२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

डिजिटल सुरक्षा : बालबालिकालाई कसरी जोगाउने ?

सोमवार , आश्विन १४, २०८१

समाज विकासको चरणमा प्रविधिले यसरी क्रान्ति गरेको छ कि सबै अरु कुराहरु गौण जस्तो छ । प्रविधिको विकासले विभिन्न क्षेत्रहरु जस्तै उद्योग, स्वास्थ, शिक्षा, पर्यटन, सुरक्षा, कृषि क्षेत्रमा योगदान पुर्याउँदै आएको छ ।

अहिले किसानले अटोमेटीक प्रणालीबाट घाँस काट्न सक्छन्, गाईभैसीको थुनबाट दुध दुन सक्छ लगायत । अहिले अस्पतालमा पुग्ने हो भने अत्याधुनिक एक्स–रे मेसिनहरु, सिटीस्क्यानहरु देख्न सकिन्छ । विद्यालय पुग्ने हो भने अत्याधुनिक सुचना प्रविधि कक्षाहरु देख्न सकिन्छ । उद्योगहरु आजभोली अटोमेटिक मेशिनबाट सञ्चालित छन् ।

यी सबै उदाहरणको मतलब के हो भने हाम्रो समाज कति धेरै प्रविधिमैत्री भएको छ । प्रविधिको विकाससँगै यसबाट उत्पन्न हुन सक्ने असुरक्षाहरु पनि बढ्दै गएको छ ।

प्रविधिको उच्चतम विकास भइरहेको अवस्थामा यसबाट बालबालिका अछुतो रहन सक्दैनन् । अहिले दिनप्रतिदिन बालबालिकाहरु प्रविधिसँग जोडिन थालेका छन् ।

प्रविधिसँग जोडिनुको फाइदा धेरै छन् । बालबालिकाहरु हरेक घटनाबारे अपडेट हुन सक्छन् । अध्ययनका सामग्रीहरु हेर्न सक्छन्, समाजसँग जोडिन सक्छन् लगायत । तर, यस्तो जहिले पनि होला र ? सधै सुरक्षित र सकारात्मक होला त ?

संसारमा अहिले आर्टिफिशियल इन्टलिजेन्श (एआई) को विकास भएको छ । एआईको विकासले निसन्देह प्रविधिले ठूलो फड्को मारेको छ । आर्टिफिशियल इन्टलिजेन्श (एआई) अहिले शक्तिशाली बन्दै गएको छ । हाम्रो व्यक्तिगत जीवनलाई पनि एआईले अहिले प्रभाव पारिरहेको छ । एआईको आगमनले अविश्वसनीय प्रगति र अप्रत्यासित चुनौतीहरु दुवै ल्याएको छ ।

जब हामी आर्टिफिशियल इन्टेलिजेन्श (एआई) को परिदृश्य पछ्याउन थाल्छौं, हामीलाई यसबाट बालबालिकाको कल्याणमा निम्त्याउन सक्ने जोखिमहरु बुझ्न आवश्यक हुन्छ ।

आर्टिफिशियल इन्टेलिजेन्श (एआई) मार्फत समाग्रीहरु (फोटो, भिडियो, अडियो) सिर्जनादेखि लिएर अनलाइन ग्रुमिङ (अनलाइनमा बालबालिकाहरु माथी दुर्वयवहार) मा परिस्कृत एल्गोरिदमको प्रयोगसम्म हुन सक्ने सम्भावना रहन्छ । एआईले बालबालिकाहरुको डिजिटल अनुभवमाथि गहिरो र बहुआयामिक प्रभाव पारेको हुन सक्छ ।

जस्तै अहिलेका बालबालिकाहरु टिकटक हेर्ने, बनाउने, पोस्ट गर्ने मोबाइलको प्रयोग धेरै ढंगबाट गर्ने गरेका छन् । नेपालको शहर बजारमा पनि अहिले बालबालिकाहरुले मोबाइलको प्रयोग छरपस्टै गरेको देखिन्छ । र, पछिल्लो समय एआईको विकासले प्रत्येकको मोबाइलसम्म नै प्रभाव पारिरहेको छ ।

सबैभन्दा पहिले हामी बालबालिकाहरुको जीवनमा एआईको प्रभाव के हुन सक्छ ? यसबारे चर्चा गर्न जादैछौं ।

यी तीन एआईका खतराहरू प्रत्येक आमाबाबुले थाहा पाउनुपर्छ
१) एआईद्वारा निमृत बाल यौन दुर्वयवहार सामग्री 
एआईद्वारा निमिति बाल यौन दुव्र्यवहार सामग्रीले कृत्रिम प्रविधिबाट एउटा यस्तो एल्गोरिदम (कोड) को विकास गर्छ । जसले बालबालिकाहरुको जीवन्त जस्तो देखिने तर बनावटी (नक्कली) सामग्रीहरु सिर्जना गर्दछ । यो नै पहिलो चुनौती हामी आम अभिभावकहरुको लागि हो । यो सामग्रीले तपाईले सामाजिक सञ्जालमा राखेको बालबालिकाहरुको महत्वपूर्ण डाटा (फोटो, भिडियो, अडियो लगायत) को सहयोगबाट कृत्रिम रुपमै बाल यौन दुव्र्यवहारका सामग्रीहरु निर्माण गर्न सक्ने सम्भावना रहन्छ । एआईको यो नकारात्मक पक्षका कारण अहिले बालबालिकाहरुलाई डिजिटल सुरक्षाको खतरा बढ्दै गएको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय जगतमा एउटा शब्द चर्चित छ ‘सेक्सटोर्सन’ अर्थात एआईद्वारा निर्मित बाल यौन दुव्र्यवहार सामग्रीको प्रयोग गरी अपराधिक मानसिकता भएका जो कसैले पनि बच्चाहरूलाई धम्की दिन वा उनीहरूका मागहरू पूरा गर्न जबरजस्ती गर्न, चाहे त्यो पैसा पठाउने, धम्कीको पालना गर्ने वा नक्कली सामग्रीको रिलीजलाई रोक्न यौन कार्यहरूमा संलग्न हुने हो ।
अब उप्रान्त कसैलाई तपाईंको बच्चाको शोषण गर्न वा धम्की दिनको लागि वास्तविक नग्न वा स्पष्ट तस्बिरको आवश्यकता पर्दैन–अब उनीहरूले विद्यालय वा सोसल मिडियाबाट सार्वजनिक रूपमा उपलब्ध तस्बिरहरू प्रयोग गरेर नक्कली संस्करणहरू सिर्जना गर्न सक्छन् ।

२) एआईद्वारा संचालित अनलाइन ग्रूमिङ
ग्रुमिङ अथवा कसैको विश्वास जितेपछि दुव्र्यवहार गर्नु । यो आम जीवनमा व्यक्तिको नियत र प्रक्रियामा मात्र निर्भर हुने गर्दथ्यो । तर, पछिल्लो समय प्रविधि त्यसमाथि एआईको विकास भएसँगै सम्भावित पीडितहरुलाई अझ प्रभावकारी रुपमा पहिचान गर्न र लक्षित गर्न अत्याधुनिकस्तरको एल्गोरिदम (कोड) को प्रयोग गरिन्छ । एआईको सहयोगमा बालबालिकाहरुले अनलाइनमा गर्ने गतिविधिहरु, संवादका विवरण र ढाँचाहरु र व्यक्तिगत विवरणहरु विश्लेषण गर्न प्रयोग गरिन्छ । जसकारण बालबालिकाहरुसँग नजिक हुनको लागि अपराधिक मानसिकता भएका व्यक्तिहरुले प्रयाप्त जानकारी प्राप्त गर्नेछन् ।

अनलाइन ग्रुमिङको सूरुवात नै बालबालिकाहरुसँग सबैभन्दा पहिले विश्वास स्थापित गर्न र बालबालिकाहरुसँग सम्बन्ध निर्माण गर्नमा केन्द्रित हुन्छ । जसको अर्थ एआईद्वारा दिइएको बालबालिकाहरुको जानकारी अपराधिक मानसिकता भएका व्यक्तिहरुको लागि प्रयाप्त हुन्छ । एआईले यी अपराधिक व्यक्तिहरुलाई ठुलो मात्रामा बालबालिकाहरुको डाटा विश्लेषण गर्नको लागि सहयोग गर्छ । जसकारण अपराधिक मानसिकता भएका व्यक्तिहरुलाई सटिकताका साथ सम्भावित लक्ष्यहरु पहिचान गर्न सक्षम बनाउँछ । एआईले बनाएको यी एल्गोरिदम (कोड) हरुले बालबालिहरुको व्यवहार, रुचीहरु, भावनात्मक अवस्थाहरु पहिचान गर्न सहज बनाउँछ ।

