
आइतवार , भाद्र २३, २०८१
भैरहवा, २३ भदौ ।
रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति ह्रास भइरहेको छ । अझ तराईका जिल्लाहरुमा भारतबाट पोषकतत्व जाँच बिनै भित्रिने मलले उत्पादन र उत्पादकत्वमा असर गरिरहेको कृषि विज्ञहरु नै बताउँछन् । यस्तो अवस्थामा स्थानीय सहकारी संजालहरुले कृषिसँग सरोकार राख्ने सरकारी निकायसँग सहकार्य गरी प्राङ्गारिक मल प्रयोग गर्न किसानलाई जागरुक गराउन थालेका छन् ।
रुपन्देहीको शुद्धोधन गाउँपालिकास्थित सहकारी संजालले कृषि ज्ञान केन्द्र, रुपन्देहीको प्राविधिक सहयोगमा किसानलाई प्राङ्गारिक मल प्रयोगबारे जानकारी गराएको हो । सहकारी संजालसँग समन्वय गरी केही समय यता उच्च गुणस्तरको ‘ग्रो मोर रत्नम अर्गानिक दानेदार मल’ उत्पादन गर्दै आएको रोहिणी गाउँपालिका–४, कोटहवास्थित ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रा.लि.ले पनि किसानलाई प्राङ्गारिक मल प्रयोगबारे सहजीकरण गरिरहेको छ ।
शुद्धोधनको मानपकडीमा आयोजित ‘प्राङ्गारिक मल सम्बन्धी जागरुकता’ कार्यक्रममा स्थानीय सरकार प्रमुख, कृषि विज्ञ, सहकारी संजालका अगुवा र प्राङ्गारिक मल उत्पादन गर्दै आइरहेको ग्रो मोर फर्टिलाइजरका सञ्चालकले रासायनिक मलको प्रयोग, माटोमा देखिएको ह्रासपना तथा प्राङ्गारिक मलको प्रयोगले हुने फाइदाबारे किसानलाई बुझाए ।
कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि अधिकृत अनिल बनियाले रासायनिक भन्दा प्राङ्गारिक मल पयोगले उत्पादन र उत्पादकत्व वृद्धि हुने जनाए । ‘हामीकहाँ रासायनिक मल नै प्रयोग गर्नुपर्छ भन्ने मान्यता छ । तर, यसको असरबारे जानकारी लिने गरेका छैनौं’, उनले भने, ‘वास्तविकता बुझौं र प्राङ्गारिक मलको प्रयोग गरौं ।’ प्राङ्गारिक वस्तुको प्रयोग हुँदा माटोको पानी सोस्ने क्षमता बढ्ने उनले जनाए ।
‘रासायनिक मलले चिस्यान क्षय गर्छ । रासायनिक मलको साथै कीटनाशक र रोगनाशक रसायन (विषादी) हरुको प्रयोग हुँदा वरपरको पानी, माटोको सुक्ष्म जीवाणु, कीराहरु आदिको नास हुन जान्छ । यसले अन्नबालीमा नोक्सानी पुग्छ’, उनले भने, ‘यी सबै कुराबाट छुटकारा पाउन प्राङ्गारिक मलको प्रयोग गर्नुपर्छ । जसले गर्दा कृषि उत्पादनमा देखिने समस्या रहन्न ।’ उनले लामो अध्ययनपछि उच्च गुणस्तरको ग्रो मोर रत्नम अर्गानिक दानेदार मल बजारमा आएकाले प्रयोगमा जोड दिन किसानहरुलाई आह्वान गरे । ‘अब स्थानीय तहहरुले पनि रासायनिक भन्दा प्राङ्गारिक दानेदार मलतर्फ किसानलाई आकर्षित गर्नुपर्छ’, उनले भने । जिल्लास्थित सबै पालिका र सहकारीलाई यसबारे बुझाउन उनको आग्रह छ ।
ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रा.लि.का प्रबन्ध निर्देशक पुनम अग्रवालले किसान जागरुक हुने हो भने अहिलेको भन्दा कयौं मात्रामा उत्पादन र उत्पादकत्व वृद्धि हुन सक्ने जनाइन् । ‘हामीले पहिल्यैदेखि प्रयोग गरेको भनेर रासायनिक मलमा जोड दिँदै आएका छौं । यतिमात्रै होइन् खेती लगाउँदा र त्यसपछि विषादी प्रयोग गर्छौं’, उनले भनिन्, ‘यसको साइड इफेक्टबारे पनि बुझ्न जरुरी छ । माटोको क्षयीकरण भइरहेको छ । जथाभावी विषादी प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पुगिरहेको छ ।’
उनले माटोको उर्वराशक्ति बढाउनुका साथै बढी उत्पादन लिनका लागि स्वदेशी उद्योगमा नै तयार गरिएको मल प्रयोग गर्नुपर्नेमा जोड दिइन् । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट सूचीकृत लुम्बिनी प्रदेशको एक मात्र उद्योग ग्रो मोर फर्टिलाइजर भएको उनले जनाइन् । ‘हामीले केही समय अघिबाट उत्पादन सुरु गरेका थियौं, त्यसपछि केही किसानलाई मल उपलब्ध गराएर हेर्यौं’, उनले भनिन्, ‘उत्पादन राम्रो भएको किसानले प्रतिक्रिया दिनुभएको छ ।’ उनले बजारमा प्राङ्गारिक र अर्गानिक मलका नाममा किसानलाई ठग्ने काम भइरहेको बताइन् ।
‘बजारमा आउने अर्गानिक भनिएका मलको कुनै ल्याब परीक्षण हुँदैन’, उनले भनिन्, ‘हामीले उत्पादन गर्ने मन जर्मनी टेक्नोलोजी प्रयोग गरी उच्च गुणस्तरको ल्याबबाट परीक्षण गरी बजारमा पठाउने गरेका छौं । यसैले पनि ढुक्क भएर ग्रो मोर रत्नम अर्गानिक दानेदार मल प्रयोग गर्नुस् । जसले माटोको उर्वराशक्ति राम्रो गराउँछ नै उत्पादन पनि बढ्छ ।’ उनले सस्तो दरमा किसानको सहज पहुँच हुने गरी बजारमा पठाइरहेको समेत बताइन् । उनले डीएपी मल विस्थापित गरी किसानलाई लगानी अनुसारको मुनाफा वृद्धि गर्ने उद्देश्यले प्राङ्गारिक मल उत्पादन सुरु गरिएको सुनाइन् ।
शुद्धोधन गाउँपालिका सहकारी संजालका अध्यक्ष लोकबहादुर खत्रीले प्राङ्गारिक मलको विकल्प रासायनिक र विषादी हुनै नसक्ने बताए । ‘हामीलाई थाहै छ, लगातार रासायनिक मल र विषादी प्रयोग गर्दा माटोको उर्वराशक्ति ह्रास भइरहेको छ, अर्कातर्फ विषादीले क्यान्सर लगायत घातक रोगहरु पनि किसानलाई देखिने गरेको छ’, उनले भने, ‘स्वदेशमै प्राङ्गारिक मल उत्पादन भइरहेको अवस्थामा अब यसैको प्रयोग गर्नुपर्छ । यसबारे सबै किसान सचेत हुनुपर्छ ।’ उनले डीएपीको विकल्पमा उच्च गुणस्तरको ग्रो मोर रत्नम अर्गानिक दानेदार मल प्रयोग गर्न सुझाए । ‘बजारमा आएका प्राङ्गारिक मलका नाममा किसान ठगिएको यहाँका किसानले अनुभूति गरेका छौं’, उनले भने, ‘यसैले राम्रो र उच्च गुणस्तरका अर्गानिक मल प्रयोग गर्न सबै किसानलाई मेरो सुझाव छ ।’
सहकारी संजालका सचिव दिनेश मिश्राले रासायनिक मल र विषादीको प्रयोगले किसानले समस्या भोगिरहेका बेला प्राङ्गारिक मलको प्रयोग, यसको फाइदाबारे जानकारी पाउँदा हर्षित भएको बताए । ‘अब, हामीले किसानलाई रासायनिक मल र विषादी प्रयोगमा सचेत रहन आग्रह गर्छौं’, उनले भने, ‘अर्गानिक दानेदार मलको प्रयोगमा जोड दिन सचेतना जगाउँछौं ।’ उनले किसान सचेत हुँदा मात्रै पनि धेरै फाइदा लिन सक्ने बताए ।
शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले प्राङ्गारिक मलको प्रयोगबारे किसानलाई सुसुचित गराउन जरुरी रहेको बताए । ‘यस्ता सचेतनामूलक कार्यक्रमले स्वदेशी उत्पादनको प्रबद्र्धन हुन्छ भने अन्नबाली र तरकारीमा रासायनिक मल र विषादीको प्रयोग कम हुन्छ’, उनले भने, ‘हामीले पालिकाबाट प्राङ्गारिक मलको प्रयोगबारे आवश्यक सचेतनाका कार्यक्रम गर्छौं ।’
उनले किसानलाई सकेसम्म स्वदेशी मलको प्रयोगमा जोड दिन आग्रह गरे । स्वदेशी उत्पादन भएकाले आफूहरुले यसको प्रयोग र प्रबद्र्धनमा सहयोग गरेर अघि बढ्ने उनको भनाइ छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij