
शुक्रवार , भाद्र ७, २०८१
प्रिय लायन्सजन नमस्कार
गत चिट्ठी पाउनुभयो होला ?
२०८१ भदौ २ गते एउटा चिट्ठी पठाए । विषय थियो–शुल्क भुक्तान नगरे लायन्सको सदस्यता रहदैन । आज पनि पठाएको छु । विषय छ, लायन्समा सदस्यहरुको ड्रप अर्थात सदस्यता त्यागको तथ्यांकगत चर्चाबारे । चिट्ठी अनलाइन मिडिया ‘खबरपात्रो डट कम’ मा सुरक्षित छ ।
लायन्स सदस्यता छोड्नु वा छोडिनु सामान्य प्रक्रिया हो भनेर भन्न सकिन्छ । छोडिनुलाई नकारात्मक दृष्टि भनेर भाषणको विषय बन्न बनाउन सकिन्छ । तर, सदस्यता त्यागले पार्ने आर्थिक पक्षको क्षति कस्तो हुन्छ होला ? लायन्सको संगठनात्मक क्षमता र नेतृत्वको योग्यतामाथि कस्तो विचार बन्छ होला ? यसको विश्लेषण गर्न आवश्यकता छ । किन हुन्छ सदस्यता त्याग ? कारण के होला ? सदस्यता त्यागको तथ्यांकले के सन्देश दिन्छ ? यसबारे लायन्सका कार्यक्रममा लायन्सका जानकारहरुबाट विचार आउन जरुरी छ । जसकारण सदस्यहरुको समय तथा आर्थिक योगदानको क्षति हुँदैनथ्यो होला ।
एक दशकको तथ्यांकको सन्देश
आदरणीय लायन्सजन, डिष्ट्रिक ३२५ पी विभाजन अगाडिको १० वर्षको तथ्यांक हेरौं । तथ्यांक राख्नुअघि डिष्ट्रिकको विभाजनबारे संक्षिप्त जानकारी राख्न चाहन्छु । नेपालमा १९७१ अगस्ट ९ मा लायन्स क्लब अफ विराटनगर खुल्यो । यो क्लब भारत बिहारको भुगोलमा रहेको डिष्ट्रिक ३०४ इस्ट १ अन्तर्गत थियो । यो पनि विभाजन भएर ३२२ ए बन्यो । नेपाल ३२२ ए अन्तर्गत रह्यो ।
पटनामा कन्भेन्सन भयो लायन्स क्लब अफ काठमाडौंका डा. अन्जनी कुमार शर्मा नेपालका प्रथम गभर्नर बने । त्यतिबेला नेपालमा ७ वटा मात्रै क्लब मात्र थियो । सन् १९८८ मा नेपाल मान्यताप्राप्त पूर्ण डिष्ट्रिक बन्यो । यसको पहिलो गभर्नर मनवीर सिंह पन्थी बने । पन्थीलाई ३२५ को संस्थापक गभर्नर भनेको लायन्स दस्तावेज भेटिदैन । पंक्तिकारको पहुँच भन्दा बाहिर पनि हुन सक्छ । खोज गरौं ।
लायन्समा जोडिने र छोड्नेको तथ्यांक
३२५ ए र बी हुँदै ३२५ बी २ देखि ३२५ पीसम्म नेपालमा १५ वटा डिष्ट्रिक बनेको छ । ३२५ पी का बारेमा चर्चा गर्नुअघि बी २ को तथ्यांक बुझ्न आवश्यक छ । ३२५ बी २ को तथ्यांक हेर्दा सन् २०१२–१३ मा १ हजार ८ जना जोडिए १ हजार ३२ सदस्य छोडिए । ऋणात्मक रह्यो । २०१३–१४ मा १ हजार ९७ सदस्य थपिए । ८ सय ६६ सदस्यले छोडे । धनात्मक रह्यो ।
वर्ष २०१४–१५ मा १ हजार २ सदस्य लायन्समा समर्पित हुँदा ६ सय ६ सदस्य मात्रले लायन्स त्याग गरे । सन् २०१५–१६ मा २ हजार ९ सय ३५ जना आकर्षित हुँदा मात्र ८ सय ४० जना टाढिए। सन् २०१६–१७ प्रारम्भ भयो अर्थात लायन्सको १ शताब्दी पूरा हुँदै थियो । २ हजार १ सय ४३ जना लायन्समा प्रवेश गरे भने १ हजार १ सय ९३ जना बाहिरिन पुगे । सन २०१७–२०१८ मा २ हजार ८ सय ९० जना जोडिदा १ हजार ७ सय १ जना बाहिरिनु सुखद मान्न सकिदैन ।
सन् २०१८–१९ मा १ हजार ५ सय ३४ जना थपिए । तर, १ हजार ७ सय ७६ जना बाहिरिए । सन् १९–२० मा पनि लायन्समा १ हजार ४ सय ५ जना जोडिए भने १ हजार ७ सय ३५ जना लायन्सबाट बाहिरिए ।
देशमा कोभिडको महामारीकाबीच सन् २०२०–२१ मा ६ हजार ३ सय ३७ जना सदस्य लायन्समा जोडिएर नयाँ तथ्यांक कायम भयो । अन्य वर्षको तुलनामा २०५९ सदस्य मात्र बाहिरिएका थिए । २०२०–२१ यो पंक्तिकारका लागि स्मरणीय वर्ष थियो । प्रसंगवश आउने पत्रमा लेख्ने नै छु ।
३२५ बी २ को अन्तिम वर्ष २०२१–२०२२ मा पनि कोभिडको प्रभाव रह्यो । ४ हजार ३ सय १ सदस्यले लायन्स प्रवेश गरे भने १ हजार ९ सय ४८ जना बाहिरिए । ३२५ बी २ को १० वर्षको यात्रामा २४ हजार ७ सय ३२ जना सदस्य थपिए १३ हजार ८ सय १८ ले लायन्स छोडे । २०२२–२३ मा ३२५ बी २ विभाजन भयो । ३२५ पी बन्यो । भुगोलका हिसाबले काठमाडौका केही क्लबसहित ४ जिल्ला मात्र समेटियो ।
२०२२–२३ मा ७ सय ७१ जना सदस्य थपिए । १ हजार ९ सय २१ सदस्य बाहिरिए । २०२३–२४ मा ९ सय ७९ जोडिए भने १ हजार १ सय ७३ जना सदस्य लायन्सबाट बाहिरिए ।
लायन वर्ष २०२४–२५ प्रारम्भ भएको छ । एक कार्यक्रममा यसवर्ष डिष्ट्रिक ३२५ पी को शून्य सदस्य त्याग (जिरो ड्रप) लक्ष्य रहेको सुने, उत्साहित भए । यो पंक्तिकार पनि १५ वर्षदेखि नियमित लायन्स सदस्य हुँ । प्रारम्भिक वातावरण हेर्दा २४–२५ मा अगाडिका २ वर्षको भन्दा सकारात्मक रहने दावी गर्न सकिन्छ । ३२५ पी अन्तर्गत २०२४–२५ जुलाईदेखि यता २ सय ६८ सदस्यहरु जोडिए भने ५४ सदस्यले लायन्स त्यागे ।
सन् २०१९ मा विश्वमा १४ लाख २३ हजार ७२ सदस्य थिए । २०२३ को अन्तमा १३ लाख ४१ हजार ७ सय १० मात्र रहेका छन् । ५ वर्षमा ८१ हजार ३ सय ६२ घटे । संख्या बढ्नुपर्ने किन घटयो ? अन्तराष्ट्रिय लायन्सले आह्वान गरेको १५ लाख सदस्य पुग्ने पुर्याउने लक्ष्यमा लागौं । तर्क विभिन्न हुन सक्छन् ।
संगठनमा जोडिएर, छोडने छोडाउने नगरौं । यसको मुख्य क्षति आफ्नो समय र पैसा योगदान गर्नेलाई हुन्छ । यो ब्याकुलतातर्फ लम्किने मार्ग हो । त्यसैले बुझेर लायन्स बनौं, बुझाएर लायन्स बनाऔं । यो नै स्थायित्व हुन्छ ।
पुनः अर्को चिट्ठीमा भेट गर्नेछु । हामी सबैको मंगल होस् ।
(लेखक लुम्बिनी प्रेस क्लब, रुपन्देहीका सदस्य समेत हुन् ।)
सामग्री श्रोत–लायन्सका वेबसाइट तथा विभिन्न स्मारिका, पुस्तक, मन्तव्य)
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij