२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस

प्रतिष्पर्धात्मक/प्रतियोगितात्मक शिक्षा

आइतवार , भाद्र २३, २०८१

सूचना, शिक्षा, दीक्षा, विद्या, विज्ञान, ज्ञान शब्दहरू आपसमा अन्तरसम्बन्धित हुन् । सबैलाई समेट्ने (लगभग) एउटा शब्द हो ‘शिक्षा’ । ‘शिक्षा’ संस्कृत भाषाको ‘शिक्ष’ धातुमा ‘अ+ टाप’ प्रत्यय लागेर बनेको संस्कृत तत्सम शब्द हो । ‘शिक्ष’ अ+आ’ ‘शिक्षा’ पनि हुन्छ । शिक्षाको अर्थ सिक्नु र सिकाउनु हो । यसरी शिक्षा शब्दको अर्थ हुन्छ सिक्नु र सिकाउने प्रक्रिया । शिक्षा प्रायः जसो विगतसँग सम्बन्धित हुन्छ वा यसले प्राय विगतको बारेमा बताउँछ । त्यसैले शिक्षालाई समाजमा भएको ज्ञानलाई एक पिढीबाट त्यसभन्दा तल्लो पिढीमा हस्तान्तरण गर्ने प्रयासको प्रक्रिया पनि भनिने गरिन्छ, जसबाट समाजको परम्परा र संस्कृतिले निरन्तरता पाइरहेको हुन्छ । शिक्षाबाट नै बालबालिकाहरूले समाजको आधारभूत नियमहरू, व्यवस्थाहरू, समाजको मूल्य र मान्यताहरू सिक्छन् जसले बालबालिकाहरूको अन्तरनीहित क्षमता तथा व्यक्तित्वको विकास गर्दछ ।

शिक्षा अर्थको बारेमा कुरा गर्दा यसलाई दुईवटा रूपमा लिन सकिन्छ । शिक्षाको ‘संकुचित अर्थ’ र अर्को शिक्षाको व्यापक (बृहत) अर्थ । संकुचित अर्थ अनुसार शिक्षा समाजमा एउटा निश्चित समय, निश्चित ठाउँ, निश्चित पाठ्यक्रम र निश्चित योजना उद्देश्यले पढेर उत्तीर्ण हुने प्रक्रियालाई जनाउँछ भने व्यापक अर्थमा शिक्षा जसले पनि, जहाँ पनि, जोसँग पनि जसरी पनि, जति बेला पनि सिक्ने वा सिकाउने प्रक्रियालाई जनाउँछ ।

केही शिक्षा यस्ता हुन्छन् जुन मनुष्यले प्रत्येक क्षणमा प्राप्त गरिरहेका हुन्छ । आफ्नो सम्पर्कमा रहेको व्यक्तिहरू, वातावरण र प्रकृति जस्तै आमाबुबा, परिवारका सदस्यहरू, साथीहरू, समाज, किताब, पत्रपत्रिका, रेडियो, मोबाइल, टेलिभिजन., इन्टरनेट, पानी, घाम, बादल, सूर्य, चन्द्र, तारा, दिनरात, नदी, नाला, पोखरी, समुन्द्र, माटो, आकाश, ब्रह्माण्ड, प्रकृतिबाट प्राप्त गरिरहेको हुन्छ । यस्तो यो शिक्षा मानिसको जीवनभरी नै चलिरहेको हुन्छ र यस्तै शिक्षाको प्रभाव उसको जीवनमा सबैभन्दा बढी हुन्छ । यस्तो शिक्षाको लागि कुनै योजना उद्देश्य, विधि वा पाठ्यचर्या बनाइएको हुँदैन । यो निरन्तर चलिरहेको हुन्छ । यो शिक्षा नै मानिसको प्रथम र अन्तिम शिक्षा हो । व्यवहारिक शिक्षा, चारित्रिक शिक्षा, नैतिक शिक्षा, प्रेम, भक्ति, राष्ट्र प्रेम, साहित्य, आध्यात्मिक, धार्मिक, प्राविधिक यसभित्र पर्छन् ।

केही शिक्षाहरू यस्ता हुन्छन् जुन विद्यालय, महाविद्यालय र विश्वविद्यालयको सीमामा बाधिन्नन् । तर, यसको योजना, उद्देश्य, विधिहरू र पाठ्यचर्या निश्चित हुन्छन, जुन लचिला हुन्छन् । यस्तो शिक्षाको मुख्य उद्देश्य शिक्षाको प्रसार र शिक्षालाई व्यवस्थित गर्नुहुन्छ । यस्तो शिक्षा शिक्षार्थीहरूको आवश्कयतालाई ध्यानमा राखी तयार गरिएको हुन्छ । यस्तो शिक्षा शिक्षार्थीको सुविधा अनुसार स्थान, समय, प्रायचर्या, शिक्षण विधिहरू निर्धारण गरिएको हुन्छ । प्राय विद्यालय जान नसक्ने, धेरै खर्चले गर्दा नसक्ने कामकाजी महिलाहरू, प्रौढ व्यक्तिहरूले यस्तो शिक्षा ग्रहण गरिरहेका हुन्छन् । प्रौढ शिक्षा, सतत शिक्षा, खुल्ला शिक्षा, दुर शिक्षा इत्यादी शिक्षाहरू यसभित्र पर्छन् । यस्ता शिक्षा दिन शिक्षकहरू व्यवस्थित गरिएका हुन्छन् ।

केही शिक्षाहरू यस्ता हुन्छन् जुन विद्यालय, महाविद्यालय, र विश्वविद्यालयहरूमा गएर औपचारिक रूपमा विशेषज्ञ शिक्षकहरूबाट ग्रहण गरिन्छ । यस्तो शिक्षा योजनाबद्ध तरिकाले बनाइएको हुन्छ र यस्तो शिक्षाको उद्देश्य, पाठ्यचर्या र शिक्षण विधिहरू कडा तरिकाले निर्धारण गरिएको हुन्छ । यस्तो शिक्षामा विद्यालय, विश्वविद्यालयहरूले समय सारणी बनाई पढाउने, परीक्षा लिने र प्रमाणपत्र प्रदान गर्ने व्यवस्था मिलाइएको हुन्छ । यस्तो शिक्षाको सबभन्दा ठूलो विशेषता के हो भने यस्तो शिक्षाले व्यक्ति, समाज र राष्ट्रको आवश्यकतालाई पूर्ति गर्छ । उद्योग, व्यवसायका लागि योग्य बनाउँदछ । यस्तो शिक्षामा धन, समय र उर्जा बढी नै खर्च हुन्छ । जस्तै : साधारण, प्राविधिक, विज्ञान, व्यवस्थापन, मानविकी, व्यवसायिक, डाक्टर, इन्जिनियर, राजनीति, प्रशासकीय, प्रहरी, सेना, सिडिओ, जिल्ला समन्वय अधिकारी, शिक्षा अधिकारी, सचिव, बैंकर्स, जस्ता शिक्षाहरू, सामाजिक सैद्वान्तिक शिक्षा, प्राविधिक शिक्षाहरू यसभित्र पर्छन् । 

केही शिक्षाहरू खोजेर, अनुसन्धान गरेर, अन्वेषण गरेर प्राप्त हुन्छ जसलाई विज्ञान् भनिन्छ । यस्तो शिक्षा भौतिक जीवनमा धेरै उपयोगी हुन्छ । विज्ञानका सबै अविष्कारहरु यसभित्र पर्छन् । 

निश्चित ठाउँहरूमा, निश्चित समयहरूमा, निश्चित योजना बनाई पाठ्यचर्या बनाइ वा नबनाइ आफ्नो आफ्नो धर्मको प्रचारप्रसार, विकास सम्वद्र्धन र संरक्षण गर्न धार्मिक शिक्षाहरू पनि औपचारिकवा अनौपचारिक रूपमा दिएको पाइन्छ ।

केही शिक्षाहरू (ज्ञान) यस्ता हुन्छन् जुन केही खास व्यक्तित्वले मात्र प्राप्त गर्छन, जसका लागि न त कुनै खास ठाउँ चाहिन्छ, न त कुनै खास समय चाहिन्छ, न त कुनै खास शिक्षक (गुरु) चाहिन्छ । यस्तो शिक्षा आफै प्राप्त हुन्छ । यो त्यो शिक्षा हो जुन कृष्णले पाए, जुन बुद्धले पाए, जुन पैगम्बर मोहम्मदले पाए, जुन क्राइस्टले पाए, जुन महाबिरले पाए, जुन गुरु नानकले पाए, जुन रामकृष्ण परमहंशले पाए, जुन मिराले पाए, जुन पतञ्जलीले पाए, जुन गोरखले..........पाए । भनिन्छ कि यस्तो शिक्षा (ज्ञान) साधना, प्रेम र ध्यानको माध्यमबाट प्राप्त गर्न सकिन्छ । यस्तो शिक्षाले लाखौं, करौडौं मानिसको मनको विणालाई एकसाथ बजाउँछ । 

सबै शिक्षाहरुले कुनै न कुनै तरिका या माध्यमले प्रत्येक मानिसमा रहेको भाषिक सक्षमता, तार्किक सक्षमता, शारीरिक सक्षमता, सांगीतिक सक्षमता, दृश्यात्मक सक्षमता, अन्तरवैयक्तिक सक्षमता, अन्तर वैयक्तिक सक्षमता, प्राकृतिक सक्षमता र आध्यात्मिक सक्षमताहरूलाई प्रभावित गर्छ, या मा आधारित हुन्छ या विकास गर्न गरिन्छ ।

प्रतिष्पर्धात्मक/प्रतियोगितात्मक शिक्षा

सारा संसारमा बालबालिकाहरूलाई सिकाइन्छ कि प्रेम गर, माया गर, स्नेह गर र किताबमा पनि यही नै सिकाइन्छ तर शिक्षाको सम्पूर्ण प्रणाली र व्यवस्था प्रेममा आधारित नभएर प्रतिष्पर्धामा र प्रतियोगितामा नै आधारित छ । जहाँ प्रतियोगिता छ, जहाँ प्रतिष्पर्धा छ त्यहाँ प्रेम कसरी हुन सक्छ र ? प्रतिष्पर्धा त इर्ष्याको रूप हो, जलनको रूप हो । सारा प्रणालीले इर्ष्या सिकाउँछ, जलन सिकाउँछ । एउटा कुनै बच्चा प्रथम आयो भने अर्को बच्चालाई भन्छौँ कि तिमी पछि पर्यौं र उ पहिलो आयो । के सिकाउँदैछौ हामीले उसँग इर्ष्या गर, प्रतिष्पर्धा गर, उसलाई हटाएर तिमी अगाडि आउ । हामीले के सिकाउँदैछौँ ? हामीले अहंकार सिकाउँदैछौँ, ईश्र्या सिकाउँदैछौँ । हामीले सिकाउँदैछौँ कि जो अगाडि छ त्यो ठूलो हो र जो पछाडि छ त्यो सानो हो । हामीले किताबको माध्यमबाट सिकाउँछौ कि प्रेम गर, विनित बन । तर, सारा प्रणालीले सारा व्यवस्थाले सिकाउँदैछ कि इर्ष्या गर, घृणा गर, अगाडि जाउ, अरूलाई पछाडि पार । हाम्रो सारा शिक्षाको व्यवस्थामा अगाडि आउनेलाई पुरस्कृत गरिन्छ, प्रमाणपत्र दिइन्छ, स्वर्ण पदक, अन्य पदक दिइन्छ, माला लगाइन्छ, उसको फोटो निकालिन्छ र पछि पर्नेलाई अपमानित गरिन्छ । जब पछि पर्नेलाई अपमानित गरिन्छ भने उसको अहंकारलाई चोट पुर्याइन्छ र अगाडि पर्नेको अहंकारलाई प्रवल गरिन्छ । जब यी साना साना बालबालिकाहरू प्रतिष्पर्धामा इश्र्यामा, जलनमा, अहंकार, घृणामा पालन, पोषण हुन्छन् भने उनीहरूले प्रेम कसरी गर्न सक्छन् ?

प्रेमको सधै मतलब हुन्छ कि ‘जसलाई प्रेम गरिन्छ, राम्रो ठाउँमा उसलाई अगाडि पठाइन्छ र आफू पछि भइन्छ र अप्ठ्यारो ठाउँमा आफूलाई अगाडि गरिन्छ उसलाई पछाडी बसालिन्छ’। ‘मर्नु छ भने अगाडि हुनु र बाच्नु छ भने पछाडि’ प्रेमले सिकाउँछ । जब की प्रतिष्पर्धाले सिकाउँछ ‘मर्नु छ भने पछाडि हुनु बाँच्नु छ भने अगाडि हुनु’ । हाम्रो शिक्षाले के सिकाउँछ ? प्रेम सिकाउँछ कि प्रतिष्पर्धा । जब संसारको शिक्षाले प्रेम नसिकाएर महत्वकाक्षां, प्रतिष्पर्धा सिकाउँछ भने संसार कसरी राम्रो बन्न सक्छ ? जब हरेक बच्चा अर्को बच्चालाई हराएर अगाडि बढ्न प्रयत्नशील हुन्छ, जब हरेक बालबालिका अर्को बालबालिकालाई हराउन उत्सुक हुन्छ तब २० सालको शिक्षाले उसकोे जीवनमा के गर्छ ? जे सिक्छ त्यही गर्छ । एकले अर्कालाई पछाडि तान्दछ । अगाडि बढ्ने होडमा प्रतिष्पर्धाले आक्रमण र हिंसालाई प्रेरित गर्छ । हामीले अप्रत्यक्ष रूपमा आक्रमण र हिंसा सिकाउँदैछौं । र, हामी भन्छौ कि यो शिक्षा हो । यदि यो शिक्षामा आधारित संसारमा हिनता, हिंसा र युद्ध निम्त्याउँछ भने के को आश्चर्य ! यदि यो संसारमा प्रत्येक दिन युद्ध हुन्छ, हत्या हुन्छ भने आश्चर्य मान्न पर्दैन किन कि हाम्रो शिक्षाले र हामीले सानैबाट जस्तो शिक्षा दिन्छौँ त्यस्तै प्रतिफल आउँछ ।

शिक्षाले गर्दा झोपडीमाा मान्छेले खाना नपाएर मर्दा नजिकको महलमा रमाएर खाइरहेका मान्छे हुन्छन् भने आश्चर्य मान्नुपर्दैन । यो, यो शिक्षाको परिणाम हो । यदि यही शिक्षा हो भने यस्तो शिक्षाले संसारलाई कहाँ पुर्याउँछ ! यस्तो शिक्षा नभए पनि दुनिया चल्छ र चल्थ्यो । जंगली मान्छेमा धेरै पे्रम हुन्छ र कम प्रतिष्पर्धा हुन्छ । त्यसमा धेरै हृदय छ कम मस्तिष्क हुन्छ र उ गैरजंगली मानव भन्दा असल हुन्छ । 

प्रतिष्पर्धा चाहे दुई व्यक्तिको होस् या दुई देशको, प्रेम सिकाउँदैन हिंसा सिकाउँछ । परमाणु बम र हाइड्रोजन बम, मिसाइल र विभिन्न हातहतियारहरू किन बन्छन् ? यी सबै प्रतियोगिता र प्रतिष्पर्धाको लागि बनिरहेका छन् । एक–अर्का भन्दा अगाडि जानलाई अत्याधुनिक प्रविधि, हातहतियार निर्माण गर्छन् । कोही पनि कोही भन्दा कम छैन । पछाडि कोही पनि हुन चाहँदैनन् । सबै कुरामा सबै अगाडि बन्न चाहन्छन् किन कि सबैलाई सानैबाट, सुरुबाटै अगाडि हुनुपर्छ भन्ने कुरा सिकाइन्छ । यी सबै शिक्षाबाट सिकाइन्छ । यो सब शिक्षाको देन हो । 
बालबालिकाहरूलाई हामीले सिकाउँछौ कि लोभी नबनौ, भयभित नबनौ । तर, हामीले गर्छौं के त ? हामीले हरेक पल लोभ सिकाउँदैछौं, हरेक पल भय सिकाउँदैछौ । पौराणिक कालदेखि नै लोभ र भय सिकाइँदैछ । स्वर्गको लोभ र नर्गको भय । हामीले पनि त्यही गर्दछौ । जहाँ लोभ छ, त्यहाँ पुरस्कार छ, जहाँ भय छ, त्यहाँ दण्ड छ । लोभ दिइन्छ कि विभिन्न ओहोदा प्राप्त गरेर सफल भइन्छ भने भय दिइन्छ कि गर्न असफल भइयो भने कसैले सोध्दैन, कसैैले रुचाउँदैन । अहिलेको शिक्षाको प्रणाली र व्यवस्थाको केन्द्रबिन्दुमा सफलतालाई राखिएको छ । सफलतालाई सम्मान गरिन्छ र असफलता असम्मान । जबकी सम्मान त कामलाई गरिनुपर्छ जुनसुकै काम भए तापनि । यहाँ सफलतालाई सम्मान गरिन्छ । जबसम्म कामलाई सम्मान गरिदैन, सफलतालाई सम्मान गरिन्छ तबसम्म समाजमा इर्ष्या, लोभ, भ्रष्टाचार, चोरी, अनैतिक कार्यहरू बढ्दै जान्छ किन कि सबै सफल हुन खोज्दछन्, बाटो जेसुकै भए पनि । 

मानिस सफल होइन सुफल हुनुपर्छ । यो संसार प्रत्येक मानिस यति अदुभुत छ कि त्यो जस्तो पहिलो न कोही आयो, त्यो जस्तो अहिले न कोही छ र त्यो जस्तो न कोही भविष्यमा आउनेछ । सबै व्यक्ति फरकफरक छन् भने किन अरू जस्तो बनाउन खोजिन्छ ? सबैमा फरकफरक सक्षमता हुन्छन् । त्यो सक्षमताको आधारमा कामको अंगिकार गरिन्छ । प्रत्येक मानिसले प्रत्येकको सक्षमतालाई र प्रत्येकको कामलाई सम्मान गर्नुपर्छ । एउटा व्यक्ति अर्को व्यक्ति जस्तो बन्दैन र बनाउन पनि सकिदैन । यदि एउटा व्यक्ति अरू जस्तो बन्न सक्थ्यो भने वा बनाउन सकिन्थ्यो भने यस संसारमा हजारौ राम हुन्थे, हजारौ बुद्ध हुन्थे, हजारौ पैगम्बर हुन्थे, हजारौ क्राइष्ट हुन्थे, हजारौ महाविर....... हुन्थे । तर, त्यस्तो छैन र त्यस्तो हुन पनि सक्दैन । जब त्यस्तो हुँदैन र हुन पनि सक्दैन भने सबैको अस्तित्वलाई स्वीकार्नुपर्छ । सबैको अस्तित्वलाई सम्मान र आदर गर्नुपर्छ । त्यसैले मान्छेमा, तुलना गरिनुहुँदैन । तुलना गरियो भने मात्र निच–उच, ठूलो सानो, धनी गरीब इत्यादिका अवधारणहरू सृजित हुन्छन् । 

शिक्षामा प्रतिष्पर्धा र महत्वकांक्षा हुनुहुँदैन । शिक्षामा पुरस्कार वा दण्ड हुनुहुँदैन, लोभ वा भय हुनुहुँदैन । शिक्षाले अगाडि र पछाडिको भेदभाव राख्नुहँुदैन । शिक्षामा सफलतालाई केन्द्रबिन्दुमा राखिनुहुँदैन ‘सुफलता’ लाई केन्द्रमा राखिनुपर्छ । शिक्षाले सबैलाई समान दृष्टिले हेर्नुपर्छ र शिक्षामा प्रेम र नैतिकता हुनुपर्छ । त्यस्तो शिक्षाले मात्र मनुष्य जाति तथा अन्य जातिलाई लाभ पुर्याउँछ ।

आज ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस सेप्टेम्बर ८ को आदर्श वाक्य ‘बहुभाषिक शिक्षाको प्रवर्द्धन : पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ हो । नेपालमा पनि धेरै कार्यक्रमहरु गरी मनाइँदैछ । नेपालमा पनि साक्षरता र शिक्षाको स्तरको अवस्था विगत केही वर्षहरूबाट वृद्धि भएर सुधार भएको छ । यहाँ पनि शिक्षालाई औपचारिक एवं अनौपचारिक शिक्षा व्याख्या गरी अघि बढिरहेको छ र शिक्षामा विकास पनि भइरहेको छ । शिक्षालाई उकास्ने कार्यमा शिक्षाको राष्ट्रिय उद्देश्य बनाई पाठ्यक्रम विकास केन्द्र र राष्ट्रिय पाठ्यक्रम प्रारूप, शिक्षा मन्त्रालय, शिक्षा विभाग, शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ र अन्य सरोकारवाला निकायहरूले निरन्तर कार्य गरिरहेका छन् । नेपालको संविधान २०७२ ले पनि शिक्षालाई मौलिक हक र कर्तव्यभित्र राखेको छ । धारा ३१ को उपधारा (१) मा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक  हुनेछ । उपधारा (२) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ र उपधारा (३, ४ र ५) मा पनि शिक्षा सम्बन्धि भनेको छ । त्यस्तै गरी धारा ५१ राज्यका नीतिहरू को (ज) को (१) मा शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यवसायिक, सीपमूलक, रोजगारमूलक एवं जनमुखी बनाउँदै सक्षम, प्रतिष्पर्धी, नैतिक एवं राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार गर्ने नीति लिइएको छ । (ज) को (२), (३) र (४) मा पनि शिक्षा सम्बन्धी अन्य नीति लिएको छ । शिक्षाको बजेटमा पनि केही वृद्धि भएको छ ।

सरकार, सम्पूर्ण सरोकारवालाहरू र हामी सबैले, देशको संविधानले, लिएको कर्तव्य र नीतिमा सबैले सहयोग पुर्याइ शिक्षाको कार्यक्रम १०० प्रतिशत साक्षर बनाई १०० प्रतिशत शिक्षित बनाउने दीर्घकालीन लक्ष्य राख्नुपर्छ । विदेश भगाउ शिक्षा प्रणालीको छिटो भन्दा छिटो विकल्प खोल्नुपर्छ । यो सबै हामी सबै नागरिकको कर्तव्य हो । शिक्षामा सबैको पहुँच हुनुपर्छ, कोही पनि वञ्चित हुनुहुँदैन । 

शिक्षा एउटा यस्तो शक्ति हो जुन कसैले खोस्न सक्दैन, कसैले चोर्न सक्दैन । शिक्षा एक्लोपनको साथी हो । परदेशको असल मित्र हो । सधै भरी सँगै हिंड्ने संगिनी हो शिक्षा । शिक्षा जीवनको प्रकाश हो । शिक्षा व्यक्तिको समाजको, राष्ट्रको, विश्वको, मानवताको ब्रह्माण्डको सामथ्र्य हो । लिएको शिक्षा व्यवहारमा देखिनुपर्छ । शिक्षा व्यवहारमा देखिन्न भने त्यो शिक्षा शिक्षा होइन त्यो एउटा वस्तु मात्र हुन्छ जुन एक ठाउँमा राखिएको हुन्छ ।  

अन्त्यमा, शिक्षामा ज्ञान, उचित आचरण (चरित्र), विद्या प्राप्ति, शिक्षण तकनिकी, दक्षता, नैतिकता र प्रेम समावेश भएको हुनुपर्छ । यिनी बिनाको शिक्षा व्यर्थ मात्र नभइ विध्वंशकारी हुन्छ । शिक्षा मानवता र मानवता भन्दा माथिका लागि हुनुपर्छ ।

(लेखक सि.बि.पब्लिक हाई स्कूल भैरहवाका प्रिन्सिपल हुन् ।)