२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

एमाले लुम्बिनीद्वारा ७ जनालाई प्रदेश सदस्यमा मनोनित

शुक्रवार , आषाढ १५, २०८१

रुपन्देही, १४ असार । 
नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश कमिटीले ७ जनालाई प्रदेश कमिटीमा मनोनयन गरेको छ । बिहीबार रुपन्देहीको बुटवलमा बसेको एमाले प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकले उनीहरुलाई मनोनित गरेको हो । मनोनित हुनेमा तेजेन्द्र केसी (रुपन्देही), डम्बर शर्मा (कपिलवस्तु), टोपबहादुर ओली (पूर्वी रुकुम), किस्मत कक्षपति (बाँके), हुकुमबहादुर बस्नेत (दाङ), लालबहादुर श्रेष्ठ (बर्दिया) र जसमा उमा विक (कपिलवस्तु) रहेका छन् । 

बैठकलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले पार्टीलाई एजेण्डाले नेतृत्व गर्ने भएकोले अहिलेको अवस्थामा मुख्यतः राष्ट्रिय स्वाभिमान र स्वाधिनताको विषयसहित चारवटा एजेण्डालाई आत्मसात गरेर पार्टी कामलाई अघि वढाउन आवश्यक रहेको बताइन् । उनले जनताका तत्कालीन र दीर्घकालीन एजेण्डाको रुपमा शिक्षा, स्वास्थ्य, आवास र रोजगारीलाई ग्यारेण्टी गरेर जान सक्दा मात्र सबै वर्ग र समुदायका एजेण्डालाई आत्मसात गर्न सकिने भएकोले तदनुसारका विषयलाई अभियानका रुपमा लैजान आवश्यक रहेको बताइन् ।

पूर्व भूमिव्यवस्था मन्त्री समेत रहेकी अर्यालले कार्यकर्ताका पनि एजेण्डा दिएर करप्टेड र फ्रष्टेड हुनबाट बचाउनु, हरेक कार्यकर्ताले पार्टीलाई अभिभावक सम्झने अवस्था सृजना गर्नु र स्वयं नेता पनि सुध्रिन जरुरी रहेको बताइन् ।

448861391_1256457418852964_438365668890693721_n.jpg

बैठकमा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले ९ वटा प्रस्ताव पेश गरेका थिए । जसअनुसार प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री र राजनीति नियुक्ति पाउनेको सम्मान तथा वार्षिक कार्ययोजना–२०८० को समीक्षा, वार्षिक कार्ययोजना–२०८१ प्रस्तुत, जिल्ला तथा मातहत कमिटीका वैठक र प्रदेश कमिटीको मनोनयन सम्वन्धी प्रस्तावहरु रहेको सचिव लक्ष्मण आचार्यले बताए ।

बैठकले पार्टीको मुखपत्र लुम्बिनी सन्देशको प्रकाशनका लागि आवश्यक तयारी गर्ने, जिल्ला र पालिका कमिटीको कार्यालय तथा अभिलेखीकरणलाई व्यवस्थित गर्ने, वैठकले १० बुँदे समसामयिक प्रस्तावहरु पारित गरेको प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले जानकारी दिए ।

बैठकमा पोलिटव्यूरो सदस्यहरु दल बहादुर राना, बैजनाथ चौधरी, लिला गिरी, दधिराम न्यौपाने, खेममान खड्कालगायतले मिसन ८४ को पूर्वतयारी र पार्टी रणनीतिका विषयमा जानकारी दिएका थिए ।