
बिहिवार , आषाढ १४, २०८१
भैरहवा, १३ असार ।
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ पिपरहियास्थित श्री महात्मा बुद्ध माध्यमिक विद्यालयलाई दुईवटा शौचालय हस्तान्तरण गरेको छ ।
क्लबका मेजर डोनर सिद्धार्थनगर–८ बैंककलोनी निवासी रोटरीयन प्रेमनारायण बेल्बासेकी आमा स्वर्गीय बेल कुमारी बेल्बासेको स्मृतिमा क्लबको सर्भिस प्रोजेक्टद्वारा निर्मित शौचालय बिहीबार विद्यालयलाई हस्तान्तरण गरिएको वर्ष २०२३/०२४ का अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए । २ लाख २५ हजार रुपैयाँको लागतमा छात्र र छात्राका लागि शौचालय र धारा (बेसिनसहित) हस्तान्तरण गरिएको भण्डारीले जानकारी दिए । उनले वर्ष २०२३/०२४ अर्थात आफ्नो कार्यकालमा धेरैजसो विद्यालयमा पुग्न सफल भएको बताए । उनले भने, ‘स्वास्थ्य, शिक्षा र खानेपानीको क्षेत्रमा काम गरेका छौं, यसअघि श्री रुपन्देही लिलाराम न्यौपाने माविलाई बोरिङ, टंयाकी, धारा बनाएर क्लबले हस्तान्तरण गरिसकेको छ । ’
भीम अस्पताल विकास समितिका पूर्वअध्यक्ष समेत रहेका भण्डारीले शिक्षा र स्वास्थ्यको क्षेत्रमा आफ्नो उपस्थिति बढी भएको बताए । उनले श्री महात्मा बुद्ध माविमा क्लबको नजर परिसकेकोले यो विद्यालयमा वार्षिक रुपमा कम्तीमा एउटा कार्यक्रम गर्ने सोच रहेको बताए । उनले भने, ‘सिद्धार्थनगरमा अन्य विद्यालयले धेरै प्रगति गरिसकेको भए पनि यो विद्यालयको अवस्था दयनीय छ । गल्लामण्डीको छेउमै बजार नजिक भएको यो विद्यालयको विकासमा सिद्धार्थनगर नगरपालिका र लुम्बिनी प्रदेश सरकारको ध्यान जान सकेको छैन ।’
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समाजसेवी घनश्याम बेल्बासेले आगामी दिनमा पनि विद्यालयलाई सहयोग गर्ने वातावरण बन्ने विश्वास व्यक्त गरे । उनले भने, ‘आगामी दिनमा पनि विद्यालयलाई सहयोग गर्न पाइयोस् ।’
त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ब्रिजेश यादवले आगामी दिनमा पनि रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरबाट विद्यालयले सहयोगको अपेक्षा राखेको बताए । उनले विद्यालयलाई अगाडि बढाउन सबैका साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए ।
विद्यालयका सहायक प्रधानाध्यापक ओमप्रकाश त्रिपाठीले रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले सराहनीय कार्य गरेको बताए । उनले भने, ‘यो काम २ लाख होइन २ करोड बराबरको काम हो ।’
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका पूर्वअध्यक्ष खिम बहादुर कार्कीले यो विद्यालयसँग आगामी दिनमा पनि क्लबले सहकार्य गर्ने बताए । उनले सामाजिक कार्य गर्ने उद्देश्यले रोटरी क्लब स्थापना भएको बताए ।
विद्यालय व्यवस्थापन समितिका सदस्य मनिष चौधरीले विद्यालयमा आवश्यकता रहेको शौचालय हस्तान्तरण गर्ने रोटरी क्लब अफ सिद्धार्थनगरलाई धन्यवाद दिए ।
रोटरियन प्रेम नारायण बेल्बासेको स्वागत तथा रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरकी सचिव सरिता रानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij