विषादी नितान्त कृषि कार्यमा प्रयोगमा आउने भएकाले किसानलाई थप भार थोपारिएको व्यवसायीको गुनासो छ । विषादी व्यवसायी संघ रुपन्देहीले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाउँदै करको दायरा बढाउँदा अब उत्पादित उपजको लागत मूल्य झन बढ्ने जिल्ला अध्यक्ष प्रकाश अधिकारीले बताए ।
संघका लुम्बिनी प्रदेश अध्यक्ष लाल बहादुर थापाले अवैध बाटो भएर आउने पंजीकरण नभएका विषादी प्रयोग गर्दा किसान र उपभोक्ताको स्वास्थ्यमा असर गरिरहेको बताए । यस्तो अवस्थामा करको दायरा बढेपछि विषादीमा तस्करी झनै मौलाउने व्यवसायीहरुको दावी छ ।
किसान तथा व्यवसायीको हितविपरीत हुने यस्ता नीति उपर विमति जनाउँदै असार १४ र १५ गते रुपन्देही जिल्लाभरका कृषिसँग सम्बन्धित पसलहरु बन्द गरी सांकेतिक विरोध जनाएको विषादी व्यवसायी संघका केन्द्रिय सदस्य भानु पौडेलले बताए ।
ज्ञापनपत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सिमा नाकामा हुने अवैध क्रियाकलाप रोक्न पहल गर्ने बताए । पंजीकरण नभएका विषादी प्रयोगमा रोक तथा दर्ता नभएका पसलहरु बन्द गराउने कार्य प्रशासनले प्राथमिकताका साथ गर्ने उनले बताए ।