विश्व इतिहासमै लगभग ९० प्रतिशत जनप्रतिनिधिहरुको सहमतिमा नयाँ संविधान जारी गरी सकेपश्चात नेपाल राष्ट्र र नेपाली जनताको समृद्धि हुने अपेक्षा गरिएको र लगभग अब राजनीतिक मागहरु सबै पुरा भइसकेको भन्ने आशयलाई मान्ने र मुलुक राजनीतिक स्थायीत्वसँगै आर्थिक विकासको पाटोमा अगाडी बढ्ने आशामा रहेका हामी सबै आम जनतामा अहिले जतिको निराशा कहिले छाएको थिएन् वा चरम निराशा ? यसो भन्दा केही राजनीतिक दलका स्वार्थका लाभ लिएर बसेकाहरुले बहुत धेरैथोक भएको छ । खाली निराशा मात्रको कुरा किन गर्ने भन्दै आफ्नो स्वार्थको रक्षाको कुरा गर्छन् । अनुहारमा खुसी र राज्य र सरकार भएको अनुभति जनताले महसुस गरेको दिन मात्र राज्यको समृद्धिको कल्पाना गर्न सकिन्छ, यो कुरा सामान्य नेपाली नागरिकले महसुस गर्न पाउने भन्ने कुरा आकाशको फल आँखा तरी मर भन्ने भनाइ जस्तो छ ।
संविधान जारी भएको दशौं वर्षकोे वर्षमा आउँदासम्म पनि कतिपयले संविधानलाई आत्मसात् गर्न नसकेका राजनीतिक दल तथा संविधान जारी गरी हामीहरु नै संविधानको बाबुआमा भन्ने राजनीतिका दलहरुबाट विस्तारै संविधानका लिखतहरु मेटाउने र केवल आफ्ना नीहित व्यक्तिगत स्वार्थ र सत्ताको लागि मात्र संविधानको प्रयोग वा कु प्रयोगमा वा हिजोआज संविधान संशोधनका ललिपप देखाउनेमा मात्र सीमित भएको संविधानका लिखतहरु वा संविधानमा उल्लेखित अधिकारहरु र जनताका अधिकारहरु जनताले कहिले उपयोग गर्न पाउने हो भन्ने विषयमा केही राजनीतिक दलहरुले कहिले बहस गर्दैनन् । एकातिर भाषणमा आम नागरिक लिङ, धर्म, जात, वर्ग, रंग, पहिचान, भाषाको हितको कुरा गर्नेहरु वास्तविक कार्यसम्पादनमा जाँदा वा मन्त्री प्रधानमन्त्री हुँदा ती कुराहरु बिर्सने र कमाउ धन्दामा मस्त रहने भन्दा अन्य प्रगति भएको देखिदैन् । राजनीतिक पार्टीहरु र उनीहरुको संविधानप्रतिको सहमति वा विमति केवल आफ्ना आफ्ना व्यक्तिगत फाइदा, स्वार्थ सत्ताको लुछाचुडी र भागबण्डामा सीमित राखेको देखिएको छ । पञ्चायतको ३० वर्षमा केही भएन हामी गर्छौ भन्नेहरु सत्तामा आएको पनि ३४ वर्षभन्दा बढी समय हुँदा पनि आम जनताको दैनिकीमा परिवर्तन हुने कुनै छन्क देखिएको छैन । राष्ट्र हिजोभन्दा आज झन जर्जर अवस्थामा पुगेको छ । नागरिक र युवाहरुमा निराशा छाएको छ देशमा कुनै भविष्य छैन भन्ने भाष्य स्थापित हुन पुगेको छ ।
सम्पूर्ण राज्य संयन्त्र, प्रधानमन्त्री, मन्त्रीहरु, सचिवहरु नै संस्थागत भ्रष्टाचार कुशासनमा लिप्त हुन पुगेका देखिएको छ ? फलस्वरुप यसले जनतामा यदी व्यापक निराशा छाएको छ कि नेपालमा कुनै भविष्य नदेखी रोजगारी वा उच्च शिक्षाको नाममा युवा वा नागरिक मुलुक छोडेर गइरहेका अनि यही रित्तिदै गरेको मुलुकमा सत्ताको लागि मात्र मरिहत्ते गर्ने र त्यसैको लागि रातरात सम्झौता गर्ने र आजीवन सत्तामा रहने प्रवृति मात्र संविधान जारी भएको यो दश वर्षमा देखिएको छ ।
संघीयतासहितको संविधानपछि देशको कायापलट हुनेछ र नेपाली जनताको आर्थिक स्थितिमा व्यापक सुधार आउनेछ भन्ने आशमा रहेका आम नेपाली जनताले यी दश वर्षसम्म पनि निराशा महसुस गर्ने वातावरण बनिरहेको अवस्था एकातिर छ भने सीमित व्यक्तिरुले मात्र राज्यबाट प्राप्त गर्ने सुविधाको दोहन गरिरहने र तिनै मात्र सत्ताको वरिपरी रहने अन्त्य कहिले हुने हो यकिन हुन सकेको छैन । तर, सीमित राजनीतिक दल र तिनका नेताहरुको आर्थिक हैसियत उल्लेख्य परिवर्तन देखिएको छ । कहाँबाट कसरी यस्तो हैसियत निर्माण भयो भन्ने उनीहरुमा जवाफदेहीता छैन । एउटा जाबो सवारीसाधनको लाईसेन्स समयमा दिन नसक्ने परम्परा तोड्न नसक्नेहरु, अस्पतालमा जनतालाई सर्वसुलभ सेवा दिन नसक्ने तर, आफूहरु उपचारको लागि राज्यकोषको दुरुपयोग गर्दै वैदेशिक सयर गर्नेहरुबाट देशले र आम नागरिकले के अपेक्षाको गर्ने ? यी वर्षहरुमा विकास निर्माणका कार्यहरु र समृद्धिको सूचकहरुको चाङ लाग्नुपर्ने तर, त्यसो हुन नसकी कुशासन र भ्रष्टाचारका काण्डहरुको लामो चाङ लागेको छ त्यसमा छ आरोपितहरु खुलेआम पदमा रमाएर राजनीति गर्दैै हिंडिरहेका छन् हाम्रो बिडम्बना ?
