भैरहवा, १८ फागुन ।
रुपन्देही जिल्लामा सञ्चालित ३८ हजार ४ सय ३ प्रतिष्ठानहरुमध्ये २० हजार ३ सय ६९ अर्थात ५३ दशमलव १ प्रतिशत प्रतिष्ठान सरकारी निकायमा दर्ता भएको राष्ट्रिय आर्थिक गणना २०७५ ले तथ्यांक सार्वजनिक गरेको छ । त्यस्तै जिल्लामा कुनै पनि सरकारी निकायमा दर्ता नभएका प्रतिष्ठानको संख्या १८ हजार ३१ अर्थात ४६ दशमलव ९ रहेको छ ।
रुपन्देहीमा सञ्चालित प्रतिष्ठानमा १ लाख ३४ हजार ७ सय ७२ जना जनशक्ति कार्यरत रहेको र जसमध्ये ९४ हजार ३ सय ५७ अर्थात ७० प्रतिशत पुरुष तथा ४० हजार ४ सय १५ अर्थात ३० प्रतिशत रहेका छन् ।
तथ्यांक कार्यालय कपिलवस्तुले सोमबार भैरहवामा आयोजना गरेको राष्ट्रिय आर्थिक गणना २०७५ नतिजा सार्वजनिक गोष्ठीमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।
राष्ट्रिय आर्थिक गणना अनुसार नेपालमा सञ्चालित प्रतिष्ठानहरुको संख्या ९ लाख २३ हजार ३ सय ५६ रहेको छ । जसमध्ये सरकारी निकायमा दर्ता भएका ४ लाख ६२ हजार ६ सय ५ अर्थात ५० दशमलव १ प्रतिशत र दर्ता नभएका ४ लाख ६० हजार ४ सय २२ अर्थात ४९ दशमलव ९ प्रतिशत रहेको छ ।
त्यस्तै लुम्बिनी प्रदेशमा सञ्चालित प्रतिष्ठानहरुको संख्या १ लाख ४७ हजार ७ सय ८९ रहेको तथ्यांक सार्वजनिक गरिएको छ । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी प्रतिष्ठान रुपन्देहीमा रहेको तथ्यांक कार्यालयले जनाएको छ । प्रदेशमा बढी प्रतिष्ठान हुने पाँच जिल्लामध्ये रुपन्देहीमा ३८ हजार ४ सय ३ (२५ दशमलव ९९ प्रतिशत), बाँकेमा १८ हजार ६ सय ६६ (१२ दशमलव ६३ प्रतिशत), बर्दियामा १४ हजार ४ सय २१ (१० दशमलव ८ प्रतिशत), दाङमा १४ हजार ४ सय २१ (९ दशमलव ७६ प्रतिशत) र कपिलवस्तुुमा १३ हजार ६ सय ७ (८ दशमलव २१ प्रतिशत) रहेको तथ्यांक कार्यालय कपिलवस्तुका तथ्यांक अधिकृत नन्दलाल कुर्मीले बताए । पूर्वी रुकुममा प्रदेशकै सबैभन्दा कम १ हजार २० अर्थात शुन्य दशमलव ६९ प्रतिशत प्रतिष्ठान सञ्चालनमा रहेको कुर्मीले जानकारी दिए ।
रुपन्देहीका स्थानीय तहहरुमध्ये सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा प्रतिष्ठान सञ्चालित छन् । बुटवल उपमहानगरपालिकामा १० हजार १ सय ४२ अर्थात २६ दशमलव ४ प्रतिशत, तिलोत्तमामा ५ हजार १ सय ६३, सिद्धार्थनगरमा ४ हजार ४ सय ६७, सैनामैनामा २ हजार ४ सय २८, देवदहमा २ हजार १ सय ७१ र लुम्बिनी सांस्कृतिक नगरपालिकामा १ हजार ९ सय ५८ प्रतिष्ठान सञ्चालनमा छन् ।
त्यस्तै मायादेवीमा १ हजार ७ सय ४०, ओमसतियामा १ हजार ४ सय १५, शुद्धोधनमा १ हजार ३ सय ६, सियारीमा १ हजार २ सय ९०, गैडहवामा १ हजार १ सय ८१, कञ्चनमा १ हजार १ सय ६९, सम्मरीमाईमा १ हजार १ सय ४८, रोहिणीमा १ हजार १ सय २६, कोटहीमाईमा ९ सय ५४ र मर्चवारीमा ७ सय ४५ प्रतिष्ठान सञ्चालनमा छन् ।
त्यस्तै रुपन्देहीमा सञ्चालित प्रतिष्ठानमध्ये १ सय जना भन्दा बढी जनशक्ति संलग्न रहेको प्रतिष्ठानको संख्या ९८ रहेको छ । त्यसै गरी २३ हजार २ सय ३० अर्थात ६० दशमलव ४९ प्रतिशत थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकल मर्मत अन्तर्गत रहेको तथ्यांकमा उल्लेख छ ।
आर्थिक गणना अनुसार रुपन्देहीमा १६ हजार ८ सय अर्थात ४३ दशमलव ७५ प्रतिशत प्रतिष्ठान आफै बसोबास गर्ने घरमा नै सञ्चालनमा छन् । त्यस्तै जिल्लामा २० हजार ९ सय ६९ अर्थात ५५ दशमलव ७१ प्रतिशतले कारोबारको स्रेस्ता राख्ने गरेको र १६ हजार ६ सय ६२ अर्थात ४४ दशमलव ४२ प्रतिशत प्रतिष्ठानले लेखास्रेता राख्ने गरेका छैनन् ।
त्यसै गरी लुम्बिनी प्रदेशमा एउटा प्रतिष्ठानमा औसतमा ३ दशमलव २ र रुपन्देहीमा औसतमा ३ दशमलव ५ जना जनशक्ति कार्यरत छन् । आर्थिक गणना अनुसार रुपन्देहीको प्रतिष्ठान घनत्व २८ प्रति वर्गकिलोमिटर र नेपालको प्रतिष्ठान घनत्व ६ दशमलव ३ प्रति वर्गकिलोमिटर रहेको छ ।
आर्थिक तथ्यांकको आधारका रुपमा विभिन्न प्रकारका उद्योग, व्यवसाय, संघ–संस्था लगायत प्रतिष्ठानहरु (आर्थिक इकाइहरु)को विवरण संकलन गर्ने उद्देश्यले केन्द्रीय तथ्यांक विभागले २०७५ वैशाख १ देखि जेठ ३१ गतेसम्म नेपालको प्रथम राष्ट्रिय आर्थिक गणना सञ्चालन गरेको थियो । गणनामा कागजी प्रश्नावली फारमका साथै अनलाइन सर्वेक्षणमार्फत उत्तरदाताले आफ्नो प्रतिष्ठानको विवरण आफै भर्न सक्ने र गणकमार्फत ट्वावलेट कम्प्युटर प्रयोग गरी गणना गर्न सक्ने विधि अपनाइएको थियो ।
कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले पहिलो आर्थिक गणनामा केही कमीकमजोरी भए पनि आगामी दिनमा पनि यसलाई परिस्कृत गर्दै लैजानुपर्ने बताए । जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले आर्थिक गणनाको तथ्यांक पूर्ण नभए पनि आगामी दिनमा थप मिहिनेत गर्नुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले गणना अध्ययन गर्न लायक रहेको बताए । उनले आगामी दिनमा तथ्यांक कार्यालय र निजी क्षेत्रबीच अन्तरक्रिया र छलफल गर्नुपर्ने बताए ।