२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एसईईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण

बिहिवार , आषाढ १४, २०८१

काठमाडौं, १३ असार ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बिहीबार बिहान बोर्डको बैठक बसेर एसईईको नतिजा सार्वजनिक गरिएको हो । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

नतिजा अनुसार १८६ जनाले ४ जीपीए ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७ सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी अर्थात २ लाख ४२ हजार ३१३ जना उत्तीर्ण भएको जानकारी दिए ।

उत्तीर्ण भएकामध्ये एक सय ८६ जनाले ४ जीपीए ल्याएका छन् । परीक्षामा सहभागी भएकामध्ये ५२ दशमलव १४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । उनीहरुले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ । अध्यक्ष शर्माले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको जानकारी दिए ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अंक नल्याउनेलाई एनजी उल्लेख गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले २ विषयसम्म ननग्रेड ल्याउने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने जनाएको छ । बोर्डका अधिकारीका अनुसार ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् ।