२०८३, आश्विन ७ गते

Sep 23 2026 | २०८३, आश्विन ७ गते

रोटरी क्लब अफ बुटवलको धन्यवाद ज्ञापन कार्यक्रम

बिहिवार , आषाढ १४, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • बुटवल, १३ असार ।
    रोटरी क्लब अफ बुटवलको धन्यवाद ज्ञापन कार्यक्रम बिहीबार बुटवलमा सम्पन्न भएको छ । क्लबका अध्यक्ष करुण खनालले आफूले नेतृत्व गरेको वर्ष २०२३/२४ को कार्यकाल सकिन लागेको अवसर पारेर धन्यवाद ज्ञापन कार्यक्रमको आयोजना गरेका हुन् । अध्यक्ष खनालको कार्यकाल जुन ३० बाट सकिदैछ।

    कार्यक्रमको उद्घाटन गर्दै नेपाल मानव धर्म सेवा समितिका अध्यक्ष रामजी अधिकारीले रोटरीले स्वार्थ भन्दा माथि उठेर मानव सेवामा गरेको योगदानको प्रशंसा गरे । आजको मानिस खानाको भोको होइन, प्रेमको भोको रहेको भन्दै उनले प्रेमपूर्वक गरिएको काममा कहिल्यै स्वार्थ नहुने बताए ।

    अनाथहरुको सेवामा मानव सेवा आश्रमले काम गरिरहेको र देशभरका अनाथहरुको अभिभावकत्व ग्रहण गरिरहेको भन्दै अध्यक्ष अधिकारीले असहायहरुको लागि समेत रोटरी जस्ता सामाजिक संस्थाहरु अभिभावक बन्न सक्नुपर्नेमा जोड दिए । 

    मान्छेमा हुनुपर्ने मुख्य गुण मानवता भएको र मानवीय गुणले भरिपूर्ण मान्छे सधै सुन्दर देखिन्ने उल्लेख गर्दै अधिकारीले रोटरीले समाजसेवामा खेलेको भूमिकालाई दीगो र निरन्तर कायम राख्नुपर्ने बताए ।

    रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का एसिष्टेन्ट गभर्नर सुरज क्षेत्रीले क्लबले गरेका सामाजिक कार्यहरुले यसको प्रतिष्ठा सधै उचो हुने गरेको भन्दै सामाजिक काममा सबैलाई साथमा लिएर अगाडि बढे सफलता हासिल गर्न सकिने बताए । उनले रोटरी क्लब अफ बुटवलले यस वर्ष पनि उत्कृष्ट कामहरु गर्न सफल भएको बताए ।

    कार्यक्रममा क्लबका प्रेसिडेन्ट इलेक्ट प्रज्वल थान्जु, निवर्तमान अध्यक्ष बोनिन पिया, क्लबका सचिव तारानाथ भट्टराई लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । त्यसअवसरमा क्लबका अध्यक्ष करुण खनालले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै रोटरीको नेतृत्व आफ्ना लागि अविस्मरणीय बन्न पुगेको बताए । कार्यक्रममा क्लबका बोर्ड सदस्य र सहयोग गर्नेहरुलाई प्रशंसापत्रबाट सम्मान गरिएको थियो ।