धार्थनगरका अध्यक्ष अर्जुन प्रसाद जयसवालको अध्यक्षता तथा सचिव राममिलन यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij