
सोमवार , आषाढ ४, २०८१
भैरहवा, ३ असार ।
नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले मै हुँ भन्ने र नयाँ पार्टीले १० वर्ष पार्टी चलाएर देखाउन चुनौती दिएका छन् । उनले अहिलेको मै हुँ भन्ने, नयाँ पार्टी, जातीय र धार्मिक पार्टीले १० वर्ष पार्टी चलाएर देखाउन चुनौती दिएका हुन् ।
कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सह–महामन्त्री राठौरले यस्तो बताएका हुन् । उनले भने, ‘७० वर्ष यो पार्टी (नेपाली कांग्रेस) चलाउनु, यहाँसम्म पुर्याउनु कति गर्नुपर्यो होला ? समीक्षा गर्नुस् । राणा, पञ्चायत र राजा फाल्यौं । कम्युनिष्टहरुलाई राजनीतिक र लोकतान्त्रिक पद्दतिको मूल प्रवाहमा ल्याउन कांग्रेसलाई कति ग्राहो भयो भन्ने कुरा अहिलेको नयाँ पुस्ताले बुझ्न जरुरी छ, पुरानाले बुझेका छन् ।’
प्रतिनिधि सभा सदस्य समेत रहेका राठौरले कांग्रेस लामो इतिहास बोकेको पार्टी भएको र कांग्रेसका सदस्यहरुले पार्टीमा आबद्ध हुने कुराप्रति गर्व गर्नुपर्ने बताए । उनले कांग्रेसले ल्याएको खुला अर्थनीतिका कारण देश यहाँसम्म आइपुगेको दावी गरे । उनले भने, ‘कम्युनिष्टले गर्दा देशमा निराशा बढेको छ । कांग्रेसले गर्दा होइन । कांग्रेस जनताप्रति अझ जिम्मेवार र उत्तरदायी बन्नुपर्छ ।’
सहमहामन्त्री राठौरले कांग्रेसले बाहेक यो देशमा कसैले जनताको पक्षमा काम गर्न नसक्ने दावी गरे । मुलुकमा कांग्रेसको नेतृत्वमा संविधान जारी भएको र यो सानो कुरा नभएको बताए।
उनले विगतमा राजालाई सँगै लिएर हिंड्न खोजे पनि राजा आफूहरुसँग जान नचाहेकोले राजतन्त्रको अन्त्य भएको बताए । उनले देशमा राजा फर्किन्छ भन्ने भ्रममा नरहन कांग्रेसका नेता–कार्यकर्ताहरुलाई आग्रह गरे । उनले भने, ‘अब मुलुकमा राजा फर्केर आउनेवाला छैनन् ।’
कांग्रेसमा एकता ल्याउने हो भने वडादेखि केन्द्रसम्म निर्वाचन नगरी सर्वसम्मत रुपमा अघि बढ्नुपर्ने उनको तर्क छ । उनले भने, ‘पार्टीलाई बलियो बनाउने हो भने वडा सभापति काम गर्ने मान्छेलाई बनाउनुपर्छ । वडा सभापति गतिशिल भए पार्टी बन्छ । ’
कार्यक्रममा कांग्रेस रुपन्देही जिल्ला सदस्य तथा सियारी गाउँपालिका उपाध्यक्ष तारा थारु, कांग्रेस क्षेत्र नम्बर ३ का कोषाध्यक्ष कृष्ण खनाल, सिद्धार्थनगर–१३ का वडा सभापति प्रकाश बहादुर सिंह खड्का, नेपाल शिक्षक संघका चर्तुभुज रेग्मी, पूर्व महाधिवेशन प्रतिनिधि भरथरी यादव, युवा नेता संजय गुप्ता, क्षेत्रीय प्रतिनिधि खगेन्द्र शर्मा, वडा नम्बर ४ का सभापति नरेन्द्र प्रसाद रौनियार, नेपाल इञ्जिनियरिङ एशोसियशन लुम्बिनी प्रदेश सभापति शैलेन्द्र प्रसाद श्रेष्ठ, गायत्री भुसाल, विजयनाथ धवललगायतले भनाइ राखेका थिए ।
कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीका सभापति सुशील गुरुङको सभापतित्व, क्षेत्र नम्बर ३ (क) का सभापति सुरेन्द्रजंग थापाको स्वागत तथा क्षेत्रीय सचिव एवं प्रवक्ता लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij