
मंगलवार , आषाढ १२, २०८१
काठमाडौं, ११ असार ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशलाई बलियो बनाउन सबैले योगदान दिनुपर्नेमा जोड दिएका छन् । मंगलबार काठमाडौंमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशन उद्घाटन गर्दै देउवाले आदिवासी जनजाती लगायत सबै एकआपसमा एक भएर देशलाई बलियो बनाउन योगदान दिनुपर्नेमा जोड दिएका हुन् ।
उनले आफ्नो हकअधिकारका लागि लड्दै जादा कांग्रेसलाई पनि बलियो बनाउन आग्रह गरे । महासंघका मागहरुलाई सम्बोधन गर्न आफु लाग्ने उनले प्रतिवद्धता जनाए । उनले महासंघभित्रको विवाद भए आपसमा मिलेर समाधान गर्न सुझाव दिए ।
त्यस्तै कांग्रेस महामन्त्री गगन कुमार थापाले पार्टीलाई बलियो बनाउनका लागि पार्टी आवद्ध संस्थाहरु सक्रिय हुनुपर्ने धारणा राखे । उहाले सरकार परिवर्तनको खेलमा नलागी पार्टीभित्रको एकताकायम गरी आगामी निर्वाचनमा एक सय सिट ल्याउने गरी तयारी गर्नुपर्ने बताए । सत्ता समीकरणको खेलमा लाग्दा पार्टी कमजोर हुने भएकाले ८४ सम्म पार्टी निर्माणमा जुट्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले आफूहरु सरकारमा नहुँदा पनि देशलाई सही दिशातर्फ लैजान आवश्यक सुझाव दिन जरुरी रहेको बताए । उनले सरकार सिंगो अस्तित्व भए पनि खण्डखण्ड देखिनु दुःखद भएको जिकिर गरे । उनले सत्ता समीकरणका दलहरुको ध्यान गिरिबन्धु प्रकरणमा अध्यक्षलाई जोगाउने, सहकारी ठगीबाट आफ्ना सभापतिलाई जोगाउनेमा केन्द्रित रहेको धारणा राखे । उनले पार्टी निकट संगठनहरुको महाधिवेशनले पार्टीभित्र ताकतको महसुस हुने जिकिर गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij