२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सन्दर्भ : सिद्धार्थ उद्योग वाणिज्य संघको स्थापना दिवस

मंगलवार , आश्विन १, २०८१

नेपालको उद्योग वाणिज्य विकासमा भैरहवाको पनि आफ्नै महत्व छ । वाणिज्य संघ संगठनको स्थापनाका सन्दर्भमा भैरहवामा मुख्य कार्यालय भएका  सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही र पछिल्लोपटक स्थापित  चेम्बर अफ कमर्स .उद्योग व्यापार संगठन), रुपन्देही सक्रिय रहेका छन् भने अन्य वस्तुगत संघ–संगठन पनि उत्तिकै क्रियाशील छन् ।  इतिहासका रुपमा हेर्ने हो भने सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाको सबैभन्दा पुरानो संगठन हो । अन्य कुनै पनि सामाजिक संघ–संस्था यति पुरानो पाइँदैन, भए पनि अस्तित्वमा देखिदैनन् । तसर्थ नेपालको उद्योग वाणिज्य विकासमा सिद्धार्थ उद्योग वाणिज्य संघको स्थापनाको सन्दर्भ सम्झन आवश्यक देखेको छु । यो पंक्तिकारले पनि सिद्धार्थ उद्योग वाणिज्य संघमा दुई दशक क्रियाशिल हुने मौका पाएकोले सिद्धार्थ उद्योग वाणिज्य संको स्थापनाका बारेमा स्थापना दिवसमा चर्चा गर्ने जमर्को गरेको छ

नेपालमा वाणिज्य संघ संगठनको विकासक्रम
पछिल्लो १ शताब्दीमा व्यापारीको संगठन विकासक्रम हेर्दा वि.सं. २००१ (सन् १९४५) मा नेपाली वाणिज्य संघ, ल्हासा (नेपाल चेम्बर अफ कमर्स)स्थापना भएको  भेटिन्छ  । त्यसअघि पनि व्यापारिक संगठन नभएका होइनन् ।

वि.सं. २००१ मा वीरगंज क्लोथ मर्चेन्ट एशोशिएसन गठन भएको थियो । शंकरलाल केडियाको संघर्षदेखि सफलतासम्म पुस्तकमा उल्लेख छ–भारत स्वतन्त्र त भयो तर पाकिस्तान विभाजनसहित । त्यसले गर्दा भारतमा भयंकर हिन्दु–मुस्लिम दंगा भड्किएको थियो । त्यही कारण कोलकत्ता, मुम्बई र अहमदाबादका धेरै मारवाडी व्यवसायीहरूले वीरगंजमा आएर पसल खोले र यस व्यापारको संरक्षणका लागि सबैभन्दा पहिले वीरगंज क्लोथ मर्चेन्ट एशोसिएसनको विक्रम सम्वत २००१ मा स्थापना भयो । यो २००४ सालबाट वीरगंज उद्योग वाणिज्य संघबाट परिचित भयो ।

पुस्तकमा यो पनि उल्लेख छ, वीरगंजका मारवाडी व्यवसायीहरुको फलेफुलेको व्यापारबाट स्वभाविक रुपमा काठमाडौंका केही व्यापारीहरुमा इष्र्या डाहा थियो । यस्तो अहिले पनि भेटिन्छ, यसको एउटा उदाहरण हो–भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन् नसक्नुमा काठमाडाैंका केही व्यवसायीद्वारा दखलको चर्चा हुनु ।

तत्कालिन काठमाडौंका व्यवसायीहरुले सीमा नाकाका व्यापारीहरुलाई संगठित गर्न खोजेको पाइँदैन । सायद यातायात असुविधाका कारण सम्पर्क सूचनाको अभाव पनि हुन् सक्छ । भाषागत अप्ठ्यारो पनि हुन् सक्छ । समुदायप्रतिको दृष्टिकोणले पनि हुन् सक्छ । यसै सन्दर्भमा नेपालको सीमाना भैरहवामा पनि व्यापारीको संगठन स्थापना गरिनुले भैरहवाको विकासमा उद्यमी व्यवसायीको महत्वपूर्ण भूमिका भएको बुझ्न सकिन्छ ।

वि.सं. २०११ र भैरहवा व्यापार मण्डल स्थापना
वि.सं. २०११ (सन् १९५४) मा भैरहवा व्यापार मण्डल स्थापना भएको थियो । यो पंक्तिकारको खोजमा यसको महिना र गतेको निक्र्योल गर्न संघमा प्रमाणित दस्तावेज भेटिदैन । आगलागीमा दस्तावेजहरु नष्ट भएको अनुमान छ, त्यसैले पछिल्लोपटक असोज १ गतेलाई सर्वमान्य मिति निर्णय गरिएको बुझ्न सकिन्छ । यसरी भैरहवा व्यापार मण्डलको स्थापना विक्रम सम्वत असोज १ गते तदअनुसार १७ सेप्टेम्बर १९५४ मानिएको छ । २०८१ असाजे १ गते पनि १७ सेप्टम्बर २०२४ परेको छ । विश्वकर्मा पूजाको दिनलाई पनि मिलाएर स्थापना दिवस मनाएको हो भने नकार्न सकिदैन । २०११ सालमा गौरी आयल मिलको पनि स्थापना भएको थियो । सायद विश्वकर्मा पूजाको दिन नै भेला भएको हुनुपर्छ ।

२०११ सालमा पोखरा उद्योग वाणिज्य संघ पनि स्थापना भएको थियो । त्यस्तै जनकपुर, विराटनगर, मोरङ अन्य ठाउमा उद्योग वाणिज्य संघ खुले । यसलाई व्यापारिक संगठनको विकासक्रममा  भनेर सहज बुझ्न सकिन्छ । यसो हुनुमा पोखरा र भैरहवाको हवाई आवातजावातको सुविधाका कारण पनि हुन् सक्छ । भैरहवावाट जहाजमा सामान पोखरा लगेर धौलागिरीको बेनी–बाग्लुंग पनि व्यापार हुन्थ्यो ।

वि.सं. २००० साल अघिदेखि नै भैरहवा नाकावाट कारोबार हुन्थ्यो । नौतनवामा बजार थियो, नेपालीहरु नौतनवा जान्थे । नौतनवाको एक सिनेमा घरमा राजाको तस्विर समेत राखिएको थियो । यो पंक्तिकारले समेत उक्त तस्विर देखेका थिए ।

नेपालबाट पहाडको घ्यू भारत जान्थ्यो । तोरी, धान, सिमी, अन्य  गेडागुडी लगायत जडीबुटी भारत निकासी हुन्थ्यो । भैरहवाबाट पहाडतर्फ खाद्यान्न, लत्ताकपडा लगायतका आवश्यक सामानको आपूर्ति हुन्थ्यो । भैरहवामा कुटानी पिसानीका मिल थिए । पुर्वमा जस्तो ठूलाठूला उद्योग भैरहवामा थिएनन् । भैरहवामा सानासाना कपडा, किराना, गल्लाका पसलहरु थिए । ढुवानीका साधन ठेलागाडा प्रचलनमा थिए । भरियाहरू थिए । ढुवानी गर्ने सवारीका साधनहरू थिए । तर, भैरहवादेखि बुटवल पुग्न आधा दिन लाग्थ्यो ।

२०११ अघि भैरहवामा कुनै बैंकको शाखा थिएन  । नेपालमा भारतीय मुद्राको दबदबा थियो । सीमा क्षेत्रमा स्वभाविक बढी प्रभाव हुने नै भयो ।

‘भैरहवामा मुख्य वजार मिलनचोक–मैत्रीपथ वरिपरी थियो । गल्लामण्डीमा गल्लाको व्यापार हुन्थ्यो । अहिलेको बैंकरोड जंगल थियो । डरलाग्दा जनावर हुन्थे । अहिलेको हुलाकभन्दा अगाडी जान सकिदैनथ्यो, ’केशरदेव वेरिवालका जेठा छोरा एवं व्यवसायी ८४ वर्षिय प्रभुदेव बेरिवाल सुनाउँछन् । प्रभुदेव अहिले पनि मिलनचोकमा कपडा पसल सञ्चालन गर्छन् । उनका बुवा केशरदेव भैरहवा व्यापार मण्डलका एक संस्थापक थिए । भैरहवाको सदरमुकाम बेथरीमा थियो । मालटोलमा हालको नेपाल बैंक अगाडी चोकमा भन्सार कार्यालय  थियो । अधिकांश घरहरूका छाना खपडाका हुन्थे । स्वास्थ्य उपचारका लागि भीम अस्पताल थियो ।

देशमा यातायातको व्यवस्था सहज थिएन । छोटो दुरीमा गोरुगाडा चल्थे । पहाडी तथा हिमाली भेगमा भरियाबाट ढुवानी हुन्थ्यो । भैरहवा र राजधानीसँगको सम्पर्क सामान्य थिएन । मोफसलमा हवाईजहाजको सुविधा पनि थिएन ।

भैरहवामा हवाई अड्डा थियो । यो वि.सं.२०१० देखि सञ्चालनमा आएको थियो । भैरहवा–पोखरा उडान हुन्थ्यो । विमानले यात्रु मात्र होइन मालसामान समेत ढुवानी गर्दथ्यो ।

यसकारण व्यापार मण्डल स्थापना भयो
यति सामान्य कारोबार हुने ठाउँमा किन व्यापार मण्डलको आवश्यकता भयो होला त् ? यो जिज्ञासा स्वभाविक हो । यसका पछाडिका कारण हेर्दा केही मुख्य कारणहरु हुन् सक्ने अनुमान लगाउन सकिन्छ । २००७ सालको क्रान्तिबाट प्राप्त प्रजातन्तमा राजनैतिक परिवर्तनका लागि मात्र होइन आफ्नो पेशा, संस्कृति, संस्कारको जर्गेनाका लागि पनि संगठित हुनुपर्छ भन्ने जागरुकता आउनु हो ।

२००८ सालमा डा के. आई सिंहले भैरहवामा विद्रोह गरेका थिए । विद्रोही र राज्य दुवै पक्षका ज्यानको ठूलो क्षति भएको थियो । देशभर  नै भैरहवाको नाम चर्चामा आउनु स्वभाविक भयो । डा. के.आई. सिंह मेडिकल पसल खोलेर केही समय नौतनवा बसेका थिए । भैरहवा देशको चर्चित स्थान थियो । लुम्बिनी जाने प्रवेशद्वार भैरहवा नै थियो । भारत प्रवेश गर्ने एक मुख्य नाका भैरहवा थियो ।

नौतनवाका व्यापारीहरू भैरहवा–बुटवलमा व्यापार गर्न स्थान्तरण भए । वीरगंज, विराटनगरवाट मुख्यतः मारवाडी समुदायका व्यवसायीहरु भैरहवा आए । कलवार, कसौधन, गुप्ता, बानिया, कानु समुदायका व्यापारीहरु पनि अन्यत्रबाट पनि भैरहवा आए । बर्मावाट आउने नेपालीले भैरहवालाई पनि रोजे । त्यतिबेला पहाडबाट तराई बसाइ सर्ने प्रचलन कम थियो ।

थकाली समुदाय भैरहवामा झरेका थिए । पछिल्लो समय भैरहवामा धौलागिरी वरफ कारखाना नाम राखेर उद्योग नै खोलिएको थियो । राप्तीबाट पनि व्यापार गर्न भैरहवामा मानिसहरू आवातजावत गरेको बुझ्न सकिन्छ । दाङ भेगबाट तोरी लगायतका अन्न भैरहवामा ठुलो मात्रामा आउँथ्यो । देवकोटाचोक बेलहिया जाने मार्गमा एक होटेलको नाम नै राप्ती होटल थियो । तत्कालिन समयमा पनि भैरहवाको बसाइ मिश्रित थियो ।

व्यापारीमा लेनदेनको आपसी झै–झगडा हुन्थ्यो । भैरहवा र नौतनवाका व्यवसायीहरूको बीचमा समेत विवादका विषय हुन्थ्यो । चुंगी कर, अन्य कर आदिका विषयमा पनि अप्ठ्यारो पर्दथ्यो । यो स्वभाविक पनि हो । भैरहवा व्यापार मण्डलका निर्णय पुस्तिकाबाट यी बुझ्न सकिन्छ । यस्ता अप्ठ्यारा विषयमा परेका समस्याहरुलाई समाधान गर्न नै संगठनको आवश्यक महसुस भएको हुनुपर्छ । यी नै मुख्य कारण हुन भन्दा फरक नपर्ला ।

बर्मावाट आएका मंगलसेन शर्मा, वीरगंजवाट आएका  अग्रवाल परिवार, राजस्थानबाट गोरखपुर नौतनवा हुँदै केशरदेव बेरिवाल, मित्तल, गोयनका परिवार र अन्य मारवाडी समुदाय भैरहवामा व्यापार गर्न  बसेका थिए । यिनीहरुकै नेतृत्वमा संगठन स्थापना भएको बुझ्न सकिन्छ । प्रारम्भिक समयमा संगठन विस्तारमा थकाली समुदायको नेतृत्वदायी भूमिका महत्वपूर्ण रहेको देखिन्छ ।

२००७ सालको परिवर्तनले देशमा प्रजातन्त्र आएको थियो । पेशागत हकहितका लागि संगठित हुने वातावरण थियो । २००७ सालमा काठमाडौंमा वाणिक मण्डल स्थापना भएको थियो । वाणिक मण्डल पछि गएर नेपाल चेम्बर अफ कमर्स भयो ।

२०११ सालमा भैरहवा व्यापार मण्डल स्थापना भयो । यसको संस्थापक अध्यक्ष मंगल सेन शर्मा थिए । उनले ठेक्कापट्टा गर्दथे । भैरहवाका धेरै सरकारी कार्यालय मंगलसेन शर्माले बनाएका थिए । मंगलसेन शर्मा सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य अभिनव मयुर कसौधनका हजुरबुवा हुन्  । शर्मा वि.सं. २०११ देखि २०१२ सम्म अध्यक्ष बने । प्रारम्भिक कालको १२ वर्ष यसको नेतृत्व क्रमशः नथमल अग्रवाल, केशरदेव वेरिवाल, गिरधारी लाल मित्तलले गरे । १५ वर्षमा संगठनको जग बसिसकेको थियो, मान्न सकिन्छ । यसै जगमा आज सिद्धार्थ उद्योग वाणिज्य संघ उभिएको छ । यसका संस्थापकहरु केदारनाथ अग्रवाल, सुब्बा कृष्णमान शेरचन, रुद्र्विलाश तुलाचन, मथुराप्रसाद बजिमय, मोहनसिंह बिजुक्छे , तेजबहादुर शेरचन लगायत अन्य व्यवसायीहरू थिए । अन्य व्यवसायीहरुको भने दस्तावेज भेटिदैन ।

वि.सं. २०११ मा संस्थापक अध्यक्ष मंगलसेन शर्मादेखि २०८१ सम्मका अध्यक्ष ठाकुर कुमार श्रेष्ठसम्म आइपुग्दा ७० वर्ष पूरा भएको छ । यसको गरिमापूर्ण इतिहास र संघको मध्यकालिन समयमा सम्पादित कार्यहरुको महत्वलाई बुझ्न जरुरी छ । संघको इतिहासको  विरासतलाई कायम राख्न अवसर छ र चुनौती पनि । पछिल्लो पाँच वर्षमा संघका पूर्वअध्यक्षहरु गिरधारीलाल मित्तल, निधान चन्द श्रेष्ठ र ओमकार गौचनले भौतिक रुपमा संघलाइ छोडेका छन् । संघको स्थापना दिवसको अवसरमा उहाँहरु लगायत हामीबीच भौतिक रुपमा नरहनुभएका पूर्व अध्यक्षहरुलाई सम्झन आवश्यक सम्झन्छु ।WhatsApp Image 2024-09-17 at 14.06.09 (1)aa.jpg


(लेखक सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका पूर्व महासचिव हुन् ।)