
बिहिवार , श्रावण ३, २०८१
भैरहवा, ३ साउन ।
रुपन्देहीमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी १०७ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष (आ.व.) २०८०/०८१ मा (२०८० साउनदेखि २०८१ असारसम्म) को अवधिमा उक्त मानवीय क्षति भएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्याम बहादुर खत्रीले एक वर्षको अवधिमा रुपन्देहीमा २५० वटा सवारी दुर्घटना भएको जानकारी दिए । उनका अनुसार आ.व. २०७९/०८० मा सवारी दुर्घटनामा परी १०९ जनाको मृत्यु भएको थियो।
आ.व. २०८०/०८१ मा २५० वटा सवारी दुर्घटना भएका छन् भने आ.व.२०७९/०८० मा २२२ वटा सवारी दुर्घटना भएका थिए । यो तथ्यांक अनुसार जिल्लामा गत वर्षको आर्थिक वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटना बढेको छ ।
त्यस्तै एक वर्षको अवधिमा जिल्लामा सवारी दुर्घटनामा परी १९३ जना गम्भिर घाइते र १३५ जना सामान्य घाइते भएका छन् । आ.व. २०७९/०८० मा सवारी दुर्घटनामा परी १८० जना गम्भिर घाइते र ९० जना सामान्य घाइते भएका थिए ।
त्यसै गरी आ.व. २०८०/०८१ मा सवारी दुर्घटनामा परी ८ वटा पशु चौपायको मृत्यु भएको छ भने २ वटा चौपाय घाइते भएका छन् । एसपी खत्रीका अनुसार आ.व. २०७९/०८० मा सवारी दुर्घटनामा परी ४ वटा पशु चौपायको मृत्यु भएको थियो ।
त्यस्तै एक वर्षको अवधिमा लुम्बिनी प्रदेशमा सवारी दुर्घटनामा परी ५ सय जनाको मृत्यु भएको उनले जानकारी दिए ।
सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक बजिर सिंह बिष्टले बताए ।
लुम्बिनी ट्रक यातायात व्यवसायी संघका महासचिव रुमाखर गौतमले सवारी दुर्घटना हुँदा ठूलो धनजनको क्षति हुँदै आएको बताए । उनले भने, ‘सडकको अवस्थाका कारण पनि सवारी दुर्घटना हुँदै आइरहेको छ ।’
सडक लेन अनुशासन पालना नगर्ने, तीव्र गतिमा सवारीसाधन चलाउने, मादक पदार्थ (मापसे) सेवन गरेर सवारी चलाउने, सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्ने, जथाभावी बाटो काट्नेलगायतका कारणले सवारी दुर्घटना हुने गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij