२०८२, कार्तिक ८ गते

Oct 25 2025 | २०८२, कार्तिक ८ गते

जेनजी लगायतका माग सम्बोधन गर्न संसद् पुनःस्थापना गर्नुपर्छ : उपमहासचिव ज्ञवाली

शनिवार , कार्तिक ८, २०८२

  • 526
    Shares
  • 526
    Shares
  • परासी, ८ कात्तिक । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले चुनावको तयारीसँगै एमाले संसद् पुनःस्थापनाको एजेण्डालाई प्राथमिकतामा राखेर अघि बढेको बताउनुभएको छ । नवयुवा पुस्तासहित असन्तुष्ट पक्षका माग सम्बोधन गर्न संसद् पुनःस्थापना नै उत्तम विकल्प रहेको उहाँले जिकिर गर्नुभयो । 

    पश्चिम नवलपरासीको सुनवलमा शनिबार आयोजित कार्यकर्ता भेटघाटमा बोल्दै एमाले नेता ज्ञवालीले फागुन २१ मा तोकिएको चुनाव गराउने पक्षमा सरकार नदेखिएको दावी गर्नुभयो । ‘चुनाव हुने सम्भावना नेकपा एमालेले आजको मितिसम्म देखेको छैन्, पहिलो कुरा चुनाव गराउने सरकारको मनसाय नै देखिदैन्, चुनाव गराउँदा उनीहरुका उद्देश्य पूरा हुँदैनन्, ’उहाँले भन्नुभयो–‘सुरक्षाकर्मीबाट लुटिएको एक हजार बढी हतियार बाहिर छन्, भगाइएका १४ हजार कैदीमध्ये साढे ५ हजार अझै पनि बाहिरै छन्, गम्भीर अपराधमा संलग्न उनीहरुलाई कतिबेला कसले प्रयोग गर्छ, टुंगो छैन्, प्रहरीको मनोबल घटेको छ, यस्तो अवस्थामा चुनाव हुन्छ भनेर कसरी कल्पना गर्ने ?’

    भदौ २३ गतेको घटनालाई आधार बनाएर राजनीतिक दलहरुलाई जसरी पनि फसाउने र २४ गतेको घटनालाई विद्रोहको संज्ञा दिएर उन्मुक्ति दिने सरकारको नियत देखिएकोले चुनाव हुने वातावरण नदेखिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले संसद पुनःस्थापनाका लागि एमालेले दबाबमूलक कार्यक्रमहरु अघि बढाउने बताउँदै विचलित नभइ उच्च मनोबलका साथ अघि बढ्न नेता–कार्यकर्तालाई निर्देशन दिनुभयो । 

    ‘पुनःस्थापित हुने संसदले सर्वदलीय सहमतिको सरकार बनाउने, त्यसले जेनजी लगायतका असन्तुष्ट पक्षसँग वार्ता गर्ने, त्यसको आधारमा संविधान संशोधन गर्ने, आवधिक चुनाव गर्ने र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने, यो कोर्सबाट अघि बढ्दा मुलुकले निकास पाउँछ भन्ने हाम्रो पार्टीको धारण हो, ’उहाँले भन्नुभयो ।

    भदौ २३ र २४ गतेको जेनजी पुस्ताको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गरी योजनाबद्ध रुपमा मुलुकलाई कमजोर बनाउने गरी विध्वंसात्मक गतिविधि गरिएको बताउँदै पूर्वमन्त्री समेत रहनुभएका ज्ञवालीले केही पात्रहरु संविधान र लोकतन्त्र समाप्त पार्ने खेलमा अझै पनि लागिरहेको जिकिर गर्नुभयो । एमालेले महाधिवेशन तोकिसकेकाले अब नेतृत्वको विषयमा महाधिवेशनले नै टुंगो लगाउने उहाँले स्पष्ट पार्नुभयो ।