
मंगलवार , भाद्र ११, २०८१
पाल्पा, ११ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासका लागि ऐतिहासिक धरोहर तथा परम्परालाई सन्तुलित र समुचित विकासको लागि जोड्दै पर्यटन सर्किट बनाउन योजना बनाएको बताएका छन् । प्रदेशभित्रका १२ जिल्ला हिमाल, पहाड र तराइ जोड्नेगरी पर्यटन सर्किटको विकास गर्ने सरकारले तयारी गरेको बताएका हुन् ।
पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्राको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले सबै समुदाय विशेषले मनाउने चाडपर्व, रीतिरिवाज, परम्परा, धार्मिक मान्यताहरुलाई बराबर सम्मान गर्ने बताएका छन् ।
‘सामाजिक रुपान्तरणका साथै जागरण र चेतना वृद्धिमा मौलिक परम्पराहरुको आ–आफ्नै भूमिका छन् । समाज विकाससँग यी परम्परा जोडिएका छन् । उनले भनेका छन्,‘प्रदेश सरकारले धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक स्थल तथा परम्परालाई समृद्धिसँग जोड्न चाहन्छ ।’
मंगलबार (आज) पाल्पामा भगवती रथ जात्राको निस्कदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको विशेष उपस्थितिमा जात्रा निकाल्न थालिएको हो । २०५ औं विजयोत्सव एवं भगवती रथ जात्रा राष्ट्रपति पौडेलले अवलोकन गर्ने कार्यक्रम छ ।
पाल्पाको तानसेनस्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथ यात्रा हुने गरेको छ । लुम्बिनी प्रदेश सरकारले भगवती जात्राको दिन पाल्पा जिल्लामा सार्वजनिक विदा समेत दिएको छ । नेपालले अंग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसीयालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको अर्काे दिन धुमधामका साथ विजय उत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने प्रचलन रहदै आएको छ ।
विश्वको भु–भागलाई आफ्नो मुठ्ठीमा कब्जा गरेको ब्रिटिश सम्राज्यवादलाई समेत नेपालले पराजित गरेको सम्झनामा पाल्पामा विजय उत्सव स्वरुप सो जात्रा निकालिदै आएको छ । तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठुलो पर्व र जात्राको रुपमा परिचित छ ।
कर्णेल उजीर सिंह थापाले वि.सं. १८७६ मा निर्माण गरेको रथलाई नै हालसम्म विजय जात्राको रुपमा सञ्चालन गरिदै आइएको छ । ‘धार्मिक तथा साँस्कृतिक परम्पराहरुले समुदायमा एकताको भावनाको विकास गराउँछन् । विभिन्न जात, धर्म र समुदायका मानिसहरुमा एउटै परम्परामा सहभागी हुन्छन्, उनीहरुबीचको सहकार्य र भाइचाराको सम्बन्ध अझ प्रगाढ हुन्छ’सन्देशमा भनिएको छ,‘धार्मिक र साँस्कृतिक परम्पराहरुले हाम्रा पुराना रीतिरिवाज, परम्परा, धार्मिक मान्यताहरुलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न मद्दत गर्दै आएका छन् ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij