
लायन्सलाई चिट्ठी–४
बुधवार , आश्विन १६, २०८१
१ सय वर्षअघि अमेरिकामा फेलोशिप (भाइचारा एवं मैत्रीभाव) गर्दै लायन्स उदय हुँदा नेपाली युवाको सामाजिक अवस्था कस्तो थियो । त्यसबारे थोरै भए पनि चर्चा गर्न खोजेको छु । हुन त लायन्सका तालिममा लायन्स स्थापना विषयमा चर्चा गरिन्छ । तर, पनि अनलाइन पत्रिका ‘खबरपात्रो डटकम’मार्फत यो लायन्सलाई चिट्ठी चौथो लेखे, कृपया स्वीकार्दिनुहोला । चिट्ठी अन्तसम्म पढेर तपाइको साथीलाई पनि साझा (शेयर) गरिदिनुहुन पनि अनुरोध छ ।
फेलोशिपका कार्यक्रम
आदरणीय लायन्स दिदीबहिनी दाजुभाईहरु ! लायन्स स्थापनाको चर्चा गर्दा १ सय वर्षअघि साथीभाइहरुबीच साप्ताहिक फेलोशिप रमाइलो मैत्रीभाव (फेलोशिप) बैठकमा भएको हो । समाजका दुःखीहरु समस्या समाधानका निम्ति संगठित भएका होइनन् ।आर्थिक सक्षम भएकाहरुबाट नै लायन्स उदाएको हो । त्यसैले भनिने गरिन्छ–‘लायन्स हुनेखानेको संस्था हो ।’ यो कथनीबाट ब्याकुल भइ हाल्नु भने पर्दैन ।
लायन्समा जोडिदा स्वभाविक फेलोशिप हुन्छ । डिष्ट्रिक क्याबिनेट बैठक तथा कन्भेन्सन (डिष्ट्रिक, मल्टिपल, अन्तर्राष्ट्रिय), इसामे, पिकनिक, चार्टर (स्थापना) उत्सव, पदग्रहण तथा पदस्थापन (सपथ ग्रहण), मेल्भिन जोन्स दिवस, स्कुलिंग, तालिम, जोन रिजन एरिया सभा, सम्मान समारोह, पर्व दिवस शुभकामना आदि कार्यक्रममा फेलोशिप हुन्छ । कहिलेकाही नहुन पनि सक्छ । फेलोशिपमा दिवा भोज, रात्री भोज, ककटेल रात्री भोज, मनोरञ्जन, मित्रता हुन्छ ।
लायन्समा फेलोशिप महत्वपूर्ण पक्ष मानिन्छ । यो नहुँदा उपस्थिति नभएको तीतो अनुभव आयोजकले गर्नुपर्छ । कार्यक्रमको अन्तमा फेलोशिपमा मात्र टुप्लुक्क पुग्ने चलन पनि छ । लायन्स मात्र होइन, अरु संघ–संस्थाको कार्यक्रममा पनि यस्तो हुन्छ । तर, सबैमा होइन । यी खर्चको व्यवस्थापन लायन्स सदस्यले स्वयं गर्नुपर्छ ।
फेलोशिप अघि लायन्समा जोदिदा डिष्ट्रिक र अन्तर्राष्ट्रिय शुल्क, नविकरण शुल्क, कार्यक्रमका शुल्क (रजिष्ट्रेसन) लिडरशिपमा आउने इच्छुकले योगदानका निम्ति गुठी (एनएलएफ), १ हजार डलरको एमजेएफ, अझै अर्को १ हजार डलर थपेर पीएमजेएफ, सहयोग दान गर्नका लागि शुल्क संकलन, समयसमयमा क्लबमा एकैप्रकारको भेषभुषा जस्ता कार्यहरुका लागि आर्थिक व्यवस्थापन अनिवार्य शर्त हुन् । सदस्यताबाहेक अन्य स्वेच्छिक हुन् ।
एक लायन्स युवा व्यवसायीसँग गफ्फिदा उनले बुझाए, ‘लायन्सले अरुसँग माग्ने होइन आफ्नो कमाइ खर्च गर्ने हो ।’त्यसैले लायन्स हुने खानेको नै हो । बचतको केही अंश दान सहयोग गर्ने हो । उनले स्पष्ट पारे,‘भाग्यमानीले कम भाग्यमानीलाई सहयोग गर्ने समुदाय हो लायन्स ।’
१ सय वर्षअघि नेपाली समाज यस्तो थियो
अमेरिकामा फेलोशिपको बीचबाट लायन्स उदाउँदा नेपाली समाजमा १ सय वर्षअघि होटल रेष्टुरेण्टमा बसेर साप्ताहिक फेलोशिप गर्ने अवस्था थिएन । सन् १९१७ को सेरोफेरोमा विश्व युद्धका कारण विश्व समाज नै संकटमा थियो । नेपालमा राणाकालीन सामन्तीकाल थियो । देशको सामाजिक व्यवस्था परिवर्तनका निम्ति गिनेचुने युवाहरु मात्र एकताबद्ध थिए । सन् १९१७ को सेरोफेरो लाखौं नेपाली युवाहरू अन्य देशको साम्राज्य बढाउन राइफल बोक्न विदेशिए ।
सन् १९०० सेरोफेरो नेपाली युवाहरु गोर्खा सैनिकका फौजमा भर्ना हुन्थे । त्यतिबेला करिब ५४ लाख जनसंख्या थिए । २ लाख युवाहरू बेलायती सैनिकमा थिए । सन् १९१८, अंग्रेजहरूको सहयोगार्थ २ हजार जवान अफगानीस्तान पठाइयो । लगभग ३० हजार नेपालीले अन्य देश देशका दुश्मनीका निम्ति ज्यान गुमाए । जसरी आज युक्रेन र रुसको लडाइमा ज्यान गुमाएका छन् । छिमेकी राज्यको निम्ति त्यहाँका आतंकवादी संगठनसंग लड्दा ज्यान गुमाएका छन् ।
सन् १९१७ (वि.सं. १९७५) सेरोफेरोमा नेपालमा कुनै सामाजिक संघ–संस्थाहरू रहेको आधिकारिक दस्तावेज पाइँदैन । एकातर्फ युवाहरू देशबाहिर अरूका निम्ति ज्यान दिदै थिए, अर्कोतर्फ देशभित्र राणाहरूको निरंकुशताका विरुद्धमा नेपाली समाज गोलबन्द हुँदै थिए । एकातिर विश्वको समाज टाई सुटमा साप्ताहिकी मनोरञ्जन गर्दै लायन्स प्रारम्भ गर्दैगर्दा आधा ज्यान ढाकेर नेपालमा स्वतन्त्र नागरिक हुन कोशिष गर्दै थिए ।
अमेरिकामा साप्ताहिकी मनोरञ्जन गर्दै लायन्स क्लब विस्तार गर्दा नेपाली समाजलाई मोजमस्तीका लागि देश बन्धक राख्ने राणाको चगुंलबाट समाजलाई मुक्त गराउने युवाहरूको अवस्था शहीद हुनुपर्ने थियो । अमेरिकामा अन्तर्राष्ट्रिय लायन्स स्थापना भएर बामे सर्दा नेपालमा बल्ल पढ्नका निम्ति कलेजको स्थापना हुँदै थियो । सन् १९१९ मा त्रिचन्द्र कलेज स्थापना भएको थियो । सन् १९०० अघिदेखि नै विश्वमा पुस्तक पठन संस्कृति मौलाउँदै नेपालमा मकैको खेती भन्ने एउटा पुस्तक प्रकाशन गरेका लेखक कृष्ण अधिकारीले थुनामै ज्यान गुमाए । जसलाई मकै पर्व भनेर बुझिन्छ ।
सन् १९३४ जनवरी १५ मा नेपालमा भूकम्प गयो । केही दिनपश्चात मार्च १ मा भूकम्प पीडितोद्वारक संस्था र फण्ड स्थापना गरियो । सन् २०१२ मा भूकम्प जाँदा नेपाली युवा समुदायको उल्लेखनीय भूमिका रह्यो । तत्कालीन लायन्सको सक्रियता र योगदान स्मरणीय रहेको छ । त्यस्तै अन्य संस्थाहरूको भूमिका उत्तिकै प्रशंसनीय छ ।
तर, १ सय वर्षअघि मात्र सन् १९१७ मा अन्तर्राष्ट्रिय समाजले भोगेको आर्थिक सम्पन्नता, सुविधायुक्त र संगठित हुने व्यवस्थाको नेपाली समाजले परिकल्पना पनि गर्ने अवस्था थिएन । तर, आज लायन्स वृत्तमा नेपाली समाज सम्पन्न देखिएको छ । वर्षेनी क्लबहरू खुलिरहेका छन् । अन्तर्राष्ट्रिय गुठीमा पनि उल्लेखनीय योगदान भएको छ । लाखौं रुपैया तिरेर एमजेएफको योगदान सामान्य लागेको छ । सेवाका कार्यका निम्ति प्रशस्त समय कार्यक्रममा लगानी भएको छ । लायन्सको एक पक्ष फेलोशिपमा कमी छैन । यो विषय नेपाली समाजलाई अध्ययन गर्ने अध्याय पनि हो भन्दा फरक नपर्ला ।
आशा गरौं, आउने पुस्ताका स्वाभिमानी विद्यार्थीहरूले यसको अध्ययन अवश्य गर्लान् । अहिलेको डिष्ट्रिक ३२५ पी मा अध्यनशील युवाहरु देखिएका छन् । तिनै अध्ययनशील बौद्धिक युवाहरुले खोजमूलक विवेचानात्मक सत्यपरक शिक्षण दिनु चुक्न हुँदैन । यति मात्र साझा गर्न चाहन्छु बगेको खोला फर्किदैन भने जस्तै खर्चिएको अमूल्य समय फर्किदैन । एकसय वर्ष अघिको अमेरिका र नेपाल, अहिलेको विश्व समुदाय र नेपाली समाज अनि अन्तर्राष्ट्रिय लायन्स र नेपाली लायन्सको अन्तरवस्तु बुझ्न आवश्यक छ ।
(लेखक लुम्बिनी प्रेस क्लब, रुपन्देहीका सदस्य पनि हुन् )
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij