२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

अपवित्र गठबन्धन जनताको म्याण्डेट होइन : कमल थापा

शुक्रवार , फाल्गुण २१, २०७७

भैरहवा, २१ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अपवित्र गठबन्धनको खेलमा नलाग्न नेपाली कांग्रेसलाई सुझाव दिएका छन् । जनताले गत निर्वाचनमा अपवित्र गठबन्धन गरेर सरकारमा जान म्याण्डेट नदिएको भन्दै उनले ताजा जनादेश नै अहिलेको लागि उत्तम विकल्प रहेको बताए । पार्टीले शुक्रबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष थापाले यस्तो बतए ।

सर्वोच्चले संविधानको धारा ७६ (१) को सरकारले प्रतिनिधिसभा विघटन गर्न सक्दैन भनेर संसद पुनस्र्थापना गरिदिएकाले अब कांग्रेसले धारा ७६ (२) अनुसारको सरकारको खेलमा नलागि ७६(७) अनुसार विघटनको विकल्पमा जानुपर्ने उनको भनाइ छ । नेकपा विभाजन भएमा सरकार गठनका लागि बल कांग्रेसको कोर्टमा पुग्ने भएकाले कांग्रेस फोहोरी राजनीतिको खेलमा लाग्न नहुने थापाले बताए ।

‘अहिले मुलुकसामु दुईवटा विकल्प छन्, एउटा अपवित्र गठबन्धनका माध्यमबाट सांसद किनबेच र राजनीतिक अस्थिरता र दोस्रो संविधानको धारा ७६ (७) अनुसार प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनाव”–उनले भने–‘कांग्रेसले दोस्रो विकल्पलाई रोज्नुपर्छ ।’ 

पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले अपवित्र गठबन्धन गर्ने हो भने त्यसको मूल्य कांगेसले लामो समयसम्म चुकाउनुपर्ने बताए । ‘सरकारमा गए तत्कालका लागि त फाइदा होला, तर पछि कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्छ”–उनले भने ।

सर्वोच्चको फैसलापछि मुलुकमा अस्थिरता निम्तिने संकेत देखिएको भन्दै उनले यसले प्रजातान्त्रिक प्रणालीलाई पनि कमजोर बनाउने जिकिर गरे । ’जनताले शान्ति र स्थिरताका निम्ति म्याण्डेट दिएका हुन्, त्यो म्याण्डेटले काम नगरेपछि निकास भनेको ताजा जनादेश नै हो’–उनले भने ।

अध्यक्ष थापाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी शान्तिपूर्ण राजनीतिको मूलधारमा आउनु स्वागतयोग्य र ऐतिहासिक कदम भएको पनि बताए । सरकारले विप्लव नेतृत्वको पार्टीलाई मूलधारमा ल्याएर ठूलो सफलता हासिल गरेको पनि थापाको भनाइ छ । ‘यसले आफ्ना फरक मान्यता स्थापित गर्न हिंसा र विद्रोहको बाटोमा जानुपर्दैन भन्ने कुरा स्थापित भएको छ’–उनले भने । अध्यक्ष थापाले धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रप्रति आफ्नो पार्टीको असहमति कायमै रहेको भन्दै मुलुकमा निम्तिने राजनीतिक अस्थिरताले धर्म परिवर्तन गराउन खोज्नेहरुलाई बल पुग्ने बताए ।

जनताले मुलुकको विकास गर्न भनेर नेकपालाई झण्डै दुईतिहाई बहुमत दिए पनि जनतामाथि धोका भएको उनले बताए । भ्रष्टाचार र कुशासनले मुलुकमा जरो गाडेको उनको भनाइ छ ।

राप्रपा रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताको अध्यक्षता तथा युवा नेता शंकर खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।