संविधानले तोकेका राज्यका प्रमुख अगंहरु कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकासहित अन्य संवैधानिक अंगहरु र तिनको सक्षमतामाथि आम नागरिकले प्रश्नहरु उठाइरहेका छन् । संविधान प्रद्वत्त जनताका सेवासुविधा र मौलिक हकहरु जनतालाई संविधान जारी भएको दश वर्ष हुँदासम्म प्रत्याभूत हुन नसक्दा पनि कुनै दलहरुमा कुनै प्रकारको आत्मग्लानी देखिएको छैन् ? त्यसैको निरन्तरताका बीचमा पछिल्लोपटक रातारात संविधान संशोधनका कुरामा सहमति जनाउँदै वा जनताको विश्लेषण अनुसार भ्रष्टचारका काण्डमा आफूहरु जोगिनका लागि ? संसदको संख्याको आधारमा देशका पुराना दुई ठूला दलहरु मिलेर सरकार परिवर्तन भएको छ । जसको मूल नारा भनेको स्थिरता र सुशासन र संविधान संशोधन भनिएको छ । उनीहरुका अनुसार स्थिरताको बाधक संविधान भएकोले यसको संशोधन गर्ने भनेका छन् भने त्यो के हुन्छ भविष्यको गर्भमा होला ? अर्को सुशासन भनिएकोमा विभिन्न काण्डहरुमा संलग्न भएका भनिएकाहरुले नै मन्त्री पदको लाभ लिएका छन् । अब सुशासनको नारा के भयो यो आम जनताले नै विश्लेषण गर्नेछन् ।
हुन त जनताले यी अहिलेका पात्रहरु ठूलो अपेक्षा त राखेका छैनन् र संविधान संशोधन वा त्यसका लिखतहरु कागजमा हेरफेर गर्दैमा केही परिवर्तन हुँदैन जब वास्तविक रुपमा यी राजनीतिक दल र यसका पात्रहरु जनताको सुख, समृृद्धि र मुलुकको हितमा कार्य गर्दैनन् वा आफ्नो व्यवहारमा परिवर्तन गर्दैनन् । तर, पनि संविधान संशोधनका कुरा उठिसकेपछि आम नागरिकले पनि संविधानमा लेखिएका केही विषयवस्तुहरु जुन परिवर्तन भएमा केही सुधार हुन्छ वा आर्थिक अवस्थामा केही सुधार हुने थियो कि भन्ने अपेक्षा राखेका छन् ।
- देशको आर्थिक प्रणाली धान्नै नसक्ने र जस्को कारण तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था सिर्जना गरेको तीन तहको संघीयता खारेज गरी दुई तहको संघीयता–केन्द्र र स्थानीय ?
- संघीय संसदको संख्या बढीमा ११० त्यो पनि निर्वाचन प्रणाली सुधारसहित ?
- प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति ?
- सांसद् मन्त्री बन्न नपाउने व्यवस्था ?
- शहरउन्मुख र शहर केन्द्रित नगरपालिका तथा गाउँपालिकाहरुलाई समेटी महानगर वा उपमहानगर बनाइ हालको नगरपालिकाहरु र गाउँपालिकाहरुको संख्या घटाउने ?
- जिल्ला समन्वय समिति पूर्ण रुपमा खारेज ?
- राष्ट्रिय सभा खारेज वा यसमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था ?
- अनावश्यक संवैधानिक आयोगहरु ?
- उपराष्ट्रपति पद ?
संविधान संशोधन भन्दा पनि संविधानमा उल्लेख गरेका सेवासुविधा, जनताका मौलिक हक शिक्षा, स्वास्थ्य, सार्वजनिक सुविधा, सुशासन जस्ता मुलभूत तत्वहरुको जनता समक्ष पुर्याउने, राज्य शक्तिहरुमा देखिएको खराब प्रवृति र स्वार्थ समूहहरुको हालीमुहाली रोक्ने, दलहरुमा देखिएको अकर्मण्यतामा व्यापक सुधार कार्यलाई तदारुकताका साथ कार्यान्वयनमा नलैजाने हो र यही प्रवृति रहिरहयो भने राष्ट्र थप असफलताको बाटोतिर लम्किरहने छ । अराजकता र बेथिति बढ्दै जानेछ, यसको व्यापक असर आगामी केही वर्षभित्र देखा पर्ने निश्चित छ । अब पनि सचेत नहुने हो भने देश कहाँ पुग्ने हो सर्वसाधारण सबैमा चिन्ता छाएको छ । यो वर्षको सविधान दिवसले राज्य सत्तामा रहनेहरुलाई जनताको हितमा काम गर्ने र संविधानको उद्देश्य पुरा गर्न संविधान भन्दा पनि दल, दलका पात्रहरु उनीहरुको खराब, कमाउ प्रवृत्ति, कार्यशैली र व्यवहार हो भन्ने विषयको बोधको बुद्धि दिओस् शुभकामना ।