एआईद्वारा सञ्चालित ग्रूमिङले अपराधिक मानसिकता भएका व्यक्तिहरुलाई सम्भावित पीडितहरू पहिचान गर्न सजिलो र प्रभावकारी मात्र बनाउँदैन । बालबालिका र उनीहरूबीचको अन्तरक्रियालाई अझ विश्वस्त तथा हेरफेर र अनुकूलित गर्न सक्षम बनाउँछ । पहिला एआईको सहयोगमा बालबालिकाहरुको सबै जानकारी व्यक्तिले पाउँछ । त्यसपछि एआईको सहयोगमा ती जानकारीहरुको प्रयोग गरि बालबालिकाहरुको विश्वास जित्छ । लक्ष्य भनेको विश्वास र सम्बन्धको गलत भावना स्थापित गर्नु हो, यसले अपराधिक मानसिकता भएका व्यक्तिहरुलाई समयसँगै बच्चाको शोषण गर्न सजिलो बनाउँछ ।

आमाबाबुले आफ्ना बच्चाहरूसँग खुल्ला संवादलाई प्राथमिकता दिएर यी जोखिमहरूलाई कम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छन् । उनीहरूको अनलाइन गतिविधिहरू, साथीहरू र अनुभवहरूको बारेमा छलफलहरूमा सक्रिय रूपमा संलग्न हुनाले अभिभावकहरूलाई सम्भावित जोखिमहरुमा अन्तरदृष्टि प्राप्त गर्न सहज बनाउँछ ।

३) डिपफेक र प्रतिरुपण
एआईद्वारा सञ्चालित डिपफेकले भिडियो र अडियोको सहयोगमा पूर्ण रुपमा नक्कली सामग्री निर्माण गर्छ । तर, बालबालिकाहरुको डिजिटल सुरक्षाको सन्दर्भमा भने नक्कली पहिचान सिर्जना गर्न, सम्भावित रूपमा पीडितलाई चिनेको अर्को बच्चाको नक्कल गर्न, परिणामस्वरुप जोखिम निम्त्याउन सहयोग गर्छ ।

डिपफेकले बालबालिकाले चिनेको कुनै व्यक्तिको नक्कली पहिचान बनाउन सक्छ र बालबालिकाहरुसँग आएर गफ गरेर विश्वास जितेर बालबालिकालाई दुव्र्यवहार गर्न सक्छ । जसलाई प्रतिरुपण भन्ने गरिन्छ । यसको मुख्य लक्ष्य भनेकै बालबालिकाहरुको चिनेको मान्छेको प्रतिरुप निर्माण गरी विश्वास जित्नु र बालबालिकाहरुलाई डिजिटल प्लेफर्ममा अस्पष्ट कुराहरु पठाउनु, यौन क्रियाकलापमा संलग्न गराउनु, छल र हेरफेरमा निर्मित सम्बन्ध स्थापना गर्न बाध्य पार्न पनि हुन सक्छ । एआई डिपफेकको प्रयोग गरी अनलाइन ग्रुमिङ गर्ने सम्भावना पनि प्रवल रहन्छ ।

प्रविधिको विकास हुँदै जाँदा, अपराधिक मानसिकता भएका व्यक्तिहरुले यी हानिकारक तरिकाहरूमा एआईको लाभ उठाउने सम्भाव्यताले अभिभावकहरूमा आफ्ना बच्चाहरूलाई डिजिटल सुरक्षाप्रति सतर्क र सक्रिय हुन जरुरी छ भन्ने कुरालाई जोड दिन्छ ।

आमाबाबुले के गर्न सक्छन् ? एआई जोखिमहरू लड्नका लागि सुझावहरू
आजको प्रविधिले भरिएको संसारमा, अभिभावकहरूले आफ्ना बच्चाहरूलाई डिजिटल सुरक्षाको सन्धर्वमा नयाँ चुनौतीहरूको सामना गरिरहेका छन् । यी अत्याधुनिक जोखिमहरूले हामीलाई स्मरण गराउँछ कि डिजिटल उपकरणको प्रयोग गर्दा यसको अन्तरनीहित फाइदाहरूका अतिरिक्त धेरै वास्तविक जोखिमहरू पनि आउँछन् ।

एआई हाम्रो जीवनमा यस्तो अंग बन्न जाँदैछ जसले संसारको ध्यान खिचिरहेको छ र यो भावी दिनमा अपरिहार्य पनि बन्दै जाने देखिएको छ । हाम्रा बच्चाहरू यस्तो संसारमा हुर्किरहेका छन् जहाँ प्रविधिलाई धोका दिन, ग्रुमिङ गर्न र जोखिममा पार्न प्रयोग गर्न थालिएको छ । हाम्रा बच्चाहरूलाई चाहिने प्राविधिक ज्ञानी अभिभावक बन्नको लागि सुसूचित रहनु र व्यवहारिक कदम चाल्नु भनेको राम्रो मात्र होइन, यो डिजिटल युगमा अत्यावश्यक छ ।

