२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मुख्यमन्त्री आचार्यले लुम्बिनी भ्रमणका लागि दिए निम्तो

शुक्रवार , आश्विन ११, २०८१

दाङ, ११ असोज ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वदेशी तथा विदेशी पर्यटकहरुलाइ लुम्बिनी प्रदेश भ्रमण गर्न आह्वान गरेका छन् । दाङको घोराहीमा आयोजना गरिएको विश्व पर्यटन दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले ‘लुम्बिनी घुमौं’ अभियानलाई व्यापक बनाउने उद्घोष गरे ।

‘म सबैमा आह्वान गर्न चाहन्छु, लुम्बिनी प्रदेशको एकपटक अवश्य भ्रमण गरौं’उनले भने–‘लुम्बिनी प्रदेश पर्यटनको केन्द्र हो । हरेक हिसाबले लुम्बिनी समृद्ध छ । हाम्रो प्रदेश मिनि नेपालको रुपमा स्थापित छ । एकपटक लुम्बिनी भ्रमण गर्न सबैमा निमन्त्रणा गर्दछु ।’

लुम्बिनी प्रदेश सरकारले लुम्बिनी पर्यटन सर्किटलाई स्थापित गर्ने बताए । ‘लुम्बिनी आएका पर्यटकलाई १२ जिल्लाको भ्रमण गराउने गरी पर्यटन सर्किट बनाउने गरी काम भइरहेको छ’उनले भने–‘विदेशी पर्यटक भित्र्याउन अन्तर्राष्ट्रियस्तरमा पनि समन्वय भइरहेको छ ।’ प्राकृतिक रुपमा लुम्बिनी समृद्ध रहेको र यसबाट विकासको आधार निर्माण गरिने उनले बताए । ‘लुम्बिनी प्रदेश पर्यटक दृष्टिकोणले एक नम्बरमा पर्छ । पर्यटनको प्रचुर सम्भावना छ’उनले भने–‘विभित्र जातजाति, समुदायको कला संस्कृतिले लुम्बिनीको पहिचान विश्व समुदायमा पुगेको छ ।’

लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाएको छ । उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा ४५ औं पर्यटन दिवस घोराहीमा  मनाइएको हो । पर्यटन, न्याय र शान्ति मुल नारासहित उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो । 

कार्यक्रममा घोराही उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख हुमाकुमारी डिसीले पर्यटनको विकासबाट समृद्धि हासिल गर्न सकिने प्रशस्त आधारहरु रहेको बताइन् ।‘पर्यटन दिवसले रोजगारीको अवसर सृजना गर्छ । स्थानीय उत्पादनको बजारीकरण गर्न मद्दत गर्छ । यसले समग्र विकासमा टेवा पुग्छ’उनले भने–‘पर्यटन समृद्धिको आधार हो । यहाँका नागरिकको जीविकोपार्जन गर्न अवसरहरु सृजना गर्दछ ।’

थरिथरि झाँकी र रैथाने परिकारको उत्सव

पर्यटन दिवसलाइ विभिन्न समुदायको झाँकी, रैथाने परिकार, हस्तकलाका सामाग्री प्रदर्शनीले भव्य बनाइएको छ । गणेशपुर तुलसीपुरले गन्धर्व समुदायको मालाश्री सारंगी धुन, अवधि संरक्षण प्रतिष्ठान गढवाले अवधी नाच, देउखुरीका थारु समुदायले कठघोरी नाच प्रस्तुत गरेका थिए । नेवारी समुदायको लाखे नाच, तुलसीपुर गरगरवाका स्थानीयले नुवागाउँले सोरठी नाच प्रस्तुत गरेका थिए । 

460505556_876596567766457_8729634168449086609_n.jpg

पाल्पा मिस्दी गाउँपालिकाको कोरा नाच, घोराही–१० को थारु समुदायको वडका नाच, लुकमेली खाम समाजको भुम्या नाच, घोराहीका थारु समुदायले थारु सख्या नाच प्रदर्शन गरेका थिए । यस्तै हातबाट बुनिएका कपडा, माटोका भाँडा, फलामका सामग्री प्रदर्शनीमा राखिएको थियो ।