
शनिवार , जेठ २६, २०८१
काठमाडौं, २६ जेठ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनसम्म कांग्रेस प्रतिपक्षीमा बस्ने स्पष्ट पारेका छन् । शनिबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक अवस्थामा कांग्रेसको भूमिका बिषयक कार्यक्रममा थापाले कांग्रेस सरकार परिवर्तनको खेलमा नलाग्ने भन्दै ८४ सम्म प्रतिपक्षीको भूमिकामा रहने बताएका हुन् ।
प्रतिपक्षीमा रहे पनि कांग्रेसले एमाले लगायतका दलहरुसँग सम्वादलाई निरन्तरता दिने र मुलुकको हितका बारेमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने उनले बताए । थापाले अहिलेको अवस्थामा मुलुकको निर्वाचन प्रणाली परिवर्तनका लािग संविधान संशोधन गर्नुपर्ने भन्दै यसका लागि एमाले माओवादीसँग छलफल गर्ने जिकिर गरे ।
संविधानलाई स्थायीत्व दिनका लागि पनि मुलुकको प्रदेश र निर्वाचन प्रणालीसम्बन्धी व्यवस्थालाई संशोधन गर्नुपर्ने उनको भनाइ छ । उहाले गिरिबन्धु प्रकरणमा कांग्रेसमाथि एमालेले लगाएको आरोप गलत भएकाले यसको प्रतिवाद गर्नुपर्ने धारणा राखे । गिरिबन्धुमा अदालतको गलत अपव्याख्या एमालेले गरेको भन्दै उनले यसको जवाफ सदनका आगामी बैठकबाट दिने स्पष्ट पारे ।
महामन्त्री थापाले अदालत र संवैधानिक निकायहरुलाई प्रभावित गर्ने र कांग्रेस नेताहरुलाई तर्साउने काम भइरहेको आरोप लगाए । उजले कांग्रेस नेताहरुलाई अप्ठेरोमा पार्न खोज्दा सिंगो पार्टी एक भएर बोल्न सक्नुपर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij