
बुधवार , जेठ ३०, २०८१
भैरहवा, ३० जेठ ।
नेपाल समाजवादी पार्टी (नेसपा) को स्थापना दिवसको अवसरमा रुपन्देहीको भैरहवामा दीप प्रज्वलन गरिएको छ । पार्टीको जिल्ला समन्वय समितिले बुधबार साँझ भैरहवास्थित बुद्धचोकमा दीप प्रज्वलन गरेको नेसपा रुपन्देही जिल्ला संयोजक शोभाकान्त नेपालले बताए ।
दीप प्रज्वलन पश्चात भएको पार्टी स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै नेसपा लुम्बिनी प्रदेश संयोजक कमल खनालले आजभन्दा ९ वर्ष पहिले आफूहरुले नयाँ शक्ति पार्टी, नेपालको नामबाट एउटा वैकल्पिक शक्तिको स्थापना गरेको बताए । उनले भने, ‘विभिन्न घुम्तीहरु पार गर्दै विभिन्न शक्तिहरुसँग एकता, कार्यगत एकता र पार्टी एकता गर्दै पुराना शक्तिलाई पनि रुपान्तरण गरेर एउटा वैकल्पिक शक्तितर्फ ल्याउन कोशिष गर्यौं । तर, ती कोशिष सफल हुन सकेनन् । ’
नेता खनालले नेपालमा अहिले पनि कांग्रेस, एमाले, माओवादी लगायतका परम्परागत शक्ति रहेको उल्लेख गरे । उनले थपे, ‘जबसम्म संसदभित्र बहुमतीय प्रणाली हुन्छ, तबसम्म यो देशमा एक–एक महिनामा सरकार परिवर्तन हुन्छ । यो महिनामा प्रधानमन्त्री भएको व्यक्ति अर्को महिनासम्म प्रधानमन्त्री हुन्छ कि हुँदैन निश्चित हुने देखिन्छ ।’
उनले मुलुकमा स्थायीत्व र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेकोमा जोड दिए । संघीयताका मर्मविपरीत केन्द्र सरकार परिवर्तन हुँदा प्रदेशमा पनि सरकार परिवर्तन भएको उनको भनाइ छ ।
त्यस्तै पार्टीका केन्द्रीय सदस्य पंकज राईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक संसद, सदाचार, सुशासन, संविधान संशोधन, समावेशी, लोकतन्त्र, समतामूलक समाज जस्ता एजेण्डा नेसपाको रहेको बताए । उनले संविधान संशोधनका लागि पूराना शक्तिसँग धुव्रीकरण गरिएको बताए । उनले भने, ‘ पुरानालाई नयाँ बनाउने आँट गर्यौैं । तर, अध्यारोमा बस्न रुचाउने पुराना शक्तिले हामीले लिएर गएको उज्यालोको महत्व बुझ्न सकेनन् । ’
केन्द्रीय सदस्य राईले वैकल्पिक राजनीतिको उज्यालो लिएर फेरी जनतामाझ आएको जिकिर गरे ।
नेसपा रुपन्देही जिल्ला सचिवालय सदस्य विष्णु के.सी.को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । यसअघि सिद्धार्थनगर नगरपालिका–९ मंझरीपथस्थित नेसपा रुपन्देहीको जिल्ला पार्टी कार्यालयको उद्घाटन भएको पार्टीको सिद्धार्थनगरका अध्यक्ष विजय उपाध्यायले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij