
बिहिवार , श्रावण २२, २०७७
बुटवल, २२ साउन ।
दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि प्रहरी र यातायात व्यवसायीबीच सहकार्य जरुरी रहेको एक कार्यक्रममा बोल्ने सरोकारवालाले जोड दिएका छन् ।
प्रदेश नम्बर ५ मा दुर्घटना बढेको र प्रदेशको अस्थायी राजधानी बुटवलमा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको भन्दै उनीहरुले प्रहरी र व्यवसायीबीच सहकार्य गरी अगाडी बढे समस्याको समाधानमा सहजता हुने बताएका छन ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलले बिहीबार आयोजना गरेको नवआगन्तुक प्रहरी प्रमुखहरुको स्वागत तथा परिचयात्मक कार्यक्रममा सहभागी सरोकारवालाले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक डम्बर बहादुर वि.क.ले शान्ति सुरक्षासंगै ट्राफिक व्यवस्थापनमा नागरिक समाज र व्यवसायी संघ–सस्थाहरुको सहयोग आवश्यक रहेको बताए । उनले प्रदेशका सबै यातायात व्यवसायीहरुसंग सहकार्य र समन्वय गरी प्रदेशको ट्राफिक व्यवस्थापन र ओभरलोड नियन्त्रणका लागि कार्ययोजना बनाएर अगाडी बढ्ने प्रतिवद्वता व्यक्त गरे ।
समितिका अध्यक्ष यमप्रसाद पाण्डेले भारतीय गाडीहले बोक्ने ओभरलोडका कारण नेपालका राजमार्गहरु जीर्ण बन्दै गएको र यातायात व्यवसायीको व्यवसाय चौपट भएको भन्दै ओभरलोड नियन्त्रणका लागि सरोकारवाला निकायलाई गम्भिर बन्न आग्रह गरे ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले सवारी दुर्घटना न्यूनीकरणका लागि गुडिरहेको अवस्थामा सवारीसाधन बिग्रिदा सडकबाट सुरक्षित स्थानमा पार्किङ गराउनेतर्फ व्यवसायीहरु सचेत हुन जरुरी रहेको औल्याए ।
पांँच नम्बर ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले छाडाचौपाया यस क्षेत्रका लागि विकराल समस्या देखिएकाले स्थानीय तहहरुले त्यसको व्यवस्थापनका लागि कार्ययोजना बनाउनुपर्नेमा जोड दिए ।
समितिका वरिष्ठ उपाध्यक्ष प्रताप बहादुर कार्की र महासचिव जीतबहादुर भाटले सवारी दुर्घटना तथा ओभरलोड बोकेका सवारीसाधनहरुलाई कसैको दवावमा परेर यथार्थता भन्दा फरक तरिकाले अनुसन्धान नगर्न प्रहरी प्रशासनलाई आग्रह गरे ।
कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष टिकाराम गौतम, समितिका उपाध्यक्षद्वय डिल्ली रिजाल, खिम बहादुर थापा, सचिव बसन्त खड्का, कोषाध्यक्ष हरि प्रसाद रिमाल, कार्यालय प्रमुख बाबुराम अधिकारी लगायतले ओभरलोड नियन्त्रणका लागि प्रहरी प्रशासनको सहयोग आवश्यक रहेकोमा जोड दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij