२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लायन्स चर्चा–२

लायन्सलाई चिट्ठी : शुल्क भुक्तान भए मात्र सदस्यता अस्तित्वमा रहन्छ

आइतवार , भाद्र २, २०८१

लायन्सजन नमस्कार ! एक बृहत संगठन अन्तर्राष्ट्रिय लायन्समा जोडिनुभएका एवं जोडिन इच्छुक तपाईलाई यो चिट्ठी लेखेको छु । यसमा सल्लाह–सुझाव दिनुका साथै अन्य इच्छुकलाई पनि पठाउन पनि सक्नुहुन्छ ।

अनलाइनबाट पठाएको छु हुलाकीबाट चिट्ठी पठाउन खोजेन, यसकालागि अनलाइन पत्रिका (मिडिया) ‘खबरपात्रो डटकम’लाई रोजेँ । यसलाई फलो गरेमा लायन्सका यस्तै चिट्ठी तपाईँको हातमा पुगिरहनेछ । चिट्ठी छोटो छ । जम्मा ६ सय शब्दहरु भित्र समेट्ने प्रयास गरेको छु ।

चिट्ठीको सन्देश

प्रिय लायन्स दाजुभाइ दिदीबहिनीहरु,
यो पंक्तिकार पनि सन् २००९ बाट अन्तर्राष्ट्रिय लायन्सको एक सदस्य हुँ । एक क्लबको पूर्वअध्यक्ष र डिष्ट्रिक ३२५ पी को क्याबिनेटमा पनि छु । स्वयं अनुभव गरेका र अरुका अनुभव सुनेका आधारमा केही कुरा साझा गर्न चाहन्छु । यो चिट्ठीमा लायन्स प्रवेशबारे मात्र केही प्रसंग राख्न चाहन्छु । यी जानकारी बुझ्न सके लायन्स यात्रामा ब्याकुल हुनुपर्दैन ।

लायन्स मित्र ! तपाईंलाई थाहा नै छ, नेपालको लायन्स यात्राको रेलमा प्रत्येक लायन्स वर्षमा मानौ यात्री जस्तै हजारौ नयाँ सदस्यहरु जोडिन्छन् र हजारौ  बाहिरिन्छन् पनि । यो यथार्थ तथ्यांकले बताउँछ । तपाईं लायन्स संगठनमा जोडिनुभएको छ वा जोडिन चाहनुहुन्छ भने यो चिट्ठीमार्फत केही थप यथार्थ बताउन चाहन्छु ।

aaaa.jpg

लायन्समा जोडिन आमन्त्रण आए के गर्ने ?

तपाईंको कुनै साथीले सदस्यको लागि आमन्त्रण वा प्रस्ताव राखेमा  लायन्समा जोडिने प्रक्रिया बुझ्न जरुरी छ । वित्तीय अनुशासन चाहनेले आर्थिक व्यवस्थापनको पक्षपनि बुझ्न अनिवार्य छ । प्रवेशतथा नवीकरण शुल्क कति लाग्छ ? बेलाबेलामा कार्यक्रम सहभागीताको खर्च कस्तो हुन्छ ? अन्य खर्च के कति हुन्छ ? किनकी लायन्स लगायत यस प्रकृतिका कुनै पनि अन्तर्राष्ट्रिय संघ–संस्थाहरुमा सदस्यता शुल्क भुक्तान भएमात्र तपाईँको सदस्यता अस्तित्वमा रहन्छ । पछिल्लो समय हेर्दा नेतृत्वमा अगाडि बढ्न आर्थिक योगदानको क्षमता एक महत्वपूर्ण पक्ष मानिन्छ । लायन्समा जोडिन आमन्त्रण आएमा यी जिज्ञासा पनि राख्नुहोला । यसो गर्दा संगठनबाट कहिल्यै पछि हट्नुपर्दैन र स्थायीत्व पनि रहन्छ ।

लायन्समा कसरी जोडिनुभयो ?

लायन्सको मूल मन्त्र भनेकै ‘हामी सेवा गर्छौं’ हो । संगठनको यो पवित्र सेवामूलक गतिविधिबाट प्रभावित भएर जोडिनुभएको हो ? वा संगठनमा फेलोशिपबाट मनोरञ्जन प्राप्त गर्नका निम्ति मात्र जोडिनुभएको हो ? साथीभाइहरू लायन्स भएकाले उनको प्रस्तावलाई हार्न नसकेर हो कि ? वा साथीभाइहरुले सदस्यता शुल्क सौजन्य गरिदिएर लहैलहैमा सदस्य बन्नुभएको त हैन ? आफ्नो पेशा–व्यवसाय अभिवृद्धिका लागि ठूलो संगति खोज्न जोडिनुभएको हो कि ? लियो भएर लायन्स बन्नु भएको हो कि ? यसबाहेक अरु कारण पनि हुनसक्छ ।

अझ बेलाबेलामा चुनावी प्रतिष्पर्धामा प्रस्तावित क्लबहरुमा शुल्क भुक्तान नै नगरी सदस्य बन्ने र नवीकरण हुने अवसर पनि हुन्छ । यसका प्रशस्त उदाहरणहरु पनि छन् । तपाईँलाई कसैले सौजन्य गरेर सदस्य बनाउँछन् भने बन्नुहोस् । बनाउनेलाई धन्यवाद पनि दिनुहोस् । उहाँका कारण लायन्समा जोडिन पाउनुभयो । जे होस् जसरी पनि लायन्समा जोडिनुभएको छ, शुभकामना । यो  खुशीको सन्दर्भ हो । विवेकशील हुन् भने त्यतिकै जरुरी छ । समयको व्यवस्थापन महत्वपूर्ण पक्षहो ।

अन्तमा धेरैले अनुभूत गरेको अर्को जीवनजिउने कलाको महत्वपूर्ण पक्षहो समय व्यवस्थापन। समय व्यवस्थापन हुन सकेन भने घर, परिवार र पेशामा अप्ठ्यारो पर्न सक्छ । लायन्स नेतृत्वमा आउन इच्छुकले समय व्यवस्थापन गर्न अति आवश्यक छ, आफ्नो अनुकुलतामा छ वा छैन ? आफ्नो समय अनुकुल मात्र कहिलेकाही सहभागी हुने सदस्यलाई सजिलो छ । तर, संगठनको नेतृत्व लिने इच्छुकलाई भने समय व्यवस्थापनको महत्व छ । लायन्सभित्र गजबको संस्कृति छ । संस्कृतिसँगै विकृति पनि हुन्छन् । बुझ्न जरुरी छ, चर्चा छलफल गर्न सकिन्छ । सबै लिडरहरु मैत्री गुणका हुँदैनन् । सेवामा मंगल मैत्री अनिवार्य पक्ष हो ।

आफू, घरपरिवार, रुची,पेशा, स्वास्थ्य सबल हुँदै क्लबमा जोडिँदा मात्र एक असल संस्कारयुक्त लायन्स लिडर बन्न सकिन्छ । अब चिट्ठीको ६ सय शब्दहरु पुग्यो, बाँकी अर्को चिट्ठीमा लेख्नेछु । बिदा चाहन्छु ।

[email protected]

९८५७०२४९९९

(लेखक लुम्बिनी प्रेस क्लब, रुपन्देहीका सदस्य पनि हुन् )