२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

महिलाको अर्थपूर्ण सहभागीता आवश्यक रहेकोमा जोड

मंगलवार , आषाढ १२, २०८१

भैरहवा, ११ असार । 
राष्ट्रिय महिला आयोगले एकल महिलाका लागि विभिन्न खालका कार्यक्रम गर्दै उनीहरुलाई सहयोग गरिरहेको बताएको छ । आयोगले सोमबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा गरेको एकल महिलाहरुको सुरक्षा सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत पृष्ठपोषणका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै आयोगकी सदस्य कृष्ण कुमारी पौडेल खतिवडाले एकल महिला समाज परिवर्तनका संवाहक भएको बताइन् । 

आयोगले राष्ट्रियस्तरमा अन्तरक्रिया, प्रदेशस्तरीय अन्तरक्रिया तथा नीतिगत सिफारिस गर्दै राज्यलाई एकल महिलाको सवालमा उठेका विषयलाई कार्यान्वयन गर्नुपर्ने आग्रह गरिरहेको उनले जनाइन् ।  रुढीवादी परम्पराले एकल महिलालाई अरुभन्दा बढी समस्या पर्ने भएकाले सो को निवारण केही हदसम्म भएको भए पनि निराकरण नभएको उनको भनाइ छ ।

सबैभन्दा ठूलो शक्ति राजनीतिक शक्ति भएको भन्दै उनले धर्म र राजनीतिमा विभाजित नभइ महिलाहरु एउटै आवाज बनाएर अघि बढ्नुपर्नेमा जोड दिइन् । उनले महिलाको अर्थपूर्ण सहभागीता आवश्यक रहेको बताइन् । 

कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईंले एकल महिलाको हकहित तथा सशक्तिकरणका लागि जिल्लाका १६ वटै स्थानीय तहसँग समन्वय गरी छलफल तथा नीतिगत कार्यक्रम गरिने बताए । नीतिगत रुपमा महिलाका सवालहरुलाई प्राथमिकतामा राखेर कानून निर्माण गर्ने र त्यसको प्रभावकारी कार्यान्वयन गर्न सके मात्र महिलामाथि हुने विभिन्न किसिमका हिंसामा कमी आउन सक्ने उनको भनाइ थियो ।

त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले महिलाले आफ्नो अधिकारका लागि आवाज उठाउनुपर्ने बताए । उनले भने, ‘महिला अगाडि बढ्नुपर्छ । डराउनुहुँदैन । ’रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एकल महिलाको भोगाई बोल्नेले अनुमान गर्न नसकिने खालको हुने भएकाले अनुमानका आधारमा धेरै बोल्न नमिल्ने जनाए । उनले कठिन परिस्थितिबाट गुज्रिएर संघर्ष गरी बाँचिरहेका एकल महिलालाई परिवारका सदस्यबाट कत्तिको साथ छ भन्ने विषय नै प्राथमिकतामा पर्ने बताए । उनले भने, ‘रुपान्तरण परिवारबाट सुरु गरौं, समाजलाई झेल्न सहज हुन्छ । ’

मानव अधिकारका लागि महिला, एकल महिला समूह लुम्बिनी प्रदेशको तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा १८ हजार ७ सय एकल महिला रहेका छन् । समूहले लुम्बिनी प्रदेशमा दाङ, बाँके र बर्दियामा भवन स्थापना गरी सेवा दिंदै आएको छ भने रुपन्देहीमा भवन निर्माणाधीन रहेको प्रदेश अध्यक्ष जानकी घिमिरेले बताइन् । समुह अन्तर्गत बुटवलका १९ वटै वडामा सञ्जाल बनाई बजेटसहितका कार्यक्रम गरिरहेको उनले जनाइन् ।