२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

साई ग्लोबलद्वारा हाजिरीजवाफ प्रतियोगिता, मनकामना प्रथम

मंगलवार , जेठ २९, २०८१

भैरहवा, २९ जेठ ।
साई ग्लोबल एकेडेमी सिद्धार्थनगर नगरपालिका–८, रुपन्देहीको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता (साई ग्लोबल क्वीज कन्टेष्ट–२०८१) सम्पन्न भएको छ । सोमबार भैरहवामा भएको प्रतियोगितामा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर नजिताको पर्खाइमा बसेका विद्यार्थीहरुको सहभागीता रहेको एकेडेमीका प्रबन्ध निर्देशक मोती प्रसाद पौडेलले बताए ।
उनका अनुसार प्रतियोगितामा सहभागीतामा लागि ३५ वटा समूह (टीम) ले दर्ता गराएका थिए । ‘सोमध्ये ७ वटा समूह छनौट भइ प्रतियोगितामा सहभागी भएका थिए । प्रत्येक समूहमा तीनजना विद्यार्थीहरुको सहभागीता थियो, ’पौडेलले भने । 

प्रतियोगितामा मनकामना ईङलिस बोर्डिङ स्कूल प्रथम भएको छ । मनकामनाबाट प्रिया गुप्ता, धर्मेन्द्र गुप्ता र अजय मौर्य सहभागी थिए । त्यस्तै रेटी इन्ष्टिच्युट (बी) द्वितीय भएको छ । रेटीबाट श्रीदिमा पन्त, तारा प्रसाद बेल्बासे र आयुष्मा गुरुङ सहभागी थिए ।

त्यसै गरी आरम्भ एजुकेशनल एकेडेमी (ए) तृतीय भएको छ । आरम्भबाट प्रशान्त यादव, विनय चौधरी र शिव कुमार यादव सहभागी थिए ।

बुद्ध ग्लोरी एजुकेशन सेन्टर चौथो भएको छ । सेन्टरबाट अस्मिता बरई, प्रदिप यादव र रवि किशन यादव सहभागी थिए ।

त्यस्तै रेटी इन्ष्टिच्युट (ए), न्यू बुद्ध एजुकेशन र आरम्भ एजुकेशनल एकेडेमी (बी) सान्तवना भएका छन् । उक्त संस्थाहरुबाट क्रमशः विद्यार्थीहरु सुरज प्रजापति, रामकरन कलवार, रीमा यादव तथा सन्तोष यादव, रिजन क्षेत्री, अस्कर गौचन एवं गुलाम फकिर, आशिष यादव र अमरदीप यादव सहभागी थिए ।

प्रतियोगितामा प्रथम हुने विद्यालय/संस्थालाई नगद रु. ६ हजार, द्वितीय हुनेलाई रु. ४ हजार, तृतीय हुनेलाई रु. ३ हजार, चौथो हुनेलाई रु. २ हजार र सान्त्वना हुनेलाई रु. १ हजार प्रदान गरिएको थियो । प्रतियोगितामा विजयी सम्पूर्ण विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको क्वीज मास्टर सुरज घिमिरेले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि साई ग्लोबल एकेडेमीका अध्यक्ष दिनेश मान अमात्यले यस्ता खालका अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुको सहभागी हुनुपर्नेमा जोड दिए । उनले हाजिरीजवाफ प्रतियोगिता एउटा बौद्धिक खेल पनि भएको बताए । उनले साई ग्लोबलको मुलुकमै प्रतिष्ठित संस्था रहेको र एकेडेमीले गुणस्तरीय शिक्षामा कुनै सम्झौता नगर्ने दावी गरे ।

त्यस्तै विद्यालयका प्रिन्सिपल डा. कौशलराज गौतमले हाजिरीजवाफ प्रतियोगितामा सेकेण्ड राउण्डसम्म पुग्न सफल विद्यार्थीहरुलाई आगामी दिनमा एकेडेमीक कोर्समा विशेष छात्रवृत्ति प्रदान गरिने बताए । हाजिरीजवाफ प्रतियोगिताका संयोजक लक्ष्मण ज्ञवालीले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई धन्यवाद दिए ।