२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

ग्रेटवालमा झण्डा फहराउन नपाउँदा...

बुधवार , आश्विन ९, २०८१

१६ अगस्तको साँझपख कुइयाङ्गको होटलमा सामूहिक भेलामा बेइजिङ्ग भ्रमणबारे लिजले सुनाइन्–‘वर्षाद्को समय छ, छाता अनिवार्य, हलुका कपडा, स्पोर्टस् जुत्ता लैजान नभुल्नुहोला, मौसमले साथ दियो भने मात्र ग्रेटवाल यात्रा सफल हुन्छ ।’ मनमा चिसो पस्यो, कतै मौसमले साथ नदिने पो हो कि ? कुइचाउको कुइयाङ्ग शहरमा मध्यरातमा घुम्दै गर्दा मन भने बेचैनी थियो, कतै मौसम प्रतिकुल पो हुने हो कि भनेर । चीनको १७ दिने भ्रमण तालिका आउनासाथ दिमागमा तीन कुरा मात्र फन्फनी घुमेका थिए, ग्रेटवाल, पोतला दरबार र कैलाश पर्वत अर्थात मानसरोवर ।

यी तीन ठाउँ भ्रमण गर्ने मेरो उत्कट अभिलाषा पोतला दरबार र मानसरोबर तिब्बतमा पर्ने भएकाले सम्भव थिएन, बाँकी रहेको ग्रेटवाल पनि मौसममा निर्भर रहने । तीव्र विकास र शहरीकरण भइरहेका चीनका हरेक ठाउँ र गाउँ हेर्नलायक थिए, तर त्यो शहरीकरण, विज्ञान र प्रविधिले भन्दा मेरो मष्तिष्कले ग्रेटवाल रोजेको थियो । प्रकृतिमाथि विजय हासिल गरिरहेको चिनियाँ प्रविधिका कुरा मेरो जानकारीमा थिए । नक्कली सुर्य बनाउन, ओलम्पिक प्रतियोगितामा वर्षा रोक्न सकेको चीनका प्रगतिका कुरा संसारसामु लुकेको विषय होइन । तर, ती विकास र समृद्धि भने ग्रेटवाल सामु होचा थिए मेरा लागि ।

ग्रेटवाल विश्वको सातौं आश्चर्य । नांगो आँखाले अन्तरिक्षबाट देखिने एक मात्र मानवनिर्मित संरचना । विश्व सम्पदा सूचीमा सुचीकृत प्राचीन तथा ऐतिहासिक स्थल । जसले गर्दा चीन र ग्रेटवाल मेरो मन मष्तिष्कभित्र गडेर बसेको थियो ।

१८ अगस्तको साँझ पनि लिजले बेइजिङ्गको वाङजिङ्ग साउथस्थित होटल लबीमा त्यही दोहोर्याईन्–‘लगाउने कपडा, लैजानुपर्ने सामग्रीदेखि बिहान ८ बजे तयार भएर होटल लबीमा जम्मा हुने ।’ १९ अगस्त अर्थात भदौ २, आजकै दिन ग्रेटवाल पुग्ने साइत । आजै हिन्दूहरुको पवित्र पर्व जनैपूर्णिमा । घरमा भएको भए बिहान ३ बजेदेखि सुरु हुन्थ्यो जनै पूज्न जानका लागि गरिने संस्कार कर्म । तर, बेइजिङ्गको होटलको रेष्टुरेण्टमा ललितपुरका पत्रकार साथी अमृतनाथ तिमिल्सेनाले दिएको जनै फेरेर कर्मकाण्ड पुरा गरें । बिहानको खाजा खायौं । निर्धारित समय बिहान ८ बजे हाम्रो यात्रा सुरु भयो ग्रेटवालको लागि । कुइचाउ एकेडेमी अफ साइन्सेजका डेपुटी डाइरेक्टर फु झाङजुङ्गको नेतृत्वमा नेपाल, दक्षिण अफ्रिका, म्यानम्यार, अफगानिस्तान, क्युवा र इजिप्टका गरी झण्डै तीन दर्जन प्रतिनिधि बस चढेर ग्रेटवाल प्रस्थान गर्याैं । मौसम एकदमै सफा नभए पनि खराब पनि थिएन । जब बसमा दोभासे लिजले मनोरञ्जन गराउन आ–आफ्नो देशको गीत गाउन सक्ने जानकारी गराइन्, हाम्रो टोलीका तिमिल्सेनाले सूर्यदेवको मन्त्रोच्चारण गरे । त्यसपछि हामीले रेशम फिरिरी गायौं, चिनियाँ र अन्य विदेशी गीत–संगीतको प्रस्तुतिबाट करिब एक पौने घण्टा रमायौं । दुई घण्टाभन्दा बढी समय लाग्ने बस यात्रामा बाँकी समय भने आ–आफ्नो सिटबाट नियाल्दै अघि बढ्यौं ।

हामी १०ः३० मा ग्रेटवालको बेसस्टेशन पुग्यौं । आइतबार सार्वजनिक विदा भएकाले होला निकै भिडभाड थियो । अत्यन्तै सफासुग्घर र कुशल व्यवस्थापन, ठाउँठाउँमा माइकिङ्ग गरिरहेका कर्मचारी लोभलाग्दो थियो बेसस्टेशन । त्यहाँ गर्नुपर्ने प्रक्रिया पूरा गरेर केहीबेरमै हाम्रो यात्रा सुरु भयो । आयोजकले घोषणा गरे–‘भीड छ, सबै सँगै नहुन पनि सक्छौं, यदि समूहबाट छुट्टिए पनि फर्किएर दिउँसो १ बजे यसै ठाउँमा भेटौं ।’ मुख्यद्वारबाट भित्र पसेर टोली उकालो लाग्यो । भदौरे घाम कडा थियो, उकालो यात्रा, छिचोलिनसक्नु भिड, सुरुमा सँगसँगै रहेको हाम्रो टीम फोटो खिच्ने र दृश्यावलोकन गर्ने क्रममा तितरवितर भयो । कोही धेरै अगाडि कोही धेरै पछाडि । ग्रेटवालको बीचबीचमा दुई–तीन तल्ले घर, सहायक पर्खाल भएकाले अलमल पनि हुँदो रहेछ । पैदल हिंड्न नसक्नेका लागि केबलकारको पनि सुविधा । हामीहरु सबै पैदल यात्रामा थियौं । ग्रेटवालको अग्लो पोइन्ट अन्तिम लक्ष्य थियो ।

उकालो चढ्दै गर्दा युनिभर्सिटीका डेपुटी डाइरेक्टर फुसहित नेपाली टोलीका पत्रकार अमृतनाथ तिमिल्सेना, सहकारी बोर्डका ओमप्रकाश गैरे, अफगानिस्तानका अब्दुल रहिम मजदी र यो पंक्तिकार अरुसँग बिछोडियौं । फोटो खिच्दै जाँदा भिडभाडमा अरु कता पुगे पत्तै भएन । हाम्रो टोली ग्रेटवालको सबैभन्दा हाइटमा पुग्यो । त्यहाँ पुग्दा ठूलै युद्ध जिते जस्तो, सफलताको सिंढी पार गरेजस्तो महसुस भयो । हेत्तेरिका ! नेपाली झण्डा ल्याउनुपर्ने ! म बोल्दै थिएँ, गैरेले ब्यागबाट निकालिहाले । तर, सुरक्षाकर्मीले त्यसलाई फहराउन भने दिएनन् । त्यसलाई सहज स्वीकार्नुको विकल्प थिएन ।
त्यतिबेलै युनिभर्सिटीकी डेपुटी डाइरेक्टर फूलाई असहज भयो । हामीभन्दा छिटो उकालो चढेकी फूलाई चर्को गर्मी र उकालो यात्राले गाह्राे बनाएको थियो । शितलमा टाउको समातेर बसेकी उनलाई तिमिल्सेनाले गोजीमा रहेको एउटा चकलेट दिए, त्यसैले उनलाई उर्जा दिएछ क्यार ! करिब पाँच मिनेटपछि पूर्ववत् अवस्थामा फर्किइन् । हामी बेसस्टेशन फर्किने अब दुईवटा बाटो थिए । एउटा अझै अगाडि गएर सहायक पर्खाल हुँदै फर्किने र अर्को गएकै बाटो । हामीले अफ्ठेरो भए पनि अझै अगाडिबाट जाने निधो गर्याैं, जुन अत्यन्तै उकालो र ओरालोले गर्दा अलि अफ्ठेरो रहेछ । ऐतिहासिक पर्खालको फोटो, भिडियो र त्यहाँबाट देखिने पहाडी श्रृंखला, वनपाखा अवलोकन गर्दै निर्धारित समयभन्दा आधा घण्टा ढिलो बेसस्टेशन झर्‍यौं ।

ग्रेटवाल चीनको राजधानी बेइजिङ्गलाई उत्तरी शासकबाट सुरक्षित राख्न झण्डै २ हजार वर्ष लगाएर बनाइएको संरचना । ईशापूर्व पाँचौं शताब्दीदेखि १६ औं शताब्दीको मध्यसम्म यसको निर्माणकाल मानिन्छ । पूर्वमा शानहाईगुआनदेखि पश्चिम लोपनुरसम्म पहाडमाथि नागबेलीझैं फैलिएको यो विशाल पर्खालको लम्बाइको विषयमा फरकफरक तथ्य भेटिन्छन् । सन् २०१२ मा भएको एक सर्भेले ग्रेटवालको कुल लम्बाइ शाखा र उपशाखा जोडेर २१ हजार १ सय ९६ किलोमीटर रहेको देखाएको छ । त्यसअघि यसको लम्बाइ ८ हजार ८ सय ५१ किलोमीटर लम्बाई रहेको तथ्य थियो ।

बाहिरी शत्रुबाट जोगाउन निर्माण गरिएको ग्रेटवाल सन् १२११ मा मंगोल शासक चंगेज खाँको सेनाले एक ठाउँमा भत्काएर त्यहीँबाट चीनभित्र प्रवेश गरेर आक्रमण गरेका थिए । चीनमा यो पर्खाललाई वान ली चेंग चेंगको नामले पनि चिनिन्छ । यो पर्खालको चौडाइको एकसाथ पाँचवटा घोडा वा १० जना सैनिक पैदल हिँड्न सक्छन् । पर्खाल माटो, ढुंगा र चामलको पिठोले बनाइएको छ । यसको उचाई ३५ फिट छ । बीचबीचमा शत्रुलाई हेर्न स–साना प्वाल, लुक्ने किल्लाहरु पनि छन् ।

चीनका प्रथम सम्राट शी हुआङ्गले ठूलो पर्खाल बनाएर राज्य सुरक्षित गर्ने कल्पना गरेका थिए । पछि मिंग वंशका शासकले निर्माण सुरु गरेर २ हजार वर्ष पछिसम्म पनि निर्माण जारी रह्यो । ग्रेटवाल सम्पन्न गर्न २० देखि ३० लाख मानिसले आफ्नो जीवन लगाएका थिए । निर्माणका क्रममा करिब १० लाख मानिसको मृत्यु भएको र उनीहरुलाई पर्खाल मुनि गाडिएको थियो । जसले गर्दा ग्रेटवाललाई संसारकै सबैभन्दा ठूलो चिहान पनि भनिदोरहेछ । तर, यो विषय भने खोज हुन बाँकी छ । संयुक्त राष्ट्र संघीय शैक्षिक, बैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को) ले सन् १९८७ मा ग्रेटवालका कतिपय भागलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ ।

ग्रेटवाल चिसो मौसममा चढ्न कठिन छ । तापक्रम माइनस २० डिग्री सेल्सियससम्म पुग्ने र बाक्लो हिउँ जम्ने भएकाले करिब २ महिना अलि सुनसान देखिन्छ । वार्षिक १ करोड ५० लाख मानिस ग्रेटवाल अवलोकन गर्न पुग्ने गरेका छन् ।

त्यतिविधि भिडभाड हुने ग्रेटवालको चिरिच्याट्ट सरसफाई र ब्यवस्थापन हेर्दा लाग्थ्यो, माल पाएर मात्र हुँदैन चाल पनि पाउनुपर्छ । चिनियाँ माल र चालले संसारलाई लोभ्याइरहेछ ।