
राष्ट्रिय परिचय पत्र बनाउन सकस
सोमवार , आषाढ ४, २०८१
भैरहवा, ३ असार । भैरहवाको उखरमाउलो गर्मी । उखरमाउलो गर्मीका कारण यहाँको जनजिवन निकै प्रभावित बनेको छ । पछिल्लो समय लगातारजसो ४३ डिग्रि माथिको तापक्रमका कारण जनजिवन नराम्रोसंग प्रभावित बनेको छ । गर्मीका कारण सडकमा मानिसको हिडडुल पातलो बनेको छ । तर, जिल्ला प्रशाशन कार्यालय रुपन्देहीमा भने राष्ट्रिय परिचयपत्र बनाउनका लागि ९० बर्ष सम्मका बृद्धबृद्धा गर्मीको कुनै प्रवाह नगरी लाईनमा बस्नु परेको छ ।
सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि परिचयपत्र बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा बृद्धबृद्धाको भिड लाग्ने गरेको छ । नागरिकता, राहदानी, सिफारिस लगायत नियमित कामसंगै राष्ट्रिय परिचयपत्रका लागि जेष्ठ नागरिकहरु थपिएपछि प्रशाशनमा सेवाग्राहीको भिड बढेको छ भने चर्को गर्मीमा घण्टौ लाईन बस्नु पर्दा जेष्ठ नागरिकहरुलाई निकै सास्ती भएको देवदहबाट ९० बर्षिय बुबाको राष्ट्रिय परिचय पत्र बनाउन आउनु भएकी चुमकला बस्यालको भनाई छ । उनका अनुसार बृद्धबृद्धाको सहजताका सके नागरिकताबाटै नभए वडा कार्यालयबाटै परिचय पत्र बनाउने कामको थालनी गरे सहज हुने थियो ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पछिल्ला एक हप्ता यता सेवाग्राहीको भिड बढेको छ । भिड बढेपछि कार्यालयले विहान ८ बजेदेखि नै सेवा सुरु गरेको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको भनाई छ । जिल्ला प्रशासन कार्यालयले भने सेवाप्रवाहलाई चुस्त बनाउन तथा सकेसम्म एकैदिनमा सेवा दिनेगरी काम अगाडि बढाईएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले उल्लेख गरे ।
जिल्ला प्रशाशन कार्यालय रुपन्देहीले सेवाग्राहिको सहजताका लागि काम गरेपनि ९० वर्षसम्मका जेष्ठ नागरिकहरु दिउसो १२ बजेको चर्को घाममा पनि पालो पर्खिएर परिचय पत्र बनाउन बाध्य छन् ।
पालो लगाउन विहान सात बजे नै जिल्ला प्रशासन कार्यालयमा पुगेपनि कतिपय सेवाग्राहीले भने कागजात नपुगेको भन्दै फिर्ता हुनुपरेको गुनासो गरे ।
जेठ असारको तराईको टन्टलापुर घाममा खुल्ला आकाशमुनी घण्टौं लाईनमा उभिएर पालो पर्खिदा चक्कर लागेर ढल्ने अवस्थामा पुगेको तिलोत्तमा नगरपालिका २ का तिर्थराज पौडेलको भनाई छ । उनले सरकारले बृद्धबृद्धाको सहजताका लागि काम गर्नु बेला दुख दिने खालका कार्यक्रम ल्याएको भन्दै आक्रोस पोखेका छन् । राष्ट्रिय परिचय पत्र बनाउन आएका अधिकांशले राष्ट्रिय परिचय पत्र निर्माणको कार्यलाई पालिका स्तरबाट सहज रुपमा गर्नु पर्नेमा उनको जोड छ ।
सिद्धार्थनगर नगरपालिकाका पुर्व उपप्रमुख उमा काफ्लेले जेष्ठ नागरिकको सहजताको लागि स्थानिय सरकारको समन्वयमा राष्ट्रिय परिचय पत्र बनाउनु पर्नेमा जोड दिईन । उनले जेष्ठ नागरिकको हितलाई ध्यानमा राखेर सरकारले काम गर्नु पर्ने उनको सुझाव छ । जिल्ला प्रशासन कार्यालय तथा ईलाका प्रशाशन कार्यालयबाट गरी दैनिक साढे तीन सय बढी परिचयपत्र बन्ने गरेको छ । तर, साउन भित्रै सबै जेष्ठ नागरिकलाई राष्ट्रिय पत्र मार्फत सामाजिक शुरक्षा भत्ता दिने तयारी गरेपछि परिचय पत्र बनाउनेको भिड बढेको हो । जेष्ठ नागरिकलाई सहज हुने गरी परिचय पत्र बनाउन तर्फ सरकारले बिशेष ध्यान दिनु पर्ने देखिन्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij