
बिहिवार , भाद्र २०, २०८१
अर्घाखाँची, २० भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्नातक तहको शिक्षा प्रदान गरिरहेका सामूदायिक क्याम्पसहरुलाई शैक्षिक गुणस्तर सुधार गर्ने गरी कार्यक्रम निर्माण गर्न निर्देशन दिएका छन् ।
अर्घाखाँचीको शितगंगा नगरपालिकामा रहेको ज्योती भविश्वर बहुमुखी क्याम्पसको बुधवार स्थलगत अनुगमनमा पुगेका मुख्यमन्त्री आचार्यले पछिल्लो समय विद्यालय तथा क्याम्पस तहको शैक्षिक गुणस्तर खस्कदै जानु चिन्ताको विषय भएको बताए ।
उनले गुणस्तर सुधार गर्न योजना निर्माण गरेर लाग्न निर्देशन समेत दिए । ‘भौतिक संरचना सुधार हुन्छन्, बन्दै जान्छन् । तर, शैक्षिक गुणस्तर खस्कियो भने सुधार गर्न गाह्रो हुन्छ । देशलाई आवश्यक पर्ने जनशक्ति निर्माण गर्न शिक्षा जोडिएको छ । यो महत्वपूर्ण विषय हो । उनले भने,‘पढाईको गुणस्तर सुधार गरेको खण्डमा मात्रै सबै समस्याहरु समाधान हुँदै जान्छन् ।’
लुम्बिनी प्रदेश सरकारले क्याम्पसको भवन निर्माणको लागी आर्थिक बर्ष २०७६/०७७ मा ५० लाख बजेट विनियोजन गरेको थियो । सो बजेटबाट क्याम्सको भौतिक पूर्वाधार निर्माणको काम अघि बढेको छ । सोही भवनमा तला थप्न र कक्षा कोठा निर्माण गर्न विश्वविद्यालय अनुदान आयोगबाट समेत रु. ४६ लाख ७१ हजार बजेट प्राप्त भएको थियो ।
अहिले क्याम्पसमा पठनपाठनको लागि कक्षाकोठाको अभाव केही टरेको भए पनि बाँकी पूर्वाधार निर्माण गर्न प्रदेश र स्थानीय सरकारले ध्यान दिनुपर्ने क्याम्पस प्रमुख बिष्णु भट्टराईले बताए । ‘प्रदेश सरकारले पूर्वाधारको जग बसाल्ने काम भयो । यहाँका दानदाताहरुको थप सहयोगले भवनलाई सम्पन्न गरेका छौं । उनले भने,‘अब हामीलाई डेस्क, बेञ्च अनि शौचालयको खाँचो छ ।’
प्रदेश सरकारले क्याम्पसलाई आवश्यक पर्ने पूर्वाधारहरुमा लगानी गर्ने मुख्यमन्त्री आचार्यले प्रतिवद्धता व्यक्त गरे ।
स्नातकमा व्यवस्थापन र शिक्षा संकायको पठनपाठन हुँदै आएको छ । हाल क्याम्पसमा १ सय ३८ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् । शितगंगा नगरपालिका भूगोलको दृष्टिले ठूलो छ । यहाँ उच्च शिक्षाका लागि अध्ययन गर्न चाहने विद्यार्थी बाहिरी जिल्ला जानुपर्ने बाध्यता थियो । क्याम्पस स्थापना भएपछि घरमै बसेर उच्च शिक्षा अध्ययनको लागि सहज भएको विद्यार्थीहरुको भनाइ छ ।
आवश्यकतासँगै थप नयाँ संकायहरु थप गर्दै विद्यार्थीको आकर्षण बढाउनेबारे स्थानीय सरकारले भूमिका खेल्ने शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेलले बताए । ‘स्थानीय सरकारले यस क्याम्पसको विकासको लागि जस्तोसुकै सहयोग गर्न तयार छ । उनले भने,‘आफ्नै पालिकाभित्र उच्च शिक्षा अध्ययनको राम्रो वातावरण बनाउन चाहन्छौं ।’
वि.सं. २०६९ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी क्याम्पस सञ्चालनमा आएको थियो । क्याम्पसको भौतिक पूर्वाधार सुधारका लागी महायज्ञ समेत आयोजना गरिएको थियो । जनस्तरको सहयोगमा स्थापना भएको क्याम्पसको विकासको लाागि तीनै तहकै सरकारले प्राथमिकतामा राख्नुपर्ने क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष काँशिराम आचार्यले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij