२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

महिलाहरू राजनीतिमा अगाडि आएका छन् : मुख्यमन्त्री महरा

मंगलवार , आषाढ १२, २०८१

दाङ, ११ असार । 

राष्ट्रिय महिला आयोगले लुम्बिनी प्रदेश सभाका नीतिगत विषयमा प्रदेश सभाको संसदीय समितिका सभापति र महिला साँसदहरूसँग अन्तरक्रिया गरेको छ । मंगलबार दाङको देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको लुम्बिनी हलमा भएको कार्यक्रमका लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोखबहादुर महराले महिला सशक्तिकरणका लागि राष्ट्रिय महिला आयोगलाई सक्रियतापूर्वक काम गर्न आग्रह गरे ।

उनले संघीय सरकारलाई नीतिनियम निर्माणमा पनि यस्ता छलफल तथा अन्तरक्रियाले सहयोग पुग्ने भन्दै त्यसतर्फ राष्ट्रिय महिला आयोगले पहलकदमी लिनुपर्ने सुझाव दिए ।

नेपालमा विभिन्न आन्दोलन तथा जनयुद्धले सबै क्षेत्रमा जागरुकता ल्याएको छ । मुख्यमन्त्री महराले भने, ‘महिलालाई सबै क्षेत्रमा सक्षम बनाउनका लागि राष्ट्रिय महिला आयोगले भूमिका खुल्न जरुरी छ।’

नेपालमा अहिले महिलाहरू घरायसी कामकाजमा बढी व्यस्त भएको देखिन्छ । उनीहरुलाई सम्पत्तिमा पनि समान वितरणको अवसर प्रदान गर्नका सहजीकरण गर्न जरुरी भएको मुख्यमन्त्री उनले बताए ।

अन्तरक्रिया गरेर, सुझाव लिएर, संघीय सरकारलाई नीति नियम निर्माणमा सहयोग पुर्याउनुपर्दछ । महिलाहरूलाई सबै क्षेत्रमा सशक्तिकरण बनाउनका लागि प्रभावकारी भूमिका खेल्न सबैले सहयोग गर्न जरुरी रहेको मुख्यमन्त्री महराको भनाइ थियो ।

पछिल्लो समय नेपालमा महिलाहरू राजनीति र विचारमा अगाडि आएका बताउँदै मुख्यमन्त्री महराले उनीहरुलाई आर्थिक आयआर्जनमा पनि सहयोग पुर्याउन आवश्यक रहेको धारणा व्यक्त गरे ।
 
राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा महिलालाई सशक्तिकरण गर्नका लागि प्रदेश सरकारले थालनी गरेको भन्दै मुख्यमन्त्री महराले राष्ट्रिय महिला आयोगले लुम्बिनी प्रदेश सभाका महिला सांसदबाट आएका सुझावलाई समेटेर नीतिनियम निर्माणमा सहयोग गर्नका लागि अनुरोध गरे ।

लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले नेपालमा समावेशी र समानताका लागि महिला आयोगले नेपालको संविधानमा टेकेर काम गर्नुपर्ने बताए । सभामुख घर्ती मगरले समाजमा देखिएको विभिन्न विभेदको अन्त्यका लागि राष्ट्रिय महिला आयोगले अभियान चलाउनुपर्ने सुझाव दिए ।
 
उनले राष्ट्रिय महिला आयोगले आफ्ना कार्यक्रमहरू गर्दा देशका सातै प्रदेश सभासँग सहकार्य गरेर नीति नियम निर्माण गर्दा उपलब्धीमूलक हुने धारणा राखे ।

अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती अधिकारीले नीति निर्माण तहमा महिला नेतृत्वलाई परेका समस्यालाई लिपिबद्ध गरी समाधानको मार्गमा राष्ट्रिय महिला आयोग जानुपर्ने बताइन् ।
 
उनले महिलाहरूका हकअधिकार र कानूनी जटिलतामा देखापरेका समस्यालाई समाधानका लागि प्रदेश सरकारसँग सहकार्यका लागि पनि राष्ट्रिय महिला आयोगसँग आग्रह गरिन् ।

लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिचाई मन्त्री कृष्णा के.सी.ले संविधानमा भएका कुरालाई लागू गर्नका लागि सबै निकायले सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताइन् । उनले आफ्नो घरपरिवारबाट नै छोराछोरी बीचमा हुने विभेद हटाउनका लागि आफूले आफैबाट पहल गर्न जरुरी गरेको धारणा राखिन् ।
 
छोरीलाई विवाह गरेर पठाउँछौँ, त्यस्तै बुहारी विवाह गरेर ल्याउँछौँ भन्दै मन्त्री के.सी.ले छोरी र बुहारीलाई समान दृष्टिकोणमा राखेर हेर्नुपर्ने बताइन् ।

राष्ट्रिय महिला आयोगका सदस्य कृष्ण कुमारी पौडेल खतिवडाले नेपालका सबै प्रदेशका प्रदेश (महिला) सांसदसँग प्रत्यक्ष रुपमा छलफल गर्दै आइरहेको जानकारी दिनै नीतिगत रुपमा काम गर्न सहज भएको बताइन् ।

उनले समाजमा अहिले पनि महिला पुरुषबीच ठुलो विभेद भएको भन्दै त्यसको न्यूनीकरणका लागि जनप्रतिनिधिहरूसँग राष्ट्रिय महिला आयोगले सहकार्य गरेर काम गरिरहेको जानकारी दिए ।

अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेश सभा नीतिगत विषयका प्रदेश सभा संसदीय समितिका सभापतीहरु र महिला सांसदहरूको उपस्थित रहेको थियो । उपस्थित सभापति तथा महिला सांसदहरुले राष्ट्रिय महिला आयोगले गर्नुपर्ने विषयमा आफ्नो धारणा तथा सुझाव राखेका थिए ।