
केक नकाट्ने प्रण
मंगलवार , आषाढ १२, २०८१
भैरहवा, ११ असार । तपाईले आफ्नो जन्मदिन के गरेर मनाउनुहुन्छ ? केक काटेर, होटल तथा रेष्टुरेण्टमा गएर भव्य पार्टी गरेर अथवा परिवारसँग जमघट गरेर । कतिपयले त निकै तडकभडक गरेर जन्मदिन मनाउने गरेका हुन्छन् ।
तर, केही व्यक्तिले भने यी सबै कुरालाई थाती राखेर पनि आफ्नो जन्मदिनलाई निकै भव्य र खुसीका साथ मनाउने गरेका छन् । रुपन्देहीको सियारी गाउँपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख (लेखा अधिकृत) नारायण पौडेलले पनि आफ्नो कुनै तडकभडक नगरी जन्मदिन मनाएका छन् । उनले वृक्षारोपण गरेर आफ्नो जन्मदिन मनाएका हुन् ।
४० औं वर्षमा प्रवेश गरेका पौडेलले ४० वटा वृक्षारोपण गरेर जन्मदिन मनाएका हुन् । उनले जलवायु परिवर्तनको असरका कारण वातावरणमा नकारात्मक असर परेको भन्दै वातावरण जोगाउनका लागि वृक्षारोपण गरेर जन्मदिन मनाएको बताए ।
उनले सियारी गाँउपालिकाको कार्यालय परिसर, वडा नम्बर ३ का विभिन्न स्थानमा आयुर्वेदिक औषधीमा प्रयोग हुने हर्रो, बर्रो, अमला लगाएतका औषधिजन्य विभिन्न प्रजातिका वृक्षारोपण गरेका छन् । उनले गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु, प्रवक्ता दीपक बहादुर शाही, प्रमुख प्रशाशकिय अधिकृत ऋषिराम पन्थी लगायतका कार्यालयमा कार्यरत कर्मचारीका साथमा वृक्षारोपण गरेका थिए ।
केक नकाट्ने प्रण
धेरैलाई जन्मदिन भन्ने बित्तिकै केकको सम्झना आउने गर्छ । अधिकांशले त केक काटेर मात्रै जन्मदिन मनाउन सुरुवात गर्छन् । तर, पौडेलले यस पटकबाट आफुले जन्मदिन लगायतका अन्य कार्यक्रममा पनि केक नकाट्ने प्रण गरेका छन् । जन्मदिनमा केक काट्ने प्रचलन आफूहरुको सस्कार नभइ पश्चिमी संस्कृति–संस्कार भएको उल्लेख गर्दै केक नकाट्ने प्रण गरेका बताएका छन् ।
आयुर्वेदका जानकारहरुका अनुसार पनि केक बनाउन प्रयोग गरिने केमिकलमा अखाद्य वस्तु मिसिएको हुँदा यसले मानव स्वास्थ्यमा गम्भिर असर गर्छ । नेपाली समाजमा सस्ंकृतिको रुपमा फैलिएको केकको परम्परालाई तोडेर नेपाली परिकारमा जोड दिनुपर्ने उनको भनाइ छ । केकमा खासै कुनै पनि खालको पोषण तत्व नपाइने पोषणविद्हरु बताउँछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij