२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सावधान ! तपाईलाई कसैले हेरिरहेको त छैन ?

आइतवार , भाद्र २, २०८१

आदिमकालमा मान्छेले दुईवटा ढुंगा ठोकेर आगो बाल्न सुरु गरेदेखि समाजमा मान्छेको सहजताको लागि उपकरणहरुको विकास हुन लागेको हो । आदिम समाजवादी युगमा मान्छेले आगो बाल्न नसिकेको भए मान्छेले घाँस, मासु लगायत काँचै खाने थियो कि थिएन ? आदिमकालमा मान्छेले त्यो नसिकेको भए आगोको विकास हुँदैनथ्यो । त्यो समाजमा विकासको प्रारम्भिक चरण थियो । 

आगोको विकास त भयो । तर, मानिसको लापरवाही र अपराधिक उद्देश्यले अहिले पनि समाजमा वर्षेनी आगो लागेर मानिसको मृत्यु त भएकै छ । आगोले मृत्यु भयो भन्दैमा आगोलाई गाली गर्नुको कुनै तुक छैन । कसैले त्यसो गरे केवल पागलपन हुनेछ ।

संसार र संसारभित्र रहेको करोडौं समाजभित्र पछिल्लो समय सूचना प्रविधिले विकासमा सनसनी मच्चाइरहेको छ । आर्टिफिशियल इन्टलिजेन्श अर्थात एआईको विकास भएको छ । एआईले समाजमा प्रगतिशील रुपमा योगदान गर्नेछ । धेरै कुरा मानिसको लागी सहज बनाउने छ । तर, तपाईको सूचना बाहिरिदा एआईबाट तपाईका ती व्यक्तिगत डेटाको प्रयोग गरी दुरुपयोग होला कि नहोला ?

आगोसँगको लापरवाही अथवा अपराधिक उद्देश्यले आगोबाट तपाईको घर जलाएझै इन्टरनेटको प्रयोग गर्दा तपाईको व्यक्तिगत डेटा बाहिरियो भने तपाईको निजी जीवनमा कति असर पर्ला ?

उदाहरणका लागि मैले एआईको सफ्टवेरमा गएर कुनै मान्छेको विवरण राखेर, फोटो अडियो भिडियोको प्रयोग गरी हुबहु फेक भिडियो उसले केही गरेको बोलेको बनाउन सक्छु कि सक्दैन ?

सन् २०२० मा उत्तर कोरियाको राष्ट्रपति किम जोङ उनको एउटा भिडियो जसमा उनले डेमोक्रेसीको बारे बोलेको सन्दर्भको भिडियो भाइरल भएको थियो । उक्त भिडियोमै यो भिडियो फेक हो भनिएको थियो । अमेरिकी गैरसरकारी संस्था रिप्रिजेन्टसले उक्त भिडियो फ्ल्यास आउट गरेको थियो ।

मानौं यसरी फेक भिडियो हाम्रो बन्यो भने र बनाउनेले फेक हो पनि भनेन भने ? भारतको सिनेमा क्षेत्र (बलिउड) मा विभिन्न कलाकारहरुको फेक भिडियो, फोटो बनाएर सामाजिक सञ्जालमा भाइरल गराइरहेकोबारे कुराहरु आइरहेकै हुन्छ ।

भारतिय चर्चित कलाकारहरु रश्मिका मन्दना, अमिर खान, रणविर सिंह, काजोल देगवन लगायतले प्रहरीमा एआईमार्फत फेक भिडियो निर्माण भएको भन्दै उजुरी गरेको खबर भारतीय सञ्चारमाध्यममा आएको थियो । यी कलाकारको सामाजिक सञ्जालमा आएका फोटो, भिडियो र अडियोको दुरुपयोग गरी एआइमार्फत फेक भिडियो निर्माण गरिएको उजुरीमा लेखिएको भारतीय मिडिया एनडिटिभीमा उल्लेख छ ।

मेरो मुल मुद्दा एआई सम्बन्धमा हुँदै होइन । एआईको विकासले मानव विकासको लागि प्रगतिशिल भूमिका निर्वाह गर्नेछ । तर, मुख्य मुद्दा हाम्रो गोपनीयताको हो । के इन्टरनेटको दुनियाले अग्रगामी छलाङ मार्दै गर्दा जति मानव जगत यसको लतमा फसेको छ त्यसअनुसार प्रश्न गर्दा ‘के मानव जगतको गोपनियता सुरक्षित छ त ? ’

सन् २०१८ को डिसेम्बर ११ तारिखमा गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाइलाई संयुक्त राज्य अमेरिका हाउस जुडिसियरी कमिटीलाई बोलाए (नेपालको संसदीय समिति जस्तै) ले गुगल प्लेटफर्महरुमा राजनीतिक पक्षधरताको सम्भावना र गुगलमा आबद्ध प्रत्येक व्यक्तिको डेटा सुरक्षा लगायत प्रश्न गरेको थियो ।

यसले के देखाउँछ भने इन्टरनेटको विकाससँगै हाम्रो कम्प्युटर र मोबाईल सिस्टममा जसरी गुगल, फेसबुक, एक्स, लगायत एपहरु हावी हुँदै गएको छ त्यसले तपाईलाइ प्रत्येक पल हेरेरै बसिरहेको भन्दा फरक पर्ला कि नपर्ला ?

अझै सरल तरिकाले भन्नुपर्दा तपाईको प्रत्येक गतिविधि हेर्न चाहनेले चाहेमा पलभरमै हेर्न सक्छ । कसरी ? यसको उत्तर अझै सरल छ तपाईको लापरवाहीले गर्दा इन्टरनेटले कहिलेकाही यस्तो सूचना हेरिदिन्छ कि तपाईलाइ ऐया समेत भन्न मौका दिदैन ।

कम्प्युटर र मोबाईल उपकरण हो, इन्टरनेट प्रविधि । प्रविधिले डेटा लिन्छ उपकरणबाट उपकरणमा तपाईको डेटा हुन्छ । जस्तै मोबाईल उपकरण हो सिम टेक्नोलोजी । सिमले मोबाईलको टावर (नेपाल टेलिकम, एनसेल) मा पठाउने तपाईको उपकरणको डेटा हो । डेटा के–के हुन सक्छन् पहिला पहिचान गर्न सक्नुपर्छ ।

जस्तै मोबाइल सेवा प्रदायक कम्पनीसँग तपाईको नाम, बुवाको नाम, मोबाईल नम्बर, ईमेल, नागरिकता प्रमाणपत्रको प्रतिलिपि लगायत के–के हुन्छ ? गुगलमा के–के हुन सक्छ ? फेसबुकमा के–के हुन सक्छ ? अब आफैलाई प्रश्न गरौं यो डेटा बाहिरिदा मलाई कति नोक्सान गर्न सक्छ ? के–के नोक्सान गर्न सक्छ ?

अब अन्तिममा प्रश्न गरौं मैले फेसबुकमा अनावश्यक रुपमा बनाउने रिल्सहरुको भिडियो, अडियो प्रयोग गरी तपाईको डिप फेक (फेक एआई भिडियो) बन्ला कि नबन्ला ? । तपाईको फोन नम्बर कस्तालाई दिने त ? गुगलले तपाईको गतिविधि हेरिरहेको त छैन ? के तपाईको कसैले जासुसी गरिरहेको त छैन ? सावधान ! तपाईलाइ कसैले हेरिरहेको त छैन ?

(यो लेख डिजिटल सुरक्षाबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले हो । यो श्रखंलागत रुपमा आउनेछ । यसमा डिजिटल सुरक्षालाई लिएर प्रश्नका साथै सुरक्षाका उपायहरुबारे चर्चा गरिनेछ )