एआई जोखिमहरू लड्नका लागि सुझावहरू :
– खुला कुराकानीमा संलग्न हुनुहोस् : आफ्ना बालबालिकाहरूसँग उनीहरूको अनलाइन गतिविधिहरूको बारेमा इमानदार र खुला कुराकानीहरू सुरु गर्नुहोस् । बालबालिकाहरुलाई खुला कुराकानीमार्फत अनलाइनमा हुने अनुभव आदानप्रदान गर्न, चिन्ता व्यक्त गर्न र सम्भावित जोखिमहरुप्रति सचेत हुन प्रोत्साहित गर्नुहोस् ।  
– जिम्मेवार डिजिटल पहिचानबारे सचेत गराउनुहोस : आफ्नो बच्चाहरूलाई जिम्मेवार डिजिटल पहिचानको बारेमा शिक्षित गर्न समय लिनुहोस् । गोपनीयता, सम्मानजनक अनलाइन व्यवहार र अस्पष्ट सामग्री सेयर गर्दाको सम्भावित परिणामहरूको महत्वलाई जोड दिनुहोस् ।
– अनलाइन शंकावादलाई बढावा दिनुहोस् : अनलाइन अन्तरक्रियाको कुरा गर्दा आफ्ना बालबालिकाहरूमा शंकाको भावना जगाउनुहोस् । उनीहरूलाई सन्देशहरूको आधिकारितामा प्रश्न गर्न प्रोत्साहन गर्नुहोस्, भले तिनीहरू आफूले चिनेको व्यक्तिबाट आएका छन्, तर प्रमाणीकरण खोज्न अनिवार्य सिकाउनुहोस् ।
– सीमाहरु तय गर्नुहोस्  : व्यक्तिगत जानकारी र अस्पष्ट सामग्री अनलाइनमा सेयर गर्ने सम्बन्धमा स्पष्ट सीमाहरू तय गर्नुहोस् । सम्भावित रूपमा दुरुपयोग हुन सक्ने कुनै पनि कुरा पोस्ट वा साझेदारी गर्नुअघि आफ्ना बच्चाहरूलाई दुईपटक सोच्न प्रोत्साहन दिनुहोस् ।
– गोपनीयता सेटिङहरू प्रयोग गर्नुहोस्  : सामाजिक सञ्जाल प्लेटफर्महरूमा गोपनीयता सेटिङहरूसँग आफू र आफ्ना बच्चाहरूलाई परिचित गर्नुहोस् । उनीहरुलाई सिकाउनुस् कि तपाईले पोष्ट गरेका कुराहरु केही सीमित व्यक्तिहरुकाबीच पनि गोपनीयता सेटिङहरुको प्रयोग गरी पोष्ट गर्न सकिन्छ ।  
– अनलाइन गतिविधिहरू निगरानी गर्नुहोस् : सम्भावित हानिकारक सामग्रीहरूमा पहुँच निगरानी र प्रतिबन्ध गर्न प्यारेन्टल कन्ट्रोल सफ्टवेयर लागू गर्नुहोस् । नियमित रूपमा आफ्ना बच्चाहरूको अनलाइन गतिविधिहरू जाँच गर्नुहोस् र उननीहरूको डिजिटल अनुभवहरूको बारेमा निरन्तर कुराकानीमा संलग्न हुनुहोस् ।
– संदिग्ध गतिविधि रिपोर्ट गर्नुहोस् : कुनै पनि संदिग्ध वा असुविधाजनक अनलाइन घटनाहरू तुरुन्तै रिपोर्ट गर्ने महत्वको बारेमा आफ्ना बच्चाहरूलाई सचेत गराउनुहोस् । विश्वासको भावना स्थापित गर्नुहोस् ताकि उनीहरूले कुनै चिन्ता लिएर तपाईंकहाँ आउन सहज महसुस गरून् र उनीहरूलाई असहज महसुस गर्ने व्यक्तिहरूलाई ब्लक गर्न र रिपोर्ट गर्न तथा गोपनीयता सेटिङहरू प्रयोग गर्न प्रोत्साहित गर्नुहोस् ।

अभिभावकको रूपमा, हामी बाल यौन दुव्र्यवहार र अनलाइन शोषणमा एआईको प्रभावलाई बेवास्ता गर्न सक्दैनौं । हामीलाई सुसूचित रहन, हाम्रा बालबालिकाहरुसँग खुल्ला कुराकानी गर्न र उनीहरूको अनलाइन गतिविधिहरूको सक्रिय रूपमा निगरानी गर्न महत्वपूर्ण हुनेछ ।