२०८३, मंसिर ७ गते

Nov 23 2026 | २०८३, मंसिर ७ गते

आयकर दाखिलामा एशियन बुद्ध होटल प्रथम, तीन करदाता सम्मानित

सोमवार , मंसिर ७, २०८३

  • 403
    Shares
  • 403
    Shares
  • भैरहवा, ७ मंसिर । आर्थिक वर्ष २०८१/०८२ मा आन्तरिक राजस्व कार्यालय भैरहवा अन्तर्गतका करदाताहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने एशियन होटल लिमिटेड (एशियन बुद्ध होटल) सहित तीन करदाता सम्मानित भएका छन् ।

    सिद्धार्थनगर नगरपालिका–८ (भैरहवा) स्थित उक्त होटललाई सोमबार भैरहवामा आयोजित राष्ट्रिय कर दिवस–२०८३ को अवसरमा कर सप्ताह समापन तथा करदाता सम्मान समारोहमा सम्मान-पत्रसहित सम्मान गरिएको हो ।

    सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामध्ये एशियन होटल लिमिटेड प्रथम भएको छ । त्यस्तै सिद्धार्थनगर नगरपालिका–६ स्थित अम्बे इन्टरनेशनल दोस्रो र सियारी गाउँपालिका–२ स्थित एस.आर. आयल सप्लायर्स तेस्रो भएका छन् ।

    3.jpg

    कार्यक्रममा प्रमुख अतिथि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले सम्मानित तीनवटै व्यवसायिक प्रतिष्ठानका सञ्चालकहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले कर प्रणालीलाई अझै सुदृढ गर्न र कसरी बढीभन्दा बढी कर संकलन गर्न सकिन्छ भन्ने मुख्य उद्देश्यका साथ सात दिन विभिन्न कार्यक्रम गरिएको बताउनुभयो । ‘यो कार्यक्रममा यहाँहरुबाट महत्वपूर्ण सुझावहरु पनि प्राप्त भएको छ । यहाँहरुले दिनुभएको सल्लाह–सुझाव पक्कै पनि आन्तरिक राजस्व कार्यालयले ग्रहण गरेको छ र त्यसलाई आगामी दिनमा अझै परिस्कृत रुपमा व्यवस्थापकीय काम, प्रविधिमा सुधार, करमैत्री वातावरण निर्माणलगायत सबै कुरामा आफूलाई परिवर्तित र परिमार्जित गर्छ भन्ने कुरामा मैले विश्वास लिएको छु, ’उहाँले भन्नुभयो ।

    कर तिर्नु कानूनी दायित्व मात्र नभइ यो राष्ट्रप्रतिको दायित्व र जिम्मेवारी पनि भएको उहाँले उल्लेख गर्नुभयो । ‘हामीले तिरेको करले मुलुकको समग्र विकासमा योगदान पुगेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास, सामाजिक सुरक्षा लगायत विषयहरुका लागि कर मुख्य आधार हो, ’उहाँले भन्नुभयो ।

    विगतमा दिनमा धेरै सुधार भएको र अझ सुधार गर्नुपर्ने आवश्यकता रहेकोमा उहाँले जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी अर्यालले करको दायरा अझै फराकिलो हुन नसकेको बताउनुभयो । अझै पनि कर तिर्न पाए हुन्थ्यो भन्ने भावना जाग्न नसकेको उहाँले बताउनुभयो । बीलबिजक लिनदिने परिपाटीको अझै पनि विकास हुन नसकेको उहाँले बताउनुभयो ।

    त्यस्तै आन्तरिक राजस्व कार्यालय, भैरहवाका प्रमुख कर अधिकृत डोलिन्द्र प्रसाद शर्माले वि.सं. २०७९ सालदेखि राष्ट्रव्यापी रुपमा कर दिवस मनाउन लागिएको बताउनुभयो । कर दिवसलाई सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाउँदै आएको बताउनुभयो । आर्थिक वर्ष २०८२/०८३ मा आन्तरिक राजस्व कार्यालय, भैरहवालाई १६ अर्ब ९२ करोड राजस्व संकलन लक्ष्य दिइएकोमा कार्यालयले १९ अर्ब १९ करोड राजस्व संकलन गर्न सफल भएको जानकारी दिनुभयो । कार्यालयले लक्ष्यभन्दा १३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको उहाँको भनाइ छ । यस कार्यमा सहयोग गर्ने सम्पूर्ण करदाताप्रति उहाँले आभार व्यक्त गर्नुभयो । चालु आर्थिक वर्षमा कार्यालयले करिब २५ अर्ब राजस्व संलकनको लक्ष्य पाएको उहाँले जानकारी दिनुभयो ।

    2.jpg

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले निजी क्षेत्रलाई राज्यले सम्मान गर्दा खुसी लागेको बताउनुभयो । उहाँले आज सम्मानित तीनवटै व्यवसायिक प्रतिष्ठान सिद्धार्थ उद्योग वाणिज्य संघको कर्पोरेट सदस्यहरु भएको बताउनुभयो । ‘हिजोको दिनमा कर प्रशासन भन्नेबित्तिकै व्यवसायी डराउने अवस्था थियो । तर, अहिले त्यस्तो छैन । आज निजी क्षेत्र र कर प्रशासनबीच कसरी धेरै राजस्व संकलन हुन्छ भन्ने विषयमा निरन्तर छलफल भइरहेको छ, ’उहाँले भन्नुभयो

    नेपाल अडिटर्स एशोसियसन (अडान) रुपन्देहीका अध्यक्ष राम प्रसाद पौडेलले वर्तमान अवस्थामा कर प्रशासन सुध्रिनुका साथै परिमार्जित भएको बताउनुभयो ।

    सम्मानित करदाताकोतर्फबाट बोल्नुहुँदै एशियन होटल लिमिटेड (एशियन बुद्ध होटल) का सञ्चालक तिलकराम घिमिरेले कर भुक्तानी केवल राज्यप्रतिको कानुनी दायित्व मात्र नभइ राष्ट्र निर्माण, आर्थिक सुशासन, विकास तथा समृद्धिमा निजी क्षेत्रले निर्वाह गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी पनि रहेको बताउनुभयो । ‘राज्यको राजस्व अभिवृद्धि तथा समग्र आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहँदै आएको  छ । यसै मान्यतालाई आत्मसात् गर्दै हाम्रो संस्था आफ्नो व्यवसायिक गतिविधि सञ्चालनका क्रममा करसम्बन्धी प्रचलित ऐन, नियम तथा कानूनी व्यवस्थाहरूको पूर्ण पालना गर्न सदैव प्रतिबद्ध रहँदै आएको छौं, ’उहाँले भन्नुभयो ।

    उहाँले आगामी दिनमा पनि राज्यका प्रचलित ऐन, नियम तथा करसम्बन्धी व्यवस्थाहरूको पूर्ण पालना गर्दै समयमै कर दायित्व पूरा गर्ने र देशको आर्थिक तथा सामाजिक विकासमा आफ्नोतर्फबाट निरन्तर योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । आर्थिक वर्ष २०८१/८२ का लागि एशियन होटल लिमिटेड (एशियन बुद्ध होटल) लाई ठूला करदाताका रूपमा छनोट गरी सम्मानित गरेकोमा आन्तरिक राजस्व कार्यालय, भैरहवाप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

    आन्तरिक राजस्व कार्यालय भैरहवाका कर अधिकृत नरेश पन्थीको स्वागत तथा कर अधिकृत श्रीराज गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।