२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सामूदायिक विद्यालयको बस निजी विद्यालयलाई भाडामा

बुधवार , आषाढ ६, २०८१

भैरहवा, ५ असार । 

रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ मझगावाँस्थित मर्चवार आदर्श माध्यमिक विद्यालयको बस निजी विद्यालयले सञ्चालन गरेको छ । लु १ क ५५८१ नम्बरको बस विद्यालय आफैले सञ्चालन गर्न नसकेपछि साउन ७ गतेदेखि निजी विद्यालयलाई भाडामा दिएको हो ।

२०८० साउन ७ गते बुद्ध उन्नोभेटिभ रिसर्च एण्ड टेक्निकल इन्ष्टिच्युट प्रा.लि.  लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर २ सँग प्रत्येक ३ महिनामा बुझाउने गरी मासिक २५ हजारका दरले भाडामा दिने सम्झौता गरिएको छ । सो बस एक निजी विद्यालयले प्रयोग गरेको छ । 

लुम्बिनी प्रदेश सरकारको रु. २५ लाख र विद्यालयबाट रु. २ लाख ७८ हजारको साझेदारीमा २०७९ फागुन २३ गते उक्त बस खरिद गरिएको थियो । प्रदेश सांसद् तथा पूर्व शिक्षामन्त्री वसीउद्दीन खाँले सो बस सेवाको उद्घाटन गरेपछि केही समय विद्यालयमै थन्किएको थियो । 

सामूदायिक विद्यालयको गुणस्तर अभिवृद्धि तथा विद्यार्थीहरूको सुविधाका लागि खरिद गरिएको सो बस निजी विद्यालयका विद्यार्थीहरूले प्रयोग गरिरहेको भन्दै स्थानीयको गुनासो छ । समाजसेवी गुरुवचन यादवले भने, ‘विद्यालयमा बस आएको खबरले हामीलाई निकै उत्साहित बनाएको थियो । तर, विद्यालयले उक्त बस सञ्चालन गर्न नसकेर निजी विद्यालयलाई भाडामा दिदा मन दुःखेको छ । यो बसलाई मर्चवार आदर्श माविले नै सञ्चालन गर्न स्थानीय सरकारले समेत पहल र सहयोग गर्नुपर्ने उनको सुझाव छ । 

उक्त बसलाई वनभोज, विवाह र पार्टीका लागि समेत भाडामा दिने गरिएको छ । २०८० फागुन २७ गते श्री गणेश सामुदायिक प्राथमिक विद्यालयलाई वनभोजमा जानका लागि १२ हजार रूपैयाँमा भाडामा दिइएको थियो । केही महिना अघि सोही विद्यालयको एक शिक्षकको छोरीको विवाहमा उक्त बस प्रयोग गरिएको थियो ।

विद्यालयमा विद्यार्थीहरूको चाप बढाउन तथा यातायातको सुविधा दिने उद्देश्यले माग गरिएको बसको दुरुपयोग भइरहेको सो विद्यालयको विद्यार्थीरूको आरोप छ । 

मर्चवार आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक धनञ्जय त्रिपाठीले स्थानीय सरकारले बस सञ्चालनमा कुनै चासो नदेखाएकोले बस भाडामा दिन बाध्य भएको बताए । ‘अहिले विद्यालय पूर्ण रूपमा स्थानीय सरकारको अधीनमा रहेको छ । यो विद्यालयमा विद्यार्थीहरूबाट कुनै शुल्क लिइएको छैन ।’ उनले भने, ‘सवारीचालकको तलब पनि दिने अवस्था छैन । गाउँपालिकामा सञ्चालन खर्च माग गर्दा कुनै वास्ता गरिएन । बसको इन्धन, मर्मत लगायतका खर्च कहाँबाट व्यहोर्ने ?”

विद्यालयमा आन्तरिक स्रोतबाट केही शिक्षक तथा कर्मचारी भर्ना गरी विद्यालय सञ्चालन गरिएको तर, त्यो पनि पर्याप्त नरहेको प्रधानाध्यापक त्रिपाठीले बताए । त्यस्तै, विद्यालयका १४ वटा व्यवसायिक सटरहरू सामान्य भाडामा दिइएको भए पनि सोको भाडा समेत समयमा उठ्न नसकेको भन्दै, २–३ वर्षसम्मको सटर भाडावापतको रकम उठ्न बाँकी रहेको त्रिपाठीले बताए ।

कोटहीमाई गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक मनोहर चौधरीले बस सञ्चालनका लागि गाउँपालिकाबाट खर्च व्यहोर्ने कुनै सहमति नभएको बताए । उनले भने, ‘विद्यालयले आफ्नो क्षमतामा सञ्चालन गर्न प्रदेश सरकारबाट बस माग गरेको थियो । खरीद गर्दा मात्र गाउँपालिकाबाट सिफारिस मागिएको थियो ।’ बस सञ्चालनका लागि विद्यालयका आफ्नै थुप्रै स्रोत रहेको र तिनको सदुपयोग नभएको प्राविधिक सहायक चौधरीले बताए । ‘सामुदायिक विद्यालयका लागि खरिद गरिएको बस निजी विद्यालयलाई भाडामा दिन मिल्दैन’ उनले भने ।

यता मर्चवार आदर्श माध्यमिक विद्यालयले गाउँपालिकाको निर्णय अवज्ञा गरेको छ । कोटहीमाई गाउँपालिकाको निर्णयविपरीत विद्यालयले दिवा कक्षा सञ्चालन गर्दै अवज्ञा गरेको हो । 

अत्यधिक गर्मीको समयमा दिवा कक्षा सञ्चालन हुँदा विद्यार्थीहरू बेहोस हुने क्रम बढिरहेको भन्दै २०८१ वैशाख २१ गते कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीको अध्यक्षतामा बसेको सामूदायिक विद्यालयका प्रधानाध्यापकहरूको बैठकले वैशाख २३ गतेदेखि बिहान ६ बजेबाट कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । 

दीवा कक्षा सञ्चालन हुँदा विद्यार्थीहरूको उपस्थिति पनि न्यून रहेको पालिकाको भनाइ छ । गर्मीको समयमा विद्युतीय भोल्टेज कम हुने र पंखा समेत राम्रोसँग नचल्ने भएकोले बिहान १० देखि ४ बजेसम्म विद्यार्थी र शिक्षक समेतलाई सास्ती भएको उनको भनाइ छ ।

विद्यालयका प्रधानाध्यापक धनञ्जय त्रिपाठीले भने, ‘विद्यालयमा पर्याप्त पंखा रहेकोले दिउँसो कक्षा सञ्चालन गर्न कठिनाइ छैन । विद्यालयको प्रांगणमा पर्याप्त रुखहरू छन् जसले गर्दा यहाँ उच्च गर्मी हुँदैन ।’’ बिहानी कक्षा सञ्चालन गर्दा शिक्षक र विद्यार्थी दुवै ११ बजेसम्म भोकै बस्नुपर्ने भएकोले कक्षा दिउँसो सञ्चालन गरेको उनले बताए । उनले भने, ‘बिहानी कक्षामा अध्यापन समय घट्ने भएकाले पूर्ण समय अध्यापनका लागि दिउँसो कक्षा सञ्चालन गरिएको हो ।’