२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

महिला अधिकार : सकारात्मक सामाजिक अभ्यास

मंगलवार , भाद्र ११, २०८१

– वर्षा गौतम
नेपालमा महिला राष्ट्रपति, महिला सभामुख र महिला प्रधानान्याधिश भइसकेको अवस्था रहेकोले महिला अधिकारको वकालत गर्नुभन्दा कानुूनी राज्यको प्रत्याभति दिनु जरुरी छ । कानूनलाई सहज, सुदृढ, सशक्त र प्रभावकारी बनाउन कार्यान्वयनमा जोड दिनुपर्छ । महिलाहरुलाई न्याय प्रणालीमाथि आशा, भरोसा र विश्वास हुनुपर्छ । कानून कार्यान्वयनमा उदासीनता हुनु, भएका कानून र व्यवस्थाबारे सरोकारवाला समुदायसम्म सूचना र सहज पहुँच नहुनु र प्रभावकारी कार्यान्वयन नहुनु, पैरवीमा लामो समय पर्खिनुपर्ने जस्ता कुराहरु नै सबैभन्दा ठूला चुनौतीहरु हुन ।

त्यसैले महिलाहरूले सधैभरी पितृसत्तात्मक परिवारलाई दोष लगाउनुभन्दा अब न्यायमा महिलाको पहुँच स्थापित गराउन, महिला अधिकार सुनिश्चित गर्न र सशक्तिकरणको लक्ष्य प्राप्त गर्न सबै पक्ष र क्षेत्रमा सुदृढीकरण गर्दै सकारात्मक सोच, दृढ इच्छाशक्ति र प्रतिवद्धताका साथ राज्यका सबै तह, निकाय र संरचना, सामाजिक संघ–संस्थाहरू, विकास साझेदार, सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाज र सम्पूर्ण सरोकारवाला पक्षले आ–आफ्नो ठाउँबाट जवाफदेही भएर हस्तक्षेपकारी भूमिका निर्वाह गर्न आवश्यक छ ।

महिलाहरुलाई पीडित बनाएर सहयोगी बन्नुभन्दा आर्थिक रूपले आत्मनिर्भर बनाउनुपर्छ । सकारात्मक सोचको विकास गर्नुपर्छ । कुनै पनि परम्परा नराम्रो आफैमा हँुदैन । पितृसत्तात्मक र मातृसतात्मकले केही हुँदैन । सोच परिवर्तन हुनुपर्छ । महिला–पुरुषको सहअस्तित्व नै प्राकृतिक छ । त्यसैले आरोप र आन्दोलनले हँुदैन । उदार सोच र प्रेमले संसार परिवर्तन गर्न सकिन्छ ।
पुरुषको भाषा पुरुषत्व देखाउने चाहनासँग गाँसिएको छ । यो स्वनिर्भरता देखाउन, आफू केन्द्रमा रहन, आफ्नो ज्ञानको प्रदर्शन गर्न र आफ्ना वाक्कला देखाउनको निम्ति मात्र कुराकानीमा सहभागीता जनाउँछन् । उनीहरू आफ्नो सफलता प्रदर्शन गर्नुपर्ने कुरामा अत्यन्तै सचेत हुन्छन् । यस्तो अवस्थामा, यस्तो वातावरणमा बाँचिरहेको पुरुषको जीवन कति अस्वभाविक र जटिल हुन्छ, हामी सजिलै कल्पना गर्न सक्छौं ।

पुरुषको जीवनमा मायाको, कोमलताको प्रवेश निषेध गराएर पितृसत्ताले उमाथि सदासर्वदा अत्याचार गरेको हुन्छ । हुर्कंदै गरेको कलिलो बालकको मस्तिष्कमा रुनुहुँदैन, रोयो भने कमजोर भइन्छ भन्ने विचार भरिदिइन्छ । विद्यालयको प्रांगणमा होस् वा घरको आँगनमा खेल्दा चोट लिएर आएको छोरालाई प्रेमले सुम्सुम्याउनुको साटो, उसको भरिएका आँखाको उपहास गर्दै के छोरी जस्तो रोएको भनेर उसलाई आँखाभित्रै आँशु लुकाउन सिकाइन्छ ।

हामी एउटा बालकलाई केटाकेटीहरुको बालापन समेत खोसिरहेका छौं । एउटा बालकले सामाजिक दबाबमा परेर कोमलतालाई, कमजोरीलाई लुकाउन सिकाइन्छ । मेरो बाबा भन्नुहुन्छ उहाँ मेरो फुपूसँगै विद्यालय जानुहुन्थ्यो । घरमा आएपछि फुपूले घरको भान्सामा सघाउनुहुन्थ्यो । तर, बाबालाई हजुरआमाले बाबुछोरा खाना पकाउने, पोछा लगाउने, भाडावर्तन सफा गर्ने काम छोरी मान्छेको हो तिमी नगर भन्नुहुन्थ्यो रे । फुपूले पनि हजुरआमाले भनेको मान्नुपर्यो । सुस्तसुस्त बाबा यही कुरामा बानीको रुपमा विकसित हुनुभयो । उहाँ अहिले पेशाले प्राध्यापक हुनुहुन्छ । महिला अधिकार र समानताको स्पष्ट वक्ता हुनुहुन्छ । तर, उहाँ खाना पकाउन कठिन काम मान्नुहुन्छ । अरु सारा काम गर्न तयार हुनुहुन्छ । तर, घरको काम गर्नुहुन्न । कारण–बालापनमा उहाँलाई यही सिकाइयो । त्यही नै उहाँको जीवनको गाईडलाईन बन्यो । वचपनमा जे सिक्यो त्यही जीवनभर रहन्छ त्यही नै जीवनको आदर्श बन्न पुग्छ । त्यसैले छोराछोरीको लागि सही विद्यालय छनोट गर्ने काम बाबुआमाको हो भने विश्वविद्यालय रोज्ने काम छोराछोरीको हो । विभेद परिवारवाट सुरू हुन्छ । त्यसैले परिवार नै जीवनका आदर्श र वास्तविकताका आधार सिकाउने शिक्षालय हो, जग बसाउने आधार हो ।

प्राकृतिक नैसर्गिक कुराहरूबाहेक अन्य कुराहरूमा पुरुषलाई हामी पर्गेल्नपर्ने देखिदैन । माया गर्न सिकाउँदैनौं अनि निष्ठुर छ भन्छौ । सानैदेखि ढोंगी बनाउन आफ्नो भावना अभिव्यक्त गरेमा कमजोर भइन्छ भनेर सिकाउँछौं । सौर्य प्रदर्शन गर्न सिकाउँछौं अनि पीडा लुकाउन तालिम दिन्छौं । फेरि कसैले जब आफ्ना पीडा, कष्ट, पीर लुकाउनकै निम्ति आफ्नो जीवन नै समाप्त गर्नेसम्मको निर्णयमा पुग्छ अनि प्रश्न गर्छ किन उसले आफ्नो पीडा लुकायो ? किन आफ्ना मित्र र प्रियजनसँग अभिव्यक्त गरेन ? किन बाँडेन आफ्नो व्यथा ? के उसलाई थाहा छैन र, यदि उसले आफ्नो दुःख, आफ्नो घाउ देखाएको भए यही समाजले उसलाई हुतिहारा, नामर्द र कमजोर भनेर भन्थ्यो भनेर ? त्यसैले त पुरुषहरूले समाजले भिडाइदिएको बौद्धिकताको, सफलताको, प्रतिष्ठाको बिल्लालाई आफ्नो हृदयको घाउ छोप्ने कवच बनाएर छोपिरहे, लुकाइरहे, पीडा ठ्याक्कै त्यसरी नै जसरी प्रत्येक हुर्कंदै गरेको बालकलाई हामी वयस्कले सिकाउँदै आएका छौं ।

मलाई लाग्छ यही हुर्काइले बलियो भइरहनुपर्छ, सफल मात्र हुनुपर्छ, विजय मात्र हुनुपर्छ, खरो मात्र हुनुपर्छ भनेर सिकायो पुरुषलाई । अनि कसरी सक्थे तिनले सफलताको निम्ति बजेको तालीको आवाजलाई छिचोलेर आफ्नो पीडामा डाँको छोड्न । त्यसैले त होला नि हृदयको जलन, त्यो औडाहा खप्न नसकेरे छटपटीमा बित्छ तिनका जीवनका अमूल्य पल । पुरुष किन आफ्नो दुःख बाँड्न रुचाउँदैनन् ? यसको लागि समाज दोषी छ । पुरुषलाई दया, माया, सहानुभुतिका कुरा सिकाइँदैन । महिलाभित्रको माया र सहानुभुतिलाई पन्छाउनुपर्छ, सिकाउनुपर्छ । हामी महिलाहरु केवल पुरुषको अहमतालाई मात्र देख्छौं । तर, आँट र साहस र सफलतालाई हेर्दैनौ । पुरुषलाई पनि मायाको खेलको नियम सिकाइनुपर्छ । माया त टेनिस बल जस्तै हो नि खेलाडीले जति जोडले हान्छ अर्कातर्फबाट पनि त्यति नै जोडले वापस आउँछ । खेलमा पार्टनरले फ्याँकेको बलको गति र लय पक्रिन भेउ नपाउने खेलाडी सिधै आउट नत्र भने पनि उसले ज्यादै कम पोइन्ट मात्र ल्याउँछ । यसमा दुई समूहको नै महत्व समान हुन्छ । चाहे छोरा, दाजु÷भाइ, पति, बुवा जुनसुकै भूमिका निर्वाह गर्दा पनि पुरुषले प्रेम निशर्त गर्न जानेन भन्ने गुनासो हुने गर्छ । उसको प्रेम अभिव्यक्त गर्न नसक्ने बानीको हामी आलोचना गर्छौं र कतिपय अवस्थामा उसलाई घृणा गर्न समेत पछि पर्दैनौं ।

यति गर्दागर्दै हामी के बिर्सन्छौं भने हामीले हुर्कंदै गरेको बालकलाई नै सिकाउनुपर्छ जीवन चलाउन आवश्यक पर्ने ऊर्जा माया हो भनेर । सद्दाम हुसेनले बाल्यकालमा पाएको माया र बुद्धले पाएको माया फरक भएर नै होला उनीहरुको चरित्र र जीवनमा पनि । सद्दाम कठोरता क्रुरताको प्रतिक बने भने बुद्ध शान्तिको प्रतिक बने । भनिन्छ मायाले संसार जितिन्छ, घृणाले घृणा जन्माउँछ । जहाँ माया हुँदैन, कोमलता हुँदैन, त्यो जीवनमा शीतलता हँुदैन कठोरता र तिरस्कार मात्र हुन्छ ।

हामीले हुर्कंदै गरेका हाम्रा कलिला बालबालिकाहरुलाई, हुर्कंदै गरेका हाम्रा छोराछोरीहरूलाई के सिकाउनुपर्छ भने उपलब्धि मात्र सफलता होइन, सबथोक होइन । यो त केवल जीवनको एउटा सानो पाटो मात्र हो एउटा बालकले आफ्ना मातापिताले आफूलाई ध्यान दिउन् भन्ने तीव्र चाहना राखेको हुन्छ । यदि हामीले उसको चाहना बुझ्न सकेनौं भने धुम्रपान गर्ने जस्तो खराब लतदेखि आत्महत्या गर्नेसम्मको जोखिम हुन सक्छ । वास्तवमा भन्ने हो भने पुरुषहरू समाजले, परिवारले गरेको भावनात्मक उपेक्षाका कारणले गर्दा मानसिक र शारीरिक क्षति व्यहोरिरहेका हुन्छन् । भावनालाई दबाएर राख्ने पुरुषत्वको प्रदर्शन गर्नुपर्ने दबाबका कारण, पुरुषले मानसिक स्वास्थ्य समस्याहरू भोग्नुपर्छ । उनीहरू डिप्रेसन र चिन्ताको शिकार हुने मात्र होइन, आत्महत्या गर्ने अवस्थामा समेत पुग्छन् ।जोखिम मोल्ने चुनौतीको कारण सबैभन्दा बढी दुर्घटनाको कारण, हत्या हिंसाको कारण, जेल जाने र ज्यान गुमाउने पनि पुरुष नै हुन्छन् । यो वास्तविकतासँग अनभिज्ञ छौं ।

तसर्थ, महिला–पुरुष परस्पर विरोधी होइनन् बरु एक–अर्काका पुरक हुन् । एउटा अस्तित्व अर्कामा अडेको छ । सबै मुर्ख वेदव्यास बन्न सक्दैनन । सबै पुरुष देवता छैनन् । न त सबै महिलाहरु देवी छन् । सहअस्तित्व, सहयोग र सहकार्यमा संसार अडेको छ । सृष्टिकालदेखि अनन्तकालसम्म यो रहनेछ रहिरहने छ । यही नै निरन्तरता हो । यही नै सार्थक जीवन हो ।

सदियौंदेखि चलिरहेको महिला अधिकार आन्दोलन आज पनि जारी छ । अधिकारको अर्थ समानता, स्वतन्त्रता, अवसर, पहुँच, पहिचान र हैसियतको प्रयोगमा बराबरीको हिस्सा हो ।

यो बराबरी अथवा समानताको प्रयोग घरदेखि समाज हुँदै राज्यका हरेक क्षेत्र, तह र संरचनामा प्राप्त गर्न, प्रयोग गर्न पाउनु र सक्नु हो । महिला भएकै कारण हुने कुनै पनि विभेद, अन्याय र हिंसाबाट मुक्त हुनु हो । समग्रमा महिलाको मानव अधिकारको प्रत्याभूति हुनु नै महिला सशक्तिकरण हो ।