२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

खेलकुद प्रवर्द्धनमा अघि बढ्दै तिलोत्तमा, खेलाडी उत्पादनमा जोड

बुधवार , जेठ ३०, २०८१

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले खेलकुदको प्रबद्धनका लागि बिभिन्न कार्यक्रम गर्दै आएको छ । खेलकुदको माध्यमबाट नगरलाई राष्ट्रिय स्तरमा परिचित बनाउन नगरपालिकाले खेलाडी उत्पादन देखि खेलाडीलाई सम्मान गर्ने काम गरेको छ ।

खेलकुदको माध्यमबाट नगरले बिकासमा टेवा पुर्‍याउने उद्धेश्यसहित तिलोत्तमा नगरपालिकाले आर्थिक बर्ष ०८०/०८१ मा ७० लाख रुपैया बजेट विनियोजन गरेको थियो । त्यसमध्ये नगरपालिकाले ६५ लाख बराबरको कार्यक्रम सम्पन्न गरिसकेको छ ।

खेलकुदको बिकास र प्रबद्धन गर्न तथा खेलाडी उत्पादनलाई जोड दिनका लागि वडा स्तरबाटै बिभिन्न खेलकुदका गतिबिधि सञ्चालन गर्दै आएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले वडा स्तरबाट खेलाडि उत्पादन गर्नका लागि भलिवल, क्रिकेट, फुटवल र व्याडमिन्टन लगाएतका प्रतियोगिता गर्दै आएको छ । वडास्तरबाट उत्पादन भएका खेलाडीलाई पालिका र जिल्ला स्तरीय खेलकुदका बिभिन्न कार्यक्रममा सहभागि गराउदै आएको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले जानकारी दिए ।

पालिकाले व्याडमिन्टन खेलको प्रबर्द्धन गर्नका लागि मेयरकप व्याडमिन्टन प्रतियोगिता गराउर्दै खाएको छ भने महिला खेलाडीको उत्थानका लागि उपमेयर कप खुल्ला महिला भलिवल प्रतियोगिता गर्दै आएको नगरप्रमुख खांणले जानकारी दिए । साथै नगरस्तरिय भलिवल प्रतियोगिता समेत सम्पन्न गरेको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगतामा तिलोत्तमा नगरपालिकाले उत्कृष्ट खेल प्रर्दशन गरेको थियो । राष्ट्रपति रनिङ शिल्डमा तिलोत्तमा नगरपालिका जिल्लामा दोश्रो हुन सफल भएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आर्चायले जानकारी दिए । नगरमा १ हजार ५ सय खलाडिले प्रतिनिधित्व गरेको राष्ट्रपति रनिङ शिल्डबाट जिल्लामा खेल्नका लागि १२० जना खलाडि छनौट भएको आर्चायको भनाई छ । जिल्लाबाट छनौट भएर केहि खेलाडिले प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिएको नगरपालिकाले जनाएको छ ।

तिलोत्तमा नगरपालिकाले लागत साझेदारिमा बिभिन्न क्लवहरुले आयोजना गरेको खेलकुद कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक आर्थिक सहयोग समेत गर्दै आएको पालिकाले जनाएको छ ।

तिलोत्तमाका खेलाडीलाई सम्मान

तिलोत्तमा नगरपालिकाले पालिकाबाट राष्ट्रिय स्तरका खेल प्रतियोगितामा भाग लिने खेलाडीहरुलाई सम्मान गर्ने परम्पराको थालनी गरेको छ । राष्ट्रिय स्तरका क्रिकेट खेलाडि कुशल भुर्तेल, देव खनाल र मौसम ढकाललाई नगद सहित सम्मान गरेको छ । तिलोत्तमाबाट उदाएका खेलाडीहरुको प्रोत्सानका लागि नगद सहित सम्मान गरेको नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत नारायण अर्यालले जानकारी दिए ।

खेलाडिलाई नगरसहित सम्मान गरेको तिलोत्तमाले उनीहरुको खेल हेर्नका लागि डिजिटल बोर्डको प्रबन्ध समेत गरेको छ । खेलाडीहरुको प्रोत्साहन तथा आम नागरिकलाई अन्तराष्ट्रिय तथा राष्ट्रिय स्तरका खेल गतिबिधि देखाउनका लागि नगरपालिकाको कम्पाउण्ड बाहिर गेड अगाडि डिजिटल बोर्डको व्यवस्था गरिएको प्रमुख प्रशाशकिय अधिकृत अर्यालले जानकारी दिए ।

१० बर्षपछि नेपाल टी २० बिश्वकपमा प्रबेश गरेको सुखद उपलक्ष्यमा हामीले नेपालले खेल खेल्ने दिनमा यहाँ ठुलो पर्दाबाट खेल देखाउदै आएका छौं, अर्यालले भने ‘यसले यहाबाट प्रतिनिधितव गर्ने खेलाडि, उनीहरुका बुबाआमा, नगरवासीलाई प्रोत्साहन गर्नका लागि सहयोगका लागि लगाईएको डिजिटल बोर्डबाट खेल हेर्न पाउँदा निकै खुसी छन् । तिलोत्तमा नगरपालिकाले लगाएको डिजिटल बोर्डमा नेपाल र नेदरल्याण्ड वीचको खेललाई प्रत्यक्ष देखाएको थियो । जुन प्रतियोगिता हेर्नका लागि नगरका सयौं क्रिकेटपे्रमि त्यहा पुगेका थिए ।

रंगशाला निर्माणमा प्रोत्साहन 
तिलोत्तमा नगरपालिका १७ मा एकल लगानीमा निर्माण भएको एक्ट्राटेक क्रिकेट मैदान निर्माणका लागि नगरपालिकाले प्रोत्साहन दिएको थियो । क्रिकेट मैदान निर्माणका लागि नगरपालिकाले आर्थिक सहयोग नगरेपनि नीतिगत तथा अन्य पालिकाले गर्ने सहयोग र समन्वयको काममा खुलेर सहयोग गरेको नगरपालिकाले जनाएको छ ।

रंगशालाको उद्घाटन खेललाई नगरपालिकाले प्रमुख प्रायोजकको रुपमा सहयोग गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्यालले जानकारी दिए । नगरपालिका भित्र अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण हुनु हाम्रोलागि गौरबको बिषय हो, यसको शंरक्षण र नीतिगत सहयोगका लागि हामी सधै प्रतिबद्ध छौं, उनले भने ।

तिलोत्तमा स्पोटर्स अवार्ड सञ्चालन गर्दै 
खेलकुदका माध्यमबाट नगरपालिकालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउने योजना सहित खेलकुदका क्षेत्रमा लगानी बृद्धि गर्दै आएको तिलोत्तमा नगरपालिकाले तिलोत्तमा स्पोटर्स अवार्ड गर्ने भएको छ ।

खेलका माध्यमबाट तिलोत्तमा चिनाएका खेलाडीहरुको पहिचान र सम्मान तथा खेलाडिहरुको मनोवल र हौसला बृद्धि गर्न तिलोत्तमा स्पोटर्स अवार्ड गर्न लागिए पनि यसलाई यही आर्थिक बर्ष भित्र गर्ने कि अर्को आर्थिक बर्षबाट व्यापक व्यवस्थित गरेर गर्ने भन्ने बिषयमा छलफल भईरहेको नगर खेलकुद समिति संयोजक लोक पुनले जानकारी दिए ।

नगरपालिकाले खेलका बिभिन्न बिधामा ख्याति कमाएका खेलाडिहरुको छनौट र पहिचान गरी सम्मान गर्ने तयारी गरेको छ । तर, यस कार्यक्रमलाई कुन मोडलबाट कसरी गर्ने भन्ने बिषयमा विज्ञहरुसंग छलफल गरेर अगाडि बढ्ने पुनको भनाई छ ।

उनले तिलोत्तमाको खेलकुद क्षेत्रलाई प्रभावकारी ढंगले अगाडि बढाउनका लागि आगामि आर्थिक बर्षको बजेट बनाउन लागिएको बताए । आगामि बर्ष हामी नगरको खेलकुद बिकासका लागि पुर्वाधार निर्माण, खेलमैदानहरुको स्तरोन्नती, प्रशिक्षक, रेफ्रि उत्पादन देखि प्रशिक्षणका कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउने योजना सहित काम गरेका छौं, उनले भने ।