२०८३, आश्विन ७ गते

Sep 23 2026 | २०८३, आश्विन ७ गते

चित्रबहादुर केसीको दाबी : संघीयताले मुलुकलाई दुर्गतितर्फ लग्यो

आइतवार , आषाढ ३, २०८१

  • 715
    Shares
  • 715
    Shares
  • काठमाडौं, २ असार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले मुलुकलाई दुर्गतितर्फ लगिरहेको दावी गरेका छन् ।

    आईतवार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाजिको छलफलमा भाग लिँदै उनले सो कुरा बताए ।

    संघीय शासन प्रणालीको नौ वर्षको व्यवहारिक अनुभवबाट हाम्रो मुलुकको आर्थिक दुर्गति, राजनीतिक अस्थिरता, विखण्डनको कारकतत्व संघीयता भएको कुरा स्पष्ट हुँदै गईरहेको अध्यक्ष केसीको भनाई थियो ।

    उनले शासकहरुको प्रवृत्ति एकात्मक हुँदा पनि मुलुकका लागि संघीयता पासो बन्न गएको जिकिर गरे । अध्यक्ष केसीले संघीयताको सुदृढिकरणका लागि विश्व बैंक लगायतबाट ऋण लिएर त्यसको भार नेपाली जनतालाई बोकाउने कुरा मान्य नहुने बताए । 

    उनले भने, ‘अब मुलुकलाई सबैभन्दा ठूलो समस्या के भयो भने–मुलुकलाई समृद्धशाली बनाउनका लागि हामीले संघीय प्रणाली बनायौं । जुन यहाँको भुगोल, यहाँको अर्थतन्त्र, यहाँका नेताहरुको मनोवृत्ति, शासकहरुको प्रवृत्ति एकात्मक, मुलुक संघात्मक । तपाईहरुलाई सबैभन्दा बढी पासो परेको कुरा यही हो । प्रत्येक सरकारले संघीयता कार्यान्वयनमा जोड दिने बारम्बार बताउने गरेका छन् ।

    संघीयता कार्यान्वयनका लागि थुप्रै कार्यक्रम कार्यान्वयन गर्न पनि भनिएको छ । तर संघीय शासन प्रणालीको नौ वर्षको व्यवहारिक अनुभवबाट हाम्रो मुलुकको आर्थिक दुर्गति, राजनीतिक अस्थिरता, विखण्डनको कारकतत्व संघीयता भएको कुरा स्पष्ट हुँदै गईरहेको छ । संघीयताले मुलुकमाथि अनाआवश्यक अनुत्पादक आर्थिक बोझ बढाउँदै लगिरहेको छ ।

    नेपालले संघीयताको सुदृढिकरणको नाममा अमेरिकी परियोजना यूएसएडबाट आर्थिक सहयोग लिएर संघीयताको कार्यान्वयनको नाममा विश्व बैंकबाट ऋण काँढेर कति दिन हामीले संघीयताको भारी नेपाली जनतालाई बोकाउने हो ?’
    अध्यक्ष केसीले संघीयताले मुलुकलाई विखण्डनको बाटोमा लैजाने देखिएको पनि बताए ।