२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

मुलुकमा धर्मनिरपेक्षता लादेर संस्कृति मेटिदैछ : दिपक बोहरा

शनिवार , फाल्गुण १५, २०७७

भैरहवा, १५ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दिपक बोहराले मुलुकमा धर्मनिरपेक्षतालाई लादेर संस्कृति मेटिदै गएको बताएका छन् । उनले पैसाको लालचमा धर्म परिवर्तन भइरहेको बताए ।

राप्रपा रुपन्देही क्षेत्र नम्बर ४ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई शनिबार कोटहीमाई गाउँपालिका–७ परसहवामा सम्बोधन गर्दै बोहराले अहिलेको कानूनमा धर्म परिवर्तन गराउनु बर्जित र दण्डनीय भए पनि त्यस्तो कार्यमा लाग्नेलाई कारवाही नभएको बताए । ‘कति मस्जिद टुट्यो, कति मन्दिर टुटे, कति गुम्बा टुटे, तर आजसम्म एकजनालाई पनि कारवाही भएन, ’उनले भने ।  हिन्दु मुस्लिम मिलेर बस्दै आएको र दुई समुदायबीच कुनै द्वन्द्व नभए पनि आजको अवस्थामा द्वन्द्व सिर्जना गर्ने प्रयास गरिएको उनले बताए । हिन्दु राष्ट्र कायम हुनुपर्ने उनले बताए । 

‘विश्वमा एक मात्र हिन्दु राष्ट्र नेपाल भन्न पनि गर्व हुन्थ्यो, विश्वमै यसले एउटा पहिचान दिलाउँथ्यो, त्यसैले हाम्रो संस्कृति र सभ्यताको संरक्षण गर्नुपर्छ,’ बोहराले भने । धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र आवश्यक रहेको उनले बताए । जनता र राप्रपाको माग अगाडी बढाउने उनको भनाइ छ ।

पूर्वमन्त्री समेत रहेका बोहराले भने, ‘हामीलाई राजतन्त्र चाहिन्छ, सक्रिय राजतन्त्र होइन, आंलकारिक राजाको रुपमा चाहिन्छ,, सांस्कृतिक राजाको रुपमा चाहिन्छ ताकि हाम्रो देशमा राजा रहुन् ।’

मर्चवारप्रति आफ्नो लगाव रहेको र मर्चवारमा केही समस्या पर्दा सहयोग गर्न तयार रहेको उनले बताए । ‘राजनीति आफ्नो ठाउँमा छ, विकास निर्माण कार्यमा यहाँ उभिन्छु, मर्चवारको विकासमा मेरो योगदान रहनेछ, बोहराले भने । मर्चवारमा शिक्षा, सडक, सिंचाईको समस्या रहेको उनले बताए । शिक्षालाई विशेष जोड दिनुपर्ने बोहराको भनाइ छ ।

राजनीति अलगअलग भए पनि मर्चवारको विकासको लागि पुरा तागतका साथ लाग्ने उनले बताए । ‘मलाई गर्व छ, खुशी छ, करिब ६ सय जना राप्रपामा प्रवेश गर्नुभएको छ, जसमा अधिकांश युवा नै हुनुहुन्छ, ’बोहराले भने । युवाप्रति आफुलाई भरोसा भएको र युवाले नै यहाँसम्म पुर्‍याएको उनको भनाइ छ । युवाले आंटेका कुरा पुरा हुने उनले बताए ।

उनले प्रदेश ५ को स्थायी राजधानी रुपन्देहीलाई बनाउन आफुले अडान लिएको बताए । ‘म सरकारमा हुँदा प्रदेशको राजधानीको कुरा भयो, मैले संसद् अवरुद्ध गरेर राजधानी सार्ने विषयमा आपत्ति जनाए, तर नेकपा नेतृत्वको सरकारले राजधानी दाङको भालुवाङमा सार्यो, म अहिले सरकारमा छैन, बोहराले भने । नेकपाको भरोसा नगर्न उनले आग्रह समेत गरे । राप्रपा सरकारमा गएको अवस्थामा प्रदेशको राजधानी रुपन्देहीमा फर्काउन सक्दो प्रयास गर्ने उनको भनाइ छ ।IMG_3709.JPG

हिन्दु राष्ट्र कायम गराएरै छाड्छौं : निरञ्जन थापा

भेलालाई सम्बोधन गर्दै राप्रपाका केन्द्रीय कार्यसम्पादन समिति सदस्य निरञ्जन थापाले हिन्दु राष्ट्र कायम गराएरै छाड्ने बताए । उनले राजा हटाएर हिन्दु राष्ट्र खारेज गरिएको र १७ हजार नागरिकको ज्यान जानु दुःखद भएको बताए । ‘मर्चवारवासीले भारी मतले मलाई र दिपक बोहरालाई जिताउनुभयो, मर्चवारमा सिंचाइको ठूलो समस्या थियो, त्यसको समाधानको लागि काम ग¥यौं, मर्चवारवासीले हामीलाई सदैव याद गर्नेछ, उनले भने । पूर्व गृहमन्त्री समेत रहेका नेता थापाले मुलुकमा हिन्दु राष्ट्र, राजसंस्था, शान्ति र सुरक्षा कायम गर्नुपर्ने बताए ।

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति सदस्य कैलाश गुरुङले राप्रपा गाउँगाउँ र टोलटोलमा आइसकेको बताए । उनले सनातन हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र राप्रपाको मुद्दा रहेको बताए । उनले राप्रपालाई जिताउन आग्रह गरे । 

पार्टीका केन्द्रीय कार्यसम्पादन समिति सदस्य ताहिर अलिले राप्रपाले निरन्तर हिन्दु राष्ट्रको माग गर्दै आएको बताए । उनले धर्मनिरक्षेपता घोषणा गरिए पनि मुस्लिम समुदायले महान पर्वमा समेत विदा नपाएको बताए । उनले मुलुकको पहिचानको लागि हिन्दु राष्ट्र कायम गर्नुपर्नेमा जोड दिए ।

राप्रपा रुपन्देहीका अध्यक्ष तथा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख सागर प्रताप राणाले आफ्नो लागि मर्चवार नयाँ नभएको बताए । उनले राप्रपाको विकल्प नभएको दावी गरे ।

राप्रपा कपिलवस्तुका अध्यक्ष नारायण सिंहले मधेशको नाममा खुलेका पार्टीहरुले मधेश नाम नै हटाएको बताए । उनले जनताले अब पार्टीहरुलाई चिन्न आवश्यक रहेको बताए । राप्रपा रुपन्देही जिल्ला सदस्य सब्बिर अलि पठानले धर्म निरक्षेपता कसैले माग नगरेको बताए । उनले हिन्दु राष्ट्र हटाएर पहिचान मेटाउन काम गरिएको बताए ।

पार्टीका रुपन्देही जिल्ला सदस्य वाजिद अलि देवानले राजसंस्थाबाट देशको विकास हुने दावी गरे । पार्टीका नेता विरेन्द्र जैसवालले कोरोनाको नाममा स्थानीय तहमा भ्रष्टाचार भएको बताए ।

राप्रपाका नेता मोहम्मद सलिम देवान (भोला देवान)ले मर्चवार क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरु मन्त्री बने पनि मर्चवारको विकासको लागि काम गर्न नसकेको बताए । उनले ८४ प्रतिशत बढी हिन्दु भएका मुलुकमा हिन्दु राष्ट्र कायम गर्नुपर्ने बताए ।

राप्रपा रुपन्देही क्षेत्र नम्बर ४ का कार्यवाहक अध्यक्ष सद्दाम हुसैन शाहको अध्यक्षता, पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताको स्वागत तथा युवा नेताद्वय शंकर खत्री र प्रेम नारायण चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा तत्कालिन राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा)का केन्द्रीय सदस्य अहमद्दीन खानसहित ६ सय जना राप्रपामा प्रवेश गरेको पार्टीले जनाएको छ । IMG_3692.JPGउनीहरुलाई पार्टीका वरिष्ठ नेता दिपक बोहरा, केन्द्रीय कार्यसम्पादन समिति सदस्य निरञ्जन थापा, ताहिर अलि लगायतले पार्टीमा प्रवेश गराएका थिए ।