
शुक्रवार , आषाढ १५, २०८१
भैरहवा, १४ असार ।
सहकारीका सदस्यहरुको उद्यमशीलता विकास गरी आत्मनिर्भर बनाउन बजारीकरण सीप विकास अभिमुखीकरण कार्यक्रम (तालिम) रुपन्देहीको भैरहवामा सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएड) को संयुक्त आयोजनामा बुधबार र बिहीबार गरी दुईदिन कार्यक्रम भएको हो।
कार्यक्रमको समापनमा बोल्दै प्रमुख अतिथि युएसएडका अधिकृत (म्यानेजर) संजय झाले सहकारीमा बजारीकरण अझ जरुरी रहेको बताए । उनले यो कार्यक्रममा चारवटा प्रदेशमा सम्पन्न भइसकेको जानकारी दिए । उनले भने, ‘व्यवसाय विस्तारमा केही सहजता भयो भने तालिमको उपलब्धी मान्नेछौं । व्यवसायीलाई प्रतिष्पर्धी कसरी बनाउन सकिन्छ भन्ने कार्यक्रम उद्देश्य हो । ’ उनले बीडीएस डेस्कमार्फत व्यवसायलाई राम्रो बनाउन सहयोग गर्न सकिने बताए ।
त्यस्तै नेफ्स्कूनका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालले तालिममा सिकेका कुराहरु कार्यान्यवन नगरे यसको औचित्य प्रमाणित नहुने बताए । उनले सिकेका कुरा उद्यमशीलतामा प्रयोग गर्न आग्रह गरे । उनले भने, ‘युएसएडसँग धेरै कार्यक्रम गरेका छौं । सबैले राम्रो गर्नुपर्छ भन्ने आवाज हुनुपर्छ ।’ अध्यक्ष ढकालले उद्यमशीलतामा रुपान्तरण संस्थाको लागि राम्रो काम भएको बताए । उनले छोटो समयको सदुपयोग गर्नु पनि महत्वपूर्ण कार्य भएको उल्लेख गरे ।
नेफ्स्कूनकी सञ्चालक समिति सदस्य ज्ञानु पौड्यालले सहकारी संस्थाको बजारीकरण आवश्यक रहेकोमा जोड दिइन् । उनले सहकारी अवलोकन भ्रमणले पर्यटन क्षेत्रमा टेवा पुर्याएको उल्लेख गरिन् । उनले भनिन्, ‘जीवन नै सिकाई हो । त्यसकारण जब अज्ञानताको बोध हुन्छ, तब ज्ञानको सुरुवात हुन्छ । जहाँ पूर्णताको आभास हुन्छ, त्यहाँ सिर्जनाको ढोका बन्द हुन्छ।’
उनले धेरै सहकारी संस्थाहरुले बिजनेश डेभलपमेन्ट सर्भिस अर्थात व्यवसासयिक विकास सेवा (बीडीएस) डेस्क राखेको बताए । उनले नेफ्स्कूनले रणनीति बनाउन लागेको जानकारी दिइन् । उनले भनिन, ‘सहकारी संस्थाका शेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउनुपर्छ ।’
त्यस्तै कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड लुम्बिनी प्रदेश (प्रोस्कून) का अध्यक्ष कृष्ण प्रसाद नेपालले सहकारी संस्थाका बचतलाई पूँजीको रुपमा हेरिएको बताए । उनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्नुपर्दैन भनेर हल्ला फैलाइएको बताए । उनले भने, ‘सहकारीले कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकता दिनुपर्छ ।’ उनले नेफ्स्कुनले युएसएडको साझेदारीमा यो र यस्तै खालका कार्यक्रम विभिन्न समयमा गर्दै आएको र यस्ता कार्यक्रमले कृषि तथा पर्यटन व्यवसायीलाई आजको युग सुहाउँदो डिजिटल मार्केटिङको माध्यमबाट व्यवसाय प्रवद्र्धन गर्न सकिने बताए ।
रुपन्देही बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष बसन्त ढकालले सहकारीको दौरानामा केही नकारात्मक कुरा देखिएकोले अहिलेको परिस्थितिमा समस्या कसरी समाधान गर्न सकिन्छ र राज्यलाई कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने, ‘सहकारीबारे विभिन्न अपवाह र भ्रम फैलाइएको छ । ती भ्रमलाई चिर्नुपर्छ ।’
नेफ्स्कुन रुपन्देही सेवा कार्यालय उपसमिति सदस्य मीन प्रसाद पोखरेलले सहकारी संस्थामा यतिबेला केही खालका विसंगतिले आफूहरुलाई प्रताडित बनाएको बताए । उनले सहकारीलाई सक्षम र सबल बनाए मात्र सहकारी आन्दोलन उचाईमा पुग्ने बताए । नेफ्स्कुनकी तालिम अधिकृत रीता सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रशिक्षक कुल प्रसाद निरौला, आइ.सी.एस. नेपालका वरिष्ठ अधिकृत वि.पी. आचार्यलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा ५४ जनाको सहभागीता रहेको नेफ्स्कूनकी सञ्चालक समिति सदस्य ज्ञानु पौड्यालले जानकारी दिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij