
बुधवार , भाद्र १२, २०८१
सन् २०२३ जुन महिनामा भारतमा २० जना पत्रकार र विपक्षी दलको नेताको आइफोन मोबाइलमा एप्पलले एउटा म्यासेज पठायो । म्यासेजमा भनिएको थियो–तपाईको मोबाइल जोखिममा हुन सक्छ ।
एप्पलले उक्त म्यासेज ती व्यक्तिहरुका आइफोनमा पठाएको थियो, जसमा राज्यद्वारा प्रायोजित ह्याकरले हमला गरेको हुन सक्थ्यो । एप्पलले विश्वस्त भएर भन्दा पनि शंकाको आधारमा संसारभरका आफ्नो केही प्रयोगकर्तालाई उक्त म्यासेज पठाएको थियो ।
तर, जब एम्नेस्टी इन्टरनेशनल सकुरेटी ल्याबले यी सबै आइफोनमा आएका यी म्यासेजहरुको चेकजाँच गर्यो तब एउटा सत्य बाहिरियो । भारतीय पत्रकार सिद्धार्थ भर्दराजन र आनन्द मंनालेको आइफोनमा स्पाइवेर पेगाससको आक्रमण भएको पाइयो ।
उनीहरुको आइफोनको आइ म्यासेजमा जिरो पोइन्ट एक्सप्लोइट नामक एउटा म्यासेज आएको थियो । उक्त म्यासेज पेगासस स्पाइवेर भएको ल्याबले पत्ता लगाएको थियो ।
अब नेपालको कुरा गरौं । नेपालमा २०७९ साल मंसिर १४ गते वरिष्ठ पत्रकार किशोर नेपालको फेसबुक आईडी ह्याक भयो । फोनदेखि सामाजिक सञ्जाल सबै अवरोध भएको र २ महिना अघिदेखि यस्तै समस्याहरु झेल्दै आएको नेपालले विज्ञप्तीमार्फत नै नेपाल पत्रकार महासंघलाई जनाएका थिए । तर, नेपालको उक्त मुद्दालाई अनुसन्धान कसरी गरियो ? स्पाइवेर अथवा पेगाससकै आक्रमण नै हो कि होइन ? त्यो अध्ययनको विषय थियो ।
अब लागौं मूल मुद्दातर्फ । पत्रकारहरुको लागि सूचना एकदमै महत्वपूर्ण कुरा हो । पछिल्लो समय प्रविधिको विकाससँगै पत्रकारहरुले विभिन्न उपकरणको प्रयोग गर्दै आएका छन् । पत्रकारहरुले मुलतः मोबाइल, ल्याप्टप, क्यामेरा लगायतका उपकरण प्रयोग गर्छन् । यी उपकरणमा पत्रकारहरुले समाचार संकलनको क्रममा कैद गरेको तस्बिर, भिडियो, अडियो, स्क्रिप्टको डकुमेन्ट, समाचारसँग सम्बन्धित डकुमेन्टहरु लगायत डेटाहरु हुने गर्छ ।
पछिल्लो समय पत्रकारहरु सबैभन्दा बढी डिजिटल सुरक्षाको खतरामा रहने गरेका छन् । मालवेर, स्पाइवेर र डिजिटल सर्भिलेन्सबाट पत्रकारहरु खतरामा परेको देखिन्छ । उदाहरणको लागि मानौं तपाईको मोबाइलमा कुनै म्यासेज आयो तपाईले खोल्न त टाढाको कुरा आएको थाहा पनि पाउनुभएको छैन तर, उक्त म्यासेज आएकै आधारमा तपाईको मोबाइल अथवा कम्युटर सिस्टमको जासुसी हुन सक्छ । माथिका दुई घटना यो कुराको उदाहरण हुन् ।
सन् २०२३ मा क्लाउडफेर प्रोजेक्ट ग्यालिलियोले गरेको एउटा अध्ययन अनुसार संसारभर हुने डिजिटल सुरक्षाको भंग हुने घटनाहरुमध्ये ३४ प्रतिशत घटना पत्रकारहरुमाथि हुने गरेको छ । डिजिटल सुरक्षाको खतरा पत्रकारहरुको लागि धेरै रुपमा देखिने गरेको छ । स्थानीय र अन्तर्राष्ट्रियस्तरका स्पाइवेरहरु, मालवेरहरु, र्यान्समवेर, एसक्विएल इन्जेक्शन र फिसिङ जस्ता उपाय अपनाएर पत्रकारहरुको सुरक्षा भंग गर्ने प्रयासहरु हुने गर्छ ।
यसको पछाडी विभिन्न व्यक्ति र संस्थाहरुको संलग्नता हुन सक्छ । मुलतः राष्ट्र–राज्यहरु, राजनीतिज्ञ, शक्तिशाली व्यक्ति, संस्थाहरु, अपराधिक समूहहरु र चरमपन्थी संगठनहरुको संलग्नता यसमा बढी हुने गर्छ ।
डिजिटल सुरक्षाको खतराका कारण अहिले पनि संसारका धेरै पत्रकारहरु निशानामा पर्ने गरेका छन् । जसका कारण डेटा सुरक्षा र गोपनीयता भंग भइरहेको छ । पछिल्लो समय विभिन्न सफ्टवेरहरुमाथि पनि प्रश्न खडा भएका छन् । सफ्टवेहरु जस्तै फेसबुक, गुगल लगायत सफ्टवेरबाट हुने निगरानीका मध्येबाट पनि पत्रकारहरुमाथि डिजिटल सुरक्षाको खतरा हुने गरेको छ । डिजिटल र भौतिक खतरा पत्रकारहरुको लागि एक–अर्कामा जोडिएको हुने गर्छ । संसारमा अहिले पनि स्पाइवेरको प्रयोग गरेर पत्रकारमाथि भौतिक रुपमै आक्रमण भएको सयौं उदाहरण रहेका छन् । युरोप, मध्य पुर्व र संयुक्त राज्य अमेरिकाका कम्पनीहरुमा बनेका स्पाइवेरको प्रयोग गरी पत्रकारहरुमाथि हमला भइरहेको कुरा मानवअधिकार संगठन र साइबर सुरक्षा विज्ञहरुको दावी रहदै आएको छ ।
मुख्य रुपमा पछिल्लो समय एनएसओ समूहले बनाएको पेगासस नामक स्पाइवेरको प्रयोगले धेरै पत्रकारहरुमाथि डिजिटल सुरक्षा भंगको खतरा बढेर गएको देखिन्छ । पत्रकारहरुमाथि लक्षित गरेर राज्यले स्पाइवेर जस्ता सफ्टवेर र कानूनको दुरुपयोग गर्ने गरेका छन् । डिजिटल सुरक्षा भंगको खतराले पत्रकाहरुमाथिको विश्वसनीयता गुम्ने खतरा हुने देखिन्छ । पत्रकारहरुको दर्शक गुम्ने समस्या बढेर जाने देखिन्छ । समाचार पोर्टलहरु बिग्रने खतरा बढेर जाने देखिन्छ ।
पत्रकारहरुले अपनाउन सक्ने डिजिटल सुरक्षाका केही अभ्यासहरु छन् जसकारण पत्रकारहरुको डिजिटल सुरक्षा भंग हुनबाट जोगिन सक्छन् र स्रोतहरू र उनीहरूको कामको अखण्डतालाई पनि सुरक्षित गर्न सक्छ । जस्तै :
१) थ्रेट मोडलिङ
सबैभन्दा सुरुमा पत्रकारहरुले आफ्नो उपकरणमा भएको डेटाको सुरक्षाको लागि अपनाउनुपर्ने विधि भनेकै थ्रेट मोडलिङ हो । थ्रेट मोडलिङ भनेको जोखिमको विश्लेषण हो । जोखिममा हुन सक्ने चिजहरु जस्तै उपकरणहरु, डेटा, फाइल, फोटो, भिडियो, कल डिटेल, एसएमएस, च्याट, इमेल, जियो लोकेशन, आइडेन्टिफिकेशन हुन सक्छन् । त्यसको सूची बनाउने । त्यसपछि जोखिममा पार्ने सक्ने व्यक्तिहरु जस्तै ह्याकर, सहकर्मी, प्रतिष्पर्धी, राज्य, राजनीतिज्ञ, साथीभाइ, इष्टमित्र लगायत हुन सक्छन् ।
जोखिम के–के हुन सक्छ जस्तै ह्याक, फिसिङ, चोरी, दुरुपयोग, लगायत हुन सक्छन् । र, अन्तिममा जोखिम कस्तो हो जस्तै ठुलो, मध्यम अथवा सानो हुन सक्छन् । यसरी ४ वटा सूची बनाएर गरिने विश्लेषण थ्रेट मोडलिङ हो । यो विधिले पत्रकारहरुमाथि आइपर्ने डिजिटल सुरक्षा भंगको समस्या पहिचान र समाधान गर्न सहयोग गर्न सक्छ ।
२) इन्क्रिपशन
इन्क्रिपशन एउटा यस्तो साधन हो जसको सहयोगले इन्टरनेट प्रयोगकर्ता (पत्रकारहरु) को डिजिटल डेटा र संवाद गोप्य र सुरक्षित राख्न सकिन्छ । पत्रकारहरुको लागि यो किन पनि महत्वपूर्ण छ भने पत्रकारितामा धेरै कुरा गोप्य र सुरक्षित राख्नपर्ने हुन्छ र यसले त्यो काम गर्न उत्कृष्ट तरिकाले सक्छ । इन्क्रिपशनको सहयोगले समाचारका स्रोतहरुसँग गोप्य रुपमा संवाद गर्न, फाइल आदानप्रदान गर्न, लगायत पत्रकारको लागी गोप्य रुपमा काम गर्नको लागि सहयोग गर्नेछ । इन्क्रिपशनका केही टुलहरु रहेका छन् जस्तै सिगंल, फ्लोक्रिप्ट, पिजिपी टुल र प्रोटोनमेल आदि ।
३) एन्टीभाइरस
पत्रकारहरुले आफ्नो डिजिटल सुरक्षाको लागि अपनाउन सक्ने अर्को उपयुक्त कुरा भनेकै एन्टिभाइरसको प्रयोग हो । एन्टिभाइरसको प्रयोग गर्नाले कम्प्यूटरमा प्रवेश गर्न सक्ने मालवेरहरुलाई रोक्न सहयोग गर्नेछ । एन्टीभाइरसको डेटाबेस अपडेट गरेर स्क्यान गर्ने बानी बसाले पत्रकारहरुको डिजिटल सुरक्षित हुनेछ ।
४) अनलाइन डेटा जोगाउने
पत्रकारहरुले प्रयोग गर्ने अनलाइन ल्लेटफर्म जस्तै मोबाइल र कम्प्युटरमा इन्टरनेटमार्फत चल्ने एपहरुले धेरै व्यक्तिगत डेटाहरु (नाम, ठेगाना, फोन नम्बर, जन्ममिति, फोटो, भिडियो लगायत हुन्छ । जसको दुरुपयोग हुन नदिनका लागि यस्ता सफ्टवेरहरुलाई यी डेटा प्रयोग गर्न कडाइ गर्ने, प्रत्येक दिन आफ्नो समाजिक सञ्जालको प्राइभेसी सेटिङ हेर्ने र के के कुरा पब्लिक भएको छ ? जाँच गर्ने, यदि परिवारको कुनै सदस्यले तपाईको व्यक्तिगत विवरण समाजिक संजालमा राखेको छ भने हटाउन आग्रह गर्ने र डक्सिङको प्रयोग गरी इन्टरनेटमा व्यक्तिगत विवरण के–के छन् खोज्ने र हटाउने ।
५) एकाउन्ट सुरक्षित गर्ने
पत्रकारहरुको उपकरणमा हने अपरेटिङ सिस्टमदेखि लिएर विभिन्न एपहरु एकाउन्टसँग जोडिएको हुन्छ । जस्तै जिमेल, माइक्रोसफ्ट, एप्पल, फेसबुकलगायत । यी एकाउन्टहरु सुरक्षित राख्न एकदमै जरुरी हुन्छ । एकाउन्ट सुरक्षित राख्नको लागि टु फ्याक्टर अथनिकेशन (द्दाब) सुचारु गर्नु सबैभन्दा उपयुक्त उपाय हो ।
टुएफएले एकाउन्टमा हुन सक्ने अनाधिकृत पहुँचबाट जोगाउन सहयोग गर्छ । जस्तै कसैको एकाउन्टको पासवर्ड पत्ता लगाएर लग इन गर्ने प्रयास भए प्रायः तपाईको फोनमा उत्पन्न हुने कोड वा तपाईले आफूसँग हुने सुरक्षा साचो माग्ने गर्छ । टुएफएमा अथनिकेटर एपको प्रयोग गर्न सकिन्छ जस्तै गुगल अथनिकटेर । टुएफएमा मोवाइलमा एसएमएस पठाउनको सट्टा यो एपको प्रयोग गर्न सकिन्छ ।
६) इन्टरनेटको सुरक्षित प्रयोग
पत्रकारहरुले डिजिटल सुरक्षाको लागि इन्टरनेटको सुरक्षित प्रयोग गर्न जरुरी हुन्छ । सुरक्षित रुपमा इन्टरनेटको प्रयोग गर्नको लागि केही विधिहरु छन् । जसलाई पत्रकारहरुले पछ्याउन सक्नुपर्छ । इन्टरनेट प्रयोग गर्दा प्राइभेट अथवा इन कग्निटो ब्राउजरको प्रयोग गर्नुपर्छ । इन्टरनेटको प्रयोग अझै सुरक्षित रुपमा गर्नको लागि भीपीएनको प्रयोग पनि गर्न सकिन्छ । पब्लिक डीएनएसको प्रयोगले पनि इन्टरनेटमा गोपनीयता कायम गर्न मद्त गर्दछ । टोर ब्राउजरको प्रयोग गर्नाले पनि पत्रकारहरुले सुरक्षित रुपमा इन्टरनेट प्रयोग गर्न पाउनेछन् ।
७) अपरेटिङ सिस्टम अपडेट
सबै उपकरण प्रयोगकर्ताहरुले आफ्नो अपरेटिङ सिस्टम अपडेट राख्ने बानी बसाल्नुपर्छ । जस्तै म्याइक्रोसफ्टको प्रयोगकर्ताले विन्डो अपडेट हेरिरहनुपर्छ । नयाँ अपडेट दिनेबित्तिकै अपडेट गर्नुपर्छ । यसले पनि तपाईहरुको सिस्टमलाई सुरक्षित राख्न सहयोग गर्छ ।
८) अनाधिकृत सफ्टवेरको प्रयोग नगरौं
सिस्टममाथि गैरकानूनी रुपबाट जासुसी गर्ने अर्को एउटा प्रमुख उपाय हो अनाधिकृत सफ्टवेयर । जस्तै मोबाइलमा प्लेस्टोर हुन्छ र कम्युटरमा एप स्टोर । स्टोरमा उपलब्ध भए भन्दा बाहिरको सफ्टवेयर प्रयोग गर्नाले पनि तपाईहरुको उपकरण जोखिममा पर्न सक्छ ।
९) बलियो सुरक्षा घेरा बनाउ
जस्तै धेरैजनाको बानी हुन्छ पासवर्ड राख्ने प्रतिक १२३ अथवा नाम र फोन नम्बर अथवा नाम र जन्ममिति । यस्तो पासवर्ड राख्ने मान्छेहरुको त मोबाइल सबैभन्दा जोखिममा हुने नै भयो । कसैले आफ्नो फेस लक अथवा फिंगर प्रिन्ट राखेको हुन्छ । मानौं तपाई सुतेको बेला ? फेस लकमा त आजभोली आइ बिलिकं सुविधा भने हुने गरेको छ । त्यसैले यो केही सुरक्षित छ । कसैले प्याटरन राखेको हुन्छ ।
एकपटक हेर्नुस् त तपाईको मोबाइल लाइट तल राखेर तपाईले सधै मोबाइल खोल्न प्रयोग गर्ने प्याटरनको छाप देखिन्छ होला । त्यसैले सबैभन्दा सुरक्षित उपाय भनेको पासवर्ड त्यो पनि बलियो पासवर्ड जस्तै एउटा वाक्य हुन सक्छ म प्रतिक पौडेल मेरो घर ओमसतिया गाउँपालिका वडा नम्बर २ लुम्बिनी प्रदेश नेपाल जन्ममिति र फोन नम्बर । यस्तो सधै सम्झने खालको पासवर्ड लामो वाक्य राखे भने ह्याकरले यो गेस गर्नको लागि शताब्दी पार गर्नुपर